काठमाडौं, ८ साउन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर बन्दाबन्दी खुलेपछिको चुनौती सामना गर्न नयाँ र विशेष रणनीति बनाउन आग्रह गर्नु भएको छ।
१२० दिन लामो बन्दाबन्दी खुलेपनि कोरोना संक्रमणको जोखिम कायमै रहँदा सभापति देउवाले बिहीबार प्रधानमन्त्री ओलीसँग भेट गरेर कोरोना चुनौती सामना गर्न नयाँ र विशेष रणनीति आवश्यक रहेको भन्दै बनाउन आग्रह गर्नु भएको हो।
उहाँले कोरोनाको परीक्षण पीसीआर विधिबाट मात्रै गराउन र मापदण्डयुक्त क्वारेन्टिनहरू निर्माण गर्न पनि आग्रह गर्नु भएको छ।
यससँगै, विदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई उद्दार गर्ने कार्यलाई तीब्रता दिन, बाढी र पहिरो पीडितहरूको उद्दार, राहतसँगै पुनर्स्थापनाका लागि युद्धस्तरमा काम गर्न, कोरोनासँग सम्बन्धित विभिन्न क्षेत्रका असन्तुष्टि र आन्दोलनहरूले अघि सारेका जायज मागलाई गम्भीरतापूर्वक लिएर सम्बोधन गर्न पनि देउवाले ध्यानाकर्षण गराउनु भएको छ।
कोरोना महामारीको कारण देश थिलथिलो भएको अवस्थामा प्राकृतिक विपत्तीहरू बाढी, पहिरो र डुबानले ठूलो जनधनको क्षति गरेको छ।