काठमाडौं, २ फागुन । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले जिल्ला सभापतिको भेला बोलाउने निर्णय गरेको छ । सभापति शेरबहादुर देउवाले तोकिएको समयमा महाधिवेशन गर्न नसकेपछि आगामी कार्यदिशा तय गर्न महामन्त्री शशांक कोइरालाको निवासमा पौडेल समूहले भेला गरेको हो ।
फागुन ५ गते सबै जिल्ला सभापतिलाई काठमाडौंमा बोलाएर आगामी रणनीतिको विषयमा छलफल गर्ने निर्णय गरेको बैठकमा सहभागि नेताहरुले बताएका छन् । यस्तै भेलाले प्रतिनिधिसभा विघटनविरुद्धको आन्दोलनलाई सशक्त एवं प्रभावकारी कसरी बनाउने भन्ने विषयमा पनि छलफल गरेको छ ।
पोहोर साल हुनुपर्ने नेपाली कांग्रेसको महाधिवेशन कोरोना महामारीलाई देखाएर एक वर्ष पछि सार्दै फागुन ७ गतेलाई मिति तोकिएको थियो । तर, तालिकाकअनुसार काम हुन नसकेपछि अब सभापति शेरबहादुर देउवाको कार्यकाल थप ६ महिना लम्बिने पक्का भएको छ ।