काठमाडौं, ५ असोज । चीनले नेपालसँगको प्रमुख व्यापारिक तातोपानी–खासा नाका सधैँका लागि बन्द गर्ने तयारी गरेको छ । उसले यसबारे नेपालसमक्ष औपचारिक प्रस्तावसमेत राखेको छ । नेपालले प्रयोग गर्दै आएको खासा–ओलाङचुङगोला सडक नाका बन्द गर्ने चिनियाँ प्रस्तावपछि बुधबार थप सडक नाका खुलाउनेबारे दुई देशबीच हुन लागेको प्रोटोकल सम्झौता रद्द भएको छ।
चिनियाँ उच्चस्तरीय वार्ताटोलीले सुरक्षाको कारण देखाउँदै खासा–ओलाङचुङगोला सडक नाका बन्द गर्ने अडान राखेको नेपाली वार्ताटोलीका एक सदस्यले बताए । यसअघि नेपालले खासा–ओलाङचुङगोला (ताप्लेजुङ), खासा–रसुवागढी (रसुवा) र खासा–यारी (हुम्ला) नाका प्रयोग गर्दै आएको थियो । यारी र रसुवागढी दुवै नाका खासाभन्दा पश्चिममा पर्छन्।
अहिले रसुवागढी नाका पूर्ण रूपमा सञ्चालनमा आइसकेको सन्दर्भमा यी दुई नाकामा पुग्नका लागि खासा (तातोपानी) नाका प्रयोग गर्नै पर्दैन । त्यसो हुँदा तातोपानी नाकाबाट पूर्वको ओलाङचुङगोलाका लागि खासा नाका प्रयोग गर्न नमान्नुको अर्थ तातोपानी–खासा नाका सदाका लागि बन्द गर्ने चाहना राख्नु हो ।
चिनियाँ पक्षले यस्तो अडान राख्नुको अर्थ भूकम्पपछि बन्द रहेको खासा नाका चीन सधैँका लागि बन्द गर्न चाहन्छ भन्ने अर्थ राख्ने वार्तामा सहभागी नेपाली पक्षले बताएको छ ।
उच्चस्तरीय (राष्ट्रपति–प्रधानमन्त्री) तहको भेटमा खासा नाका खोल्न चीन सकारात्मक रहेको जानकारी दिने गरिएको भए पनि सम्झौता गर्ने कर्मचारी तहमा आउँदा सहयोग नपाइएको नेपाली उच्चस्तरीय वार्ताटोलीको भनाइ छ । नेपाल–चीन सडक यातायात सम्झौताअन्तर्गत अहिलेसम्म चीन हुँदै तीन नाका खुला गर्नेबारेको प्रोटोकल सम्झौता भएको छ । त्यसमध्येको एउटा सडक नाका खासा–ओलाङचुङगोला हो। आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।