काठमाडौँ, २५ असोज । क्याटलोनियाका क्षेत्रीय राष्ट्रपति कार्लेस पुज्डमोन र अन्य क्षेत्रीय नेताहरुले गत साता भएको विवादास्पद जनमत संग्रहपछि स्पेनबाट स्वतन्त्र हुने घोषणामा हस्ताक्षर गरेका छन्। यद्यपी उनीहरुले मड्रिड सरकारसँग वार्ता गर्नका लागि उक्त कदम आउँदा केही साता लागू नहुने बताएका छन्।
उनीहरुको उक्त कदमलाई मड्रिडस्थित स्पेनको केन्द्रिय सरकारले तत्कालै खारेज गरेको थियो। मंगलबार क्याटलान नेता कार्लेस पुज्डमोनले बार्सिलोनास्थित क्याटलान संसदमा जनमत संग्रहको परिणामबाट आफ्नो क्षेत्रले स्वतन्त्र हुने अधिकार पाएको बताए।
क्याटलोनिया स्वतन्त्रतासम्बन्धी घोषणामा भनिएको छ, हामी सबै राष्ट्रहरु र अन्तर्राष्ट्रिय संगठनहरुलाई क्याटलोनियालाई एउटा स्वतन्त्र र सार्वभौम राष्ट्रका रुपमा हेर्न आह्वान गर्छौं। क्षेत्रीय संसदमा बोल्दै पुज्डमोनले जनताको चाहना मड्रिडबाट अलग्गिने रहेको तर उक्त विषयमा देखिएको तनाव मत्थर गर्न आफूले चाहेको बताए।
उनले संसदमा बोल्दै भने, हामी सबै एउटै समुदायका मानिस हौं र हामी अगाडि बढ्न आवश्यक छ। यसका लागि एउटा मात्रै बाटो भनेको प्रजातन्त्र र शान्तिको हो। स्पेनी सरकारले पुज्डमोनको स्वतन्त्रतासम्बन्धी भनाई अस्वीकार्य भएको बताएको छ। यसैबीच स्पेनी सरकारले पुज्डमोनको स्वतन्त्रतासम्बन्धी भनाई अस्वीकार्य भएको बताएको छ।
स्पेनी प्रधानमन्त्री मारिआनो राखोयले यो पछिल्लो कदमले ल्याएको संकटबारे सम्बोधन गर्नका लागि बुधबार विहान मन्त्रिपरिषदको विशेष बैठक डाकेका छन्। उपप्रधानमन्त्री सोराइए सायन्थ डे सान्टामारियाले मड्रिडको भनाई दोहोर्याउँदै गत साताको जनमत संग्रह गैरकानुनी भएको र पुज्डमोनले कानुन ननियाल्दासम्म वार्ताका सबै सम्भावनाहरु बन्द भएको बताइन्।
यसअघि क्याटलोनियाभर हजारौं मानिसहरुले पुज्डमोनको भाषण ठूलो स्क्रिनमा हेरेका थिए। धेरै क्याटलन पृथकतावादीहरुले समर्थन गरेर खुशीयाली मनाएका थिए भने केहीले चाहिँ असहमति जनाउँदै विरोध गरेको बीबीसीले जनाएको छ।