काठमाडौँ, १२ कार्तिक । लत्ताकपडा, जुत्ता, घढीलगायतका सामानमा बढी मूल्य लिई ठगी गर्ने दरबारमार्गका ब्यवसायीहरु सम्पर्कविहीन भएका छन् । महानगरीय प्रहरी परिसर टेकुले १३ व्यवसायीलाई कार्यालयमा उपस्थित हुन पत्र काटेको जानकारी पाएपछि उनीहरु सम्पर्कमा आएका छैनन्।
‘थप अनुसन्धान प्रक्रियाका लागि व्यवसायीलाई पत्र काटेका थियौं,’परिसरका डिएसपी बेलबहादुर पाण्डेले भने, ‘तर व्यवसायी फरार छन् ।’ उनका अनुसार ब्यवसायीहरु पसलमा कामदार राखेर सम्पर्कविहीन भएर बसेका छन्।
व्यवसायी फरार भएपछि कारबाही प्रक्रिया नै प्रभावित भएको छ। आपूर्ति ब्यवस्था तथा उपभोक्ता हित संरक्षण विभागको टोलीले भदौं १९ र २१ गते दरबारमार्गका पसलमा अनुगमन गर्दा अत्याधिक नाफा लिने गरेको फेला परेपछि ९ वटा पसलमा सिल गरिएको थियो।
यता दरबारमार्ग क्षेत्रका ब्यापारीको साझा संस्था दरबारमार्ग विकास बोर्ड अध्यक्ष गोपाल सुन्दरलाल कक्षपतीले व्यवसायीहरु फरार नभएको दावी गरे । उनले प्रहरीले भन्नेवित्तिकै भेट्नैपर्छ भन्ने जरुरी नभएको बताए। आजको कान्तिपुर दैनिकमा खबर छ।