बाँके, २३ फागुन। नेपाली समाजमा विवाह तथा पुजाआजामा बजाउने गरिएको पञ्चेबाजा पछिल्लो समय कहीँ कतै मात्र देख्न सकिन्छ । पुरुषले मात्र बजाउँदै आईरहेको पञ्चेबाजामा नयाँ पुस्ताको आकर्षण पनि घट्दो देखिन्छ । आधुनिक संगीतमा रमाउन चाहने नयाँ पुस्ताकालागि पञ्चेबाजाको महत्व कम हुँदै गएको छ । पञ्चेबाजाको लोकप्रियता कम हुँदै गएपनि यसको महत्व भने समाजमा उच्च रहेको छ ।
मौलिक बाजालाई बचाउन पर्याप्त पहल नभएको अवस्थामा बाँकेको राप्ती सोनारी गाउँपालिकाका विद्यार्थी भने यसमा रमाउने गरेका छन् । राप्ती सोनारी गाउँपालिकाको जनशक्ति माध्यमिक विद्यालयमा विद्यार्थीहरुलाई पञ्चेबाजा बजाउन सिकाउन थालेको छ । विद्यार्थीहरु रमाई रमाई पञ्चेबाजा बजाउन सिकिरहेका छन् । यसले एकातिर विद्यार्थीहरु नयाँ सीप सिक्दै छन् भने अर्कोतिर पञ्चेबाजा संरक्षणमा पनि टेवा पु¥याइरहेका छन् ।
यता विद्यालयले भने पञ्चेबाजाको मौलिकतालाई जोगाईराख्न विद्यार्थीहरुलाई पञ्चेबाजा सिकाएको जनाएको छ । लामो समयदेखि चल्दै आएको मौलिक संस्कृति, बाजाहरु अहिले हराउँदै गएको छ । त्यसैले यसको संरक्षणका लागि विद्यार्थीहरुलाई मौलिक संस्कृतिबारे बुझाउँदै पञ्चेबाजा बजाउन सिकाईएको हो । विद्यार्थीहरुलाई पढाईको अलावा अन्य क्रियाकलापको रुपमा विद्यालयमा पञ्चेबाजा बजाउन सिकाउन थालिएको विद्यालय व्यवस्थापन समितिका सदस्य मोहन गौतमले बताए ।
गाउँमा पञ्चेबाजा बजाउने कोहीपनि नभएकाले विवाह, पुजाआजा हुँदा आधुनिक बाजाको प्रयोग गर्न बाध्य हुन थालेको स्थानीय बताउँछन् । संस्कृति संरक्षण हेतुले विद्यालयमा पन्जेबाजा बजाउन सिकाउने कार्यका लागि गाउँपालिकाले पनि बजेट लगायतका कुराहरुमा सहयोग गर्ने गाउँपालिका उपप्रमुख धनीकुमारी खत्रीको भनाई छ । साथै अब पञ्चेबाजालाई निरन्तरता दिन गाउँपालिकाका हरेक कार्यक्रममा पञ्चेबाजाको प्रयोग गरिने पनि गाउँपालिकाले जनाएको छ ।