एजेन्सी । म्यानचेस्टर सिटीले काराबाओ कप इएफएल फुटबलको उपाधि जितेको छ ।
आइतबार राति भएको फाइनलमा टोटेनहमलाई १–० गोल अन्तरले पराजित गर्दै सिटीले उपाधि जितेको हो । सिटीलाई जित दिलाउन एम्रिक लापोर्टेले खेलको ८२ औं मिनेटमा निर्णायक गोल गरे । केभिन डी ब्रुएनको पासलाई उनले सदुपयोग गरेका थिए ।
यससँगै सिटीले आठौं पटक तथा लगातार चौंथो सिजन उपाधि जितेको हो । सिटीले सर्वाधिक धेरै काराबाओ कप विजेता लिभरपुलसँग बराबरी समेत गरेको छ ।
सेमिफाइनलमा सिटीले म्यानचेस्टर युनाईटेडलाई २–० ले पराजित गरेर टोटेनहमसँगको भेट पक्का गरेको थियो । टोटेनहमले च्याम्पियनसिप क्लब ब्रेन्टफोर्डलाई २–० ले नै पराजित गरेको थियो ।