धनगढी, १९ असोज । दसैँ तिहार तथा छठ पर्वलाई लक्षित गर्दै मङ्सिर ६ गतेसम्मका लागि धनगढीमा सुपथ मूल्य पसल सञ्चालनमा आएको छ । सुपथ मूल्य पसल सञ्चालनमा आएसँगै उपभोक्ता हर्षित भएका छन । सरकारले चाडबाडको अवसरमा आम उपभोक्तालाई राहत दिने उद्देश्यले सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ । उपत्यका मात्रै नभएर देशका प्रमुख सहरहरुमा समेत सुपथ मूल्य पसल सञ्चालनमा आएका छन ।
बजारमा महँगी बढ्दै जाँदा सुपथ मूल्य पसलबाट सस्तो मूल्यमा उपभोग्य बस्तु किन्न पाउँदा उपभोक्ता हर्षित भएका छन् । साल्ट ट्रेडिङ कर्पोरेसन, नेसनल ट्रेडिङ लिमिटेड, खाद्य संस्थान र दुग्ध विकास संस्थानले सहकार्य गरेर सुपथ पसल सञ्चालन गरिरहेका छन् । सुपथ मूल्य पसलबाट चिनी, नुन, चामल, साबुन र स्यानिटाइजर लगायतका सामग्री विक्रि वितरण भइरहेका छन् । पसलमा चिनी प्रतिकिलो रु ७० र नुन प्रतिकिलो रु १८ मूल्य निर्धारण गरिएको छ ।
बाहिरको दरभन्दा चिनी प्रतिकिलोमा रु १० र नुन प्रतिकिलोमा रु दुई छुट गरिएको छ । सुपथमुल्य पसलबाट उपभोक्ताले सामान किन्ने मात्रै नभएर बेच्नेपनि गरेको साल्ट ट्रेडिङ कर्पोरेशन कार्यालय धनगढीका नायब महाप्रवन्धक, केशव प्रसाद पाण्डेले बताउनुभयो । चाडपर्वको समयमा सुपथ मूल्य पसलमा माल समानको अभाव हुन नदिन उचित व्यवस्थापन गरिएको खाद्य संस्थान धनगढीका प्रमुख अनिल कुमार श्रेष्ठले बताउनुभयो ।
यो वर्ष सुदूरपश्चिमका अन्य जिल्लाहरुमा भने सुपथ मूल्य पसल सञ्चालनमा आएको छैन । विगतमा कैलालीको टीकापुर, कञ्चनपुरको बेलौरी, महेन्द्रनगर र पहाडी जिल्लामा बैतडी, डडेल्धुरा, दिपायल लगायतका स्थानमा सुपथ मूल्यका पसल सञ्चालनमा ल्याइएको थियो । यो वर्ष भने अनलाइन बिलिङ सिस्टम भएपछि अन्य स्थानमा पसल सञ्चालनमा आउन सकेको छैन ।