काठमाडौं । सांसद पदमा पुनर्बहाली माग गर्दै पूर्व माओवादी केन्द्रका चार नेताले सर्वोच्च अदालतमा दायर गरेको रिटको आजको सुनुवाइ स्थगित भएको छ ।
बिहीबार न्यायाधीश दीपककुमार कार्कीको एकल इजलासमा परेको रिट हेर्न नभ्याएपछि शुक्रबार नयायाधीश डा.आनन्दमोहन भट्टराईको बेञ्चमा परेको थियो । तर निवेदकको कानून व्यवसायीले नै सुनुवाइ स्थगितको माग गरेपछि मुद्दाको सुनुवाइ स्थगित भएको हो ।
पूर्वमाओवादी नेताहरु लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह र गौरीशंकर चौधरीले सांसद पद पुनर्वहालीको माग गर्दै बुधबार सर्वोच्चमा रिट दायर गरेका थिए ।
आफूहरुले दल त्याग नगरेको र निर्वाचन आयोगले असार २३ गते दिएको विवरणमा आफूहरु माओवादी केन्द्र कै सदस्य रहेको भन्दै चारै नेताले बुधबार सर्वोच्च रिट दायर गरेका थिए । उनीहरुले रिटमा सभामुखले आफूहरुको सदस्यता खारेज गरेको निर्णय बदरभागी हुनुपर्ने जिकिर गरेका छन् ।
सर्वोच्च अदालतले गएको फागुन २३ गते एमाले र माओवादी केन्द्र ब्युँताउने फैसला गरेपछि उनीहरु माओवादी केन्द्र छोडेर एमालेतिर लागेका थिए । पार्टी छोडेर अन्य दलमा लागेको भन्दै माओवादी केन्द्रले उनीहरुलाई कारबाही गरी साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको थियो ।