रबिन्द्र घिमिरे,
बाँके । बाँकेको नेपालगन्ज उप महानगरपालिका–२२ को पुरैनी र वडा नं– २१ को पुरैनामा पर्ने कान्ती ताल केही वर्ष पहिलेसम्म फोहर फाल्ने ठाउँको रुपमा रहेको थियो । तालमा सुङ्गुर, बङ्गुर रमाउने गर्दथे । जसका कारण ताल फोहर थियो ।
२५ विगाहा क्षेत्रफलमा रहेको उक्त कान्ती ताल त्यतीवेला उपयोगमा खासै आउन सकेको थिएन । स्थानीय कुम्हाल समुदायले कान्ती तालको केही स्थानबाट माटाका भाडा बनाउनका लागी माटो प्रयोग गर्दै आईरहेका थिए । संरक्षणको अभावमा ताल मासिनेपो होकी भन्ने चिन्तामा स्थानिय पुगेका थिए ।
यसैबिच तत्तकालिन पुर्व प्रधानमन्त्री स्व. शुशिल कोईरालको पहलमा कान्तीताललाई संरक्षण र पर्यटकिय क्षेत्र बनाउनका लागि योजना अघि सारेपछि तालले विस्तारै मुहार फेर्न थाल्यो ।
अहिले ताल सुन्दर देखिन थालेको छ । त्यसमाथि नेपालगन्ज उप महानगरपालिकामा जनप्रतिनिधीहरु निर्वाचित भएर आईसकेपछी उक्त कान्ती ताललाई संरक्षण र पर्यटकिय क्षेत्र बनाउने योजना अघि बढेसँग तालको रौनकता नै फेरिन थालेको छ ।
२०७७ असोज २६ गते आदित्य निर्माण सेवासँग २०७७ पुस २७ गतेसम्म निर्माण कार्य सम्पन्न गरिसक्ने गरि ९ करोड ४८ लाखमा सम्झौता भएको थियो । तर कोरोना महामारीको कारण देखाउदै अहिलेसम्म काम सम्पन्न भने हुन सकेको छैन । यद्यपी निर्माण कार्य जारी छ । उप महानगरपालिकाले निर्माण सम्पन्न चाँडो गर्न ठेकेदारलाई दबाब दिईनै रहेको छ ।
अहिले ताल बिस्तारै राम्रो बन्दैगरेको छ । अब ताल हेर्न पर्यटकहरु आउन थालेको स्थानिय राजकुमार नेपाली बताउँछन् । ‘पहिले ताल फोहर भएकाले वरिपरि जान पनि घिन लाग्ने भैसकेको थियो । अहिले ताल विस्तारै सफा हुँदै गएको छ । मानिसमा चेतना पनि बढेको छ । ताल हेर्नका लागि आन्तरीक तथा वाह्य पर्यटक पनि आउन थालेका छन् ।’,उनी भन्छन् ।
पहिला तालमा माछापालन गरिएको थियो भने रेखदेख पनि हुने नगरेको स्थानिय शिव प्रसाद गुडिया बताउँछन् । ‘तालनै पुरिएर मैदान होला भन्ने पिर भैसकेको थियो । मन लाग्दी फोहोर हुनुका साथै खासै केहि प्रयोगमानै आउन सकेको थिएन । अहिले तालले मुहार फेरी सक्यो । अब निर्माण सम्पन्न भएपछि झन कस्तो कति राम्रो होला उत्साहित छु ।’ उनले भने ।
ताललाई पर्यटक को आकर्षण बनाउने गरि काम भैरहेको नेपालगञ्ज उप महानगरपालिका–२२ का अध्यक्ष बिध्याराम वर्मा बताउँछन् । ‘पर्यटककालाई लोभ्याउने किसिमले तालको कायम नमुना हुने गरि निर्माण भैरहेको छ । यसले वडाको आम्दानीमा पनि वृद्धि गर्छ भने पर्यटन क्षेत्रको रोजगारी श्रृजना गर्नेछ ।’ उनले भने ।
कान्ती ताल करीब करीब बनिसकेको र केही काम अझैपनि बाँकी रहेको नेपालगन्ज उप महानगरपालिकाका मेयर धवल शम्सेर राणाले बताउँछन् । ‘पर्यटकिय स्थलको वातावरण निर्माणको लागी र शहरिकरण व्यवस्थित गर्न तालले मद्दत गर्नेछ । ताल पुर्ण रुपमा व्यवस्थित हुन अझै केही समय लागेपनि प्राकृतिक रुपमा सुन्दर देखिने छ । सबैको मन तालले लोभ्याउने छ ।’ उनले भने ।
तालको निर्माण कार्य ८० प्रतिशत सम्मपन्न भईसकेको छ । निर्माण कार्य जारी छ ।