काठमाडौं, २५ असोज । विश्वकप छनोट प्रतियोगिताअन्तर्गत बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले ३-१ ले इक्वेडरलाई पराजित गरेको छ। अर्जेन्टिनाका खेलाडी लियोनल मेस्सीको चमत्कारिक ह्याट्रिकसँगै अर्जेन्टिना आगामी वर्ष रुसमा आयोजना हुने विश्व कपमा छनोट भएको हो।
दक्षिण अमेरिकी छनोट समूहमा छैटौं स्थानमा रहेको अर्जेन्टिना यसअघि प्लेअफका लागि पनि छनोट नहुने आशंका बढेको थियो। इक्वेइडरको घरेलु मैदानमा खेल भएका कारण पनि अर्जेन्टिनाको सम्भावनालाई लिएर धेरैले आशंका गरेका थिए। समुद्री सतहभन्दा २८ सय मिटरको उचाइस्थित क्युटो सहरमा खेल भएको थियो।
तर, मेसीले आफ्नो योग्यता फेरि प्रमाणित गर्ने क्रममा ह्याट्रिक गोल गर्दै अर्जेन्टिनालाई विश्वकपमा छनोट गराए। इक्वेइडरले खेल सुरु भएको पहिलो मिनेटमै गोल गरेको नतिजालाई उल्ट्याउँदै उनले १२, २० र ६२ मिनेटमा गोल गरे।
इक्वेडरका इबाराले गोल गरेका थिए। यो नतिजापछि अर्जेन्टिना २८ अंक बटुल्दै समूहमा तेस्रो भएर विश्व कपका लागि छनोट भएको हो। अर्जेन्टिनाभन्दा माथि रहेका ब्राजिलको ४१ र उरुग्वेको ३१ अंक छ।
ताजा समाचार
निर्वाचन हुँदैन कि भन्ने संशय हट्याे : अर्थमन्त्री
११ घन्टा अघि




