एमालेमा फेरि ब्युँतियाे ‘एक व्यक्ति एक पद’को एजेन्डा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

एमालेमा फेरि ब्युँतियाे ‘एक व्यक्ति एक पद’को एजेन्डा

काठमाडौं । नेकपा एमालेको जारी विधान महाधिवेशनमा सहभागी अधिकांश प्रतिनिधिले पार्टीमा एक व्यक्ति एक पदको अवधारणा लागु गर्नुपर्ने सुझाव दिएका छन् । 
पार्टी नेतृत्ववाट पेस भएका राजनीतिक, सांगठनिक र विधान मस्यौदा प्रस्तावमा यस विषयमा स्पष्ट व्यवस्था नभएको भन्दै सहभागीले एक व्यक्ति एक पदको अवधारणामा जोड दिएका हुन् ।

विगतमा माधव नेपाल समूहले जोडदार रूपमा उठाउँदै आएको यो विषयलाई महाधिवेशन हलले समेत उठाएको छ । १० समूहमा भएको छलफलका अधिकांश समूहबाट एक व्यक्ति एक पदको विषय उठाइएको जनवर्गीय संगठनको तर्फबाट टोली नेता बनेकी अनेरास्ववियुकी अध्यक्ष सुनिता बरालले जानकारी दिइन् । 
उनका अनुसार राजकीय जिम्मेवारीबाहेकका पदमा एक व्यक्ति एक पद कायम गर्न सके कार्यकर्ता र नेता पंक्तिमा देखिने नैराश्य समाप्त हुन सुझाव दिइएको छ । 
शनिवार पाँच र आज (आइतबार) पाँच समूहले समूहगत छलफलपछि रिपोर्टिङ पेस गरिसकेका छन् । अब समूहले उठाएको प्रश्नमा अध्यक्ष केपी ओली, महासचिव ईश्वर पोखरेल र उपमहासचिव विष्णु पौडेलले जवाफ दिएपछि महाधिवेशन घोषणापत्र जारी गर्दै सम्मेलन सकिनेछ । 

समूहगत छलफलमा प्रतिनिधिहरूले संसद विघटनको विषयमा प्रश्न उठाए पनि समूहगत छलफलको निष्कर्ष सुनाउने बेलामा सबै टोलीनेता यस विषयमा मौन बसेका छन् । पोलिटव्युरो हटाउने, उपमहासचिवको पद नराख्ने जस्ता प्रस्तावित विधानको व्यवस्थामा समेत सहभागीहरूले असन्तुष्टि जनाएका छन् । 

वरिष्ठ नेता नराख्ने प्रस्तावमा खास वास्ता नगरेका प्रतिनिधिले उपाध्यक्षको संख्या घटाउन नहुने, तीनजना उपमहासचिव राख्नुपर्ने, सचिवको संख्या घटाउन सकिने, ७० वर्षे उमेरहदको व्यवस्थालाई थप व्याख्या गर्नुपर्ने, पार्टीको नीति र सिद्धान्तमा प्रष्ट व्याख्या गर्नुपर्नेजस्ता विषय उठाएका छन् । 

तत्कालीन नेकपा माओवादी केन्द्रबाट समाहित भएर आएका टोली नेताहरूले भने एमालेलाई तत्कालीन नेकपाको निरन्तरताको रूपमा व्याख्या गर्नुपर्ने प्रस्ताव अघि सारेका छन् । 

केन्द्रीय सदस्य प्रभु शाहको एउटा टोली यही विषयमा विमति राख्दै महाधिवेशनमा सहभागी नभइरहेको बेला महाधिवेशन हलले समेत यो विषयलाई चासोका साथ हेरेको सहभागीहरूले बताएका छन् । समूहगत छलफल सकिएलगत्तै अध्यक्ष ओली महाधिवेशनस्थल पुगेका छन् । यतिबेला खाना खाने र नाचगानको क्रम चलिरहेको छ । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);