काठमाडाैं, ४ साउन । प्रतिनिधि सभाको विकास तथा प्रविधि समितिले देशभरका रणनीतिक सडकअन्तर्गत रुग्ण पुलहरूको कार्य योजना तयार गरी निर्माण सुरु गर्न सरकारलाई निर्देशन दिएको छ ।
विभिन्न निर्माणाधिन पुलहरूको सन्दर्भमा छलफल गर्न आइतबार बसेको विकास तथा प्रविधि समितिको बैठकले देशभर रहेका पुराना एवं रुग्ण पुलहरूको अवस्थाको विवरण तयार गरी कार्ययोजनासहित निर्माण प्रक्रिया सुरु गर्न भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको हो ।
समिति सभापति कल्याणीकुमारी खड्काले देशभरका रणनीतिक सडकअन्तर्गत रहेका पुराना एवं रुग्ण पुलहरूको अवस्था सम्बन्धी विवरण तयार गरी गुणस्तरीय रुपमा निर्माण सम्पन्न गर्न निर्देशन दिइएको बताउनुभयो ।
समितिले काठमाडौंको टेकुस्थित विष्णुमती पुलको प्राविधिक पक्ष र गुणस्तरमा कमी भएको अवस्थामा सम्बन्धित पक्षलाई कारबाही भएको सम्बन्धी विवरण उपलब्ध गराउन मन्त्रालयलाई निर्देशन दिएको छ ।
समितिले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा प्राविधिक जनशक्ति अभावका कारण विकास र पूर्वाधारका कामहरूमा असर परेको भन्दै पदपूर्तिको व्यवस्था मिलाउन अर्थ मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिएको छ ।




