काठमाडौं, ५ असोज । संसदको महिला तथा सामाजिक समितिले बालबालिका सम्बन्धी ऐन कार्यान्वयनका लागि तत्काल नियमावली बनाउन सरकारलाई निर्देशन दिएको छ । समितिको सोमबार बसेको बैठकले उक्त निर्देशन दिएको हो ।
समितिकी सभापति निरुदेवी पालले बालबालिका सम्बन्धी ऐन र अन्य श्रम सम्बन्धी कानूनबीच भिन्नता देखिएको र ऐन कार्यान्वयनका लागि नियमावली नै नभएकाले तत्काल नियमावली बनाई कार्यान्वयनमा ल्याउन महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयलाई निर्देशन दिइएको बताउनुभयो ।
समितिले कोरोना महामारी वा प्राकृतिक प्रकोपबाट संकटमा परेका बालबालिकाहरु शारिरिक, मानसिक, समाजिक, शैक्षिक र प्राविधिक रुपमा प्रभावित भएकाले त्यसको विस्तृत मूल्याङ्कन गरी भावि रणनीति बनाउन समेत निर्देशन दिएको छ ।