सम्पादकीय
काठमाडौं, २२ असार । नेपालको राजनीतिमा सधैंभरी विदेशीहरुलाई महत्वपूर्ण भूमिकामा देख्नुपर्दाको पीडा वास्तवमै उदेकलाग्दो छ । इतिहासको कालखण्डदेखि एकोहोरो रुपमा पछि लाग्दै आएका दक्षिणी छिमेकीको भूमिकासँगै अब उत्तरतर्फको भूमिका पनि चुनौतीपूर्ण बन्दै गएको छ । विदेशी उत्तरतर्फको भए पनि दक्षिणतर्फको भएपनि आखिर विदेशी विदेशी नै हुन् । उनिहरुले बोल्ने भनेको, आआफ्नो देशको स्वार्थ नै हो ।
आआफ्नो स्वार्थ अनुसार दुई छिमेकीलाई नजिक र टाढा देख्ने नेपाली आँखा रहेसम्म उनीहरुको भूमिका पनि यस्तै रहन्छ नै । गम्भीर भएर सोचौं, राष्ट्रियताको कुरा गरेर कहिल्यै नथाक्ने हाम्रा नेतृत्वहरु, निर्णय प्रकृयामा आपू अनिर्णयको बन्दी हुँदै निर्णयको निमित्त विदेशीलाई किन आव्हान गर्छन ? किन गुहार्छन ? के साँच्चै यो नेतृत्वमा निर्णय गर्ने क्षमता नभएकै हो ? विदेशीले नै निर्णय गरि दिने भए, आन्तरिक रुपमा जनताले मिहिनेत गरेर स्थापित गरिदिएको नेतृत्वको के काम ?
नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीको नेपाली नेताहरुसँगको भेटघाटले फेरी अर्काे प्रकारको राजनीतिक तरंग सृजना गरिदिएको छ । यतिखेर दुबै छिमेकी देश युद्धको परिवेशमा रहेका छन् । दुबैले दुबैलाई हेर्ने दृष्टिकोण अत्यन्त नकारात्मक छ । यस्तो अवस्थामा यी दुबै देशका कुटनीतिज्ञहरुले दिने उपदेश वास्तवमै उनीहरुले ति ति देशलाई हेर्ने दृष्टिकोण अनुसार हुने भएको हुनाले, यो नेपालको लागि अत्यन्त खतरापूर्ण हुनसक्छ । उनीहरुको तिक्तताको शिकार नेपाल हुनसक्छ ।
सांढेको जुधाइको बीचमा नेपाल पर्नु कदापी हुँदैन । हाम्रो अर्थतन्त्र यी दुई देशहरुको सम्बन्धसँग अत्यन्त प्रभावित हुन सक्ने भएकोले पनि नेपालले, सावधान रहनु जरुरत छ । एउटाको कारणले अर्काेलाई चिढाउनु नेपालको लागि हानीकारक छ । कुटनीतिमा सामान्य त्रुटीलाई पनि ठूला भूलको रुपमा हेर्ने गरिन्छ । त्यसैले आन्तरिक राजनीति आन्तरिक रुपमा नै सुल्टिनु पर्छ । अर्थतन्त्रलाई आत्मनिर्भरताको बाटोमा उन्मुख गराउन आफ्नो निर्णय क्षमतामा विकास गर्नु जरुरत छ । आफ्नो निर्णयमा मात्र राजनीति संग्लिन्छ, स्थायी बन्छ, स्थायी राजनीतिले मात्र देश विकास हुनसक्छ ।
यही प्रकारले चीन र भारतको प्रभाव नेपालमा बढेर गयो भने, भोलि नेपाली नेताहरुले निर्णय गर्नै नसक्ने अवस्थामा पनि आउन सक्छ । अहिले नेकपा भित्रका चार शीर्ष नेताहरु चार तिर फर्किएका छन् । एकले अर्काेलाई निषेध गर्ने ढंगले, जसरी पनि सत्तामा पुग्ने गरी राजनीतिमा मरिमेटेका छन् । कथंकदाचित, निर्णय तहका चार जना नेता मध्ये दुई दुई जना नेतालाई छिमेकीले प्रभावमा पारे भने के होला ?
यसतर्फ नेकपा सिंगो पार्टी र त्यसका नेताहरु सावधान हुने कि नहुने ? बेलैमा सावधान हुन जरुरी छ कि छैन ? अहिले नेकपा विवादका बीच पटक पछक छलफल भएर पनि निर्णयमा पुग्न नसक्नुमा कतै यही विदेशी भूमिका महत्वपूर्ण भएको त होइन ? यदि होइन, भने शीर्ष नेताहरु पछिल्लो समय किन एक ठाउँमा बसेर छलफल गरी सामूहिक निर्णय गर्न सकिरहेका छैनन ? किन एक नेताले अर्काे नेताको मुख हेर्न खोजिरहेका छैनन ? नेताहरुबीच एक आपसमा अविश्वासको वातावरण बढिरहेको छ ।
त्यति मात्र होइन, यदि सरकारले र पार्टीहरुले देश भित्र निर्णय गर्न सकेन र विदेशीको प्रभाव रही रहने हो भने नेपाल असफल राष्ट पनि हुन सक्छ । त्यसैले विदेशीको प्रभावलाई बेलैमा रोकौं । विदेशीहरुसँग हारगुहार र भरपर्ने, नेपालको इतिहास छैन । राजनीतिक दल र नेतृत्व अहिले बढी गम्भीर हुने बेला आएको छ ।