समाचार | Page 296 of 5953 | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८३, आइतबार

समाचार

सोच परिवर्तन नभएसम्म समृद्ध नेपाल सम्भव छैन, उपाध्यक्ष शाक्य

२०८१,११,२५

नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले सोच परिवर्तन नभएसम्म समृद्ध नेपाल निर्माण गर्न नसकिने बताएकी छन्। आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा नेकपा एमाले अनेमसंघ केन्द्रीय कमिटीले ११५औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर आयोजना गरेको जलवायु परिवर्तन, महिला अवसर र सम्भावना विषयक गोष्ठीलाई सम्बोधन गर्दै यस्तो बताएकी हुन्।

उनले अहिले पनि सामन्ती अवशेषहरु अझै बाँकी रहेको भन्दै यसलाई अन्त्य गर्न जरुरी रहेको बताइन्। उनले सामन्ती अवशेष अन्त्य गर्न वैचारिक संघर्ष जरुरी रहेको बताइन्। अहिले जलवायु परिवर्तनको समस्या जटिल बनिरहेको बताइन्। जलवायु परिवर्तनको विषय सबै राजनीतिक दलहरुले प्राथमिकतामा राख्नुपर्ने बताएकी छन। उपाध्यक्ष शाक्यले आफूहरु संविधानमार्फत, सुशासन, समृद्ध नेपाल बनाउन लागिरहेको बताइन्।
आफूहरुको एजेण्डा नै आर्थिक, सामाजिक, सांस्कृतिक एजेण्डा भएको दाबी गरिन्।

 

महिला सहभागिताका प्रतिबद्धता नारामै सीमित, कमला पन्त

२०८१,११,२५

राष्ट्रियसभामा नेपाली कांग्रेसकी सांसद कमला पन्तले राज्यको विभिन्न निकायमा महिलाको संख्यात्मक सहभागिता उल्लेख वृद्धि भएको बताएकी छन्। आइतवार राष्ट्रियसभाको विशेष समयमा उनले यस्तो बताएकी हुन्। उनले स्थानीय तह सरकारमा महिलाको सहभागिता सबैभन्दा बढी ४१ प्रतिशत पुगेको बताएका छन । सहभागिताको हिसाबले महिलाको संख्या वृद्धि भएको देखाए पनि अर्थपूर्ण सहभागितामा धेरै कमजोरी रहेको उनको भनाई छ । महिला तथा बालबालिकाको क्षेत्रमा राज्यले गरेको कतिपय प्रतिबद्धता नारामा मात्र सीमित भएको उनले बताइन । उनले राज्यका निकायहरुमा महिलाको उपस्थिति अर्थपूर्ण बनाउनका लागि थप उदार नीति अवलम्बन गर्नुपर्नेमा जोड दिएकी छन।

राष्ट्रियसभा सदस्य पन्तले महिला भएकै कारणले महिलाले असमानता बेहोर्नुपरेको बताएका हुुन । छोरी र छोराको बीचमा विभेदको अन्त्य गराउन बलियो कानून आवश्यक भएको उनको भनाइ छ।

सुनको भाउ १ सय रुपैयाँले बढ्यो

२०८१,११,२५

आज सुनको भाउ १ सय रुपैयाँले बढेको छ । सुनको भाउ एक सय रुपैयाँले बढेर तोलाको १ लाख ७० हजार ३ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी महासङ्घले जनाएको छ । गएको शुक्रवार सुनको भाउ तोलाको १ लाख ७० हजार २ सय रुपैयाँ रहेको छ ।यस्तै आज चाँदीको भाउ भने सामान्य घटेको छ ।
चाँदीको भाउ ५ रुपैयाँले घटेर तोलाको १ हजार ९ सय ८५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

राजावादीका कारण मुलुकमा खतरा र राजनीतिक अस्थिरता, सांसद राई

२०८१,११,२५

नेकपा एकीकृत समाजवादीकी सांसद जयन्तीदेवी राईले राजावादी पक्षहरू कुर्लिरहेका कारण मुलुकमा खतरा र राजनीतिक अस्थिरता पैदा भएको टिप्पणी गरेकी छन्।​ राष्ट्रियसभाको आइतवारको बैठकमा बोल्दै सांसद राईले यस्तो बताएकी हुन्। उनले प्रतिगामी तत्त्वहरू संविधान उल्लङ्घन गर्दै लोकतन्त्रमाथि धावा बोलिरहेको बताइन्। उनले मुलुकभर अनावश्यक नारा गुन्जिरहेको उल्लेख गर्दै सबैले यसको प्रतिवाद गर्दै संविधान कार्यान्वयनमा अघि बढ्न जरुरी रहेको बताउकी हुुन ।

उनले नेपाली जनताको बलिदानीबाट प्राप्त व्यवस्था जोगाउन सबै एकजुट हुने समय आएको उल्लेख गरेकी छन ।

आजदेखि कांग्रेसले ‘मिसन रोजगारी’ अभियान शुरू गर्दै

फागुन २५ आइतबार ।
नेपाली कांग्रेसले आजदेखि ‘मिसन रोजगारी अभियान सुरु गर्ने भएको छ ।एक वर्षसम्म सञ्चालन हुने अभियानको आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा औपचारिक शुरू हुने कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।

दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले ‘राजनीतिक विमर्शको केन्द्रमा रोजगार(सरकारको प्राथमिकतामा रोजगार’ भन्ने लक्ष्यका साथ ‘मिसन रोजगारी’ अभियान सञ्चालन सुरु गर्न लागेका हुन् । राजनीतिक विमर्शको केन्द्रमा रोजगार, सरकारको प्राथमिकतामा रोजगार’ भन्ने लक्ष्यका साथ सञ्चालन हुने अभियानअन्तर्गत आज ‘अब रोजगारका कुरा गरौं’ विषयमा गोलमेच छलफल हुनेछ ।

युक्रेनसँग भन्दा रुससँग शान्ति सम्झौता गर्न सजिलो भएको ट्रम्पको भनाइ

फागुन २५ आइतबार ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनसँग भन्दा रुससँग शान्ति सम्झौता गर्न सजिलो भएको बताएका छन्। शुक्रबार ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले रुसी राष्ट्रपति पुटिनमाथि विश्वास भएको उल्लेख गरेका छन्।उनले पुटिन युद्ध अन्त्य गर्न चाहने कुरामा आफूहरु विश्वस्त रहेको जनाए।ट्रम्पले युक्रेनसँग व्यवहार गर्न गाह्रो हुँदै गइरहेको बताए।

युक्रेनसँग धेरै विकल्पहरू नभएको बताउँदै उनले भने,युद्ध सकेसम्म चाँडो अन्त्य होस् भन्ने उद्देश्यले हामीले युक्रेनमाथि थप दबाब दिइरहेका छौं। अमेरिकी राष्ट्रपतिको पदभार ग्रहण गरेदेखि डोनाल्ड ट्रम्पले रुस/युक्रेन युद्ध रोक्न काम गर्ने कुरा निरन्तर बताउँदै आएका छन्।

यस महिनाको सुरुमा युक्रेनी राष्ट्रपति जेलेन्स्की र अमेरिकी राष्ट्रपति ट्रम्पको ह्वाइटहाउसमा भेटवार्ता भएको थियो।
ओभल अफिसमा भएको उक्त भेटमा जेलेन्स्की र ट्रम्पबीच विवाद सिर्जना भएको थियो। मिडियाकै अगाडि दुई जनाबीच चर्को बहस भएर वार्ता सफल हुन सकेको थिएन।

सम्झौताको समयभन्दाअघि नै इटहरी बसपार्क निर्माण

फागुन २५ आइतबार ।
देशमा धेरै योजना समयमा काम नसकेर अलपत्र परिरहँदा सुनसरीको इटहरी उपमहानगरपालिकामा भने सम्झौताको समयभन्दा छ महिनाअघि नै निर्माण कार्य सम्पन्न भएको छ । वडा नं ९ स्थित बसपार्क क्षेत्रमा निर्माणाधीन तीन तले टर्मिनल भवनसहित सबै संरचना निर्माण कार्य सम्पन्न भएको उपमहानगरपालिकाले जानकारी दिएको छ ।

उपमहानगरपालिकाको अनुसार २०८० पुस १७ गते निर्माण सुरु गरी २०८२ असार १७ मा सम्पन्न गर्न निर्माण कम्पनीसँग सम्झौता भएको थियो । निर्माणको जिम्मा पाएको श्री अर्थ–हाम्रो–श्रीमान् कम्पनीले तोकिएको समयभन्दाअघि नै निर्माण सम्पन्न गरी भवनसहितका संरचना हस्तान्तरणका लागि समय माग गरेको छ ।सम्पूर्ण निर्माण कार्य सम्पन्न गरी उपमहानगरलाई पत्राचार गरिसकेको निर्माण कम्पनीका ठेकेदार अङ्कुर गौतमले बताए ।

केही दिनमै उपमहानगरलाई भवन हस्तान्तरण गर्ने योजना रहेको गौतमले जनकारी दिए । एक बिघा क्षेत्रफलमा फैलिएको बसपार्कमा सुविधा सम्पन्न तीनतले टर्मिनल भवन बनेको छ । भवनको भुइँ तलामा एक सय यात्रु बस्न मिल्ने प्रतिक्षालय, टिकट काउन्टर, मिनीमार्ट, सार्वजनिक शौचालय र कन्ट्रोल रुम निर्माण गरिएको उपमहानगरका इञ्जिनियर भविन्द्र चौधरीले जानकारी दिए ।भवनको पहिलो तलामा व्यावसायिक प्रयोजन गर्न सकिने सात कोठा छन् भने दोस्रो तलामा क्याफेसहितको रेस्टुरेन्ट रहेको इञ्जिनियर चौधरीले जानकारी दिए ।

बसपार्क रु नौ करोड ४८ लाख ८३ हजार पाँच सय ५६ मा निर्माण गरिएको उपमहानगरपालिकाले जनाएको छ । सो योजना नगर विकास कोषको ७० प्रतिशत र उपमहानगरको ३० प्रतिशत लागत साझेदारीमा निर्माण गरिएको हो । दुई दशकअघि निर्माण भएको बसपार्क बढ्दो सवारीसाधनको चापसँगै अव्यवस्थित बनको थियो । बसपार्कलाई व्यवस्थित र व्यावसायिक रूपमा प्रयोग गर्ने उपमहानगरको योजना रहेको छ ।

उच्च शिक्षाका लागि ओमान पुगेका अफगानी महिला अमेरिकी सहयोग रोकिएपछि समस्यामा

फागुन २५ आइतबार ।
तालिबानबाट भागेर उच्च शिक्षाका लागि ओमान पुगेका ८० जनाभन्दा धेरै अफगानी महिला समस्यामा परेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विदेशी सहायता रोकेपछि आफूहरू स्वदेश फर्कनुपर्ने अवस्था आएको उनीहरूको गुनासो छ ।तालिबानको प्रतिबन्धका बीच शिक्षाकै लागि भागेका उनीहरू स्वदेश फर्किएमा सुरक्षित नहुने र पढाइसमेत रोकिने चिन्तामा छन् ।

उनीहरूले अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग यूएसएआईडीको छात्रवृत्तिमा अध्ययन गरिरहेका थिए । तर सहयोग रोकिएपछि आफूहरूलाई दुई हप्ताभित्र फिर्ता पठाउने जानकारी आएको एक विद्यार्थीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।उनीहरूले आफूहरूको सुरक्षा र शिक्षाको निरन्तरताका लागि तत्काल व्यवस्थासहित सुरक्षा दिनसक्ने देशमा पुनर्वासको माग गरेका छन् ।

झन्डै चार वर्षअघि पुनः सत्तामा फर्किएपछि तालिबानले अफगानिस्तानमा महिलाहरूमाथि कठोर प्रतिबन्ध लगाएको छ जसमा उनीहरूलाई विश्वविद्यालयबाट प्रतिबन्ध लगाउनु पनि समावेश छ ।ट्रम्प प्रशासनको सहायता रोक्काले कानूनी अवरोधहरूको सामना गर्नुपरेको छ तर ह्वाइट हाउसले यूएसएआईडीलाई खारेज गर्दै दशौं अर्ब डलरको खर्च कटौती गरेपछि विश्वभर हजारौं मानवीय कार्यक्रमहरू पहिले नै समाप्त भइसकेका छन् ।

 

पूर्वराजाको स्वागतसँगै राजावादी समूहले काठमाडौंमा शक्ति प्रदर्शन गर्दै ,विमानस्थल प्रवेशमा कडाइ

फागुन २५ आइतबार ।
करिब एक महिना पोखरामा बिताएर पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं फर्किन लागेका लागेका हुन । शाहको स्वागतसहित शक्ति प्रदर्शनको तयारी गरिएको छ । राप्रपा, राप्रपा नेपाल, दुर्गा प्रसाईं समूह, राजावादीका विभिन्न समूहलगायतले छुट्टाछुट्टै शक्ति प्रदर्शन गर्न लागिएको जनाइएको छ ।

पूर्वराजा शाह दिउँसो काठमाडौं ओर्लिनासाथ विमानस्थल, गौशाला, चाबहिल, महाराजगन्जचोक हुँदै निर्मल निवास पुर्‍याउने तयारी गरिएको राजावादी समूहले जनाएका छन् ।यसैबीच काठमाडौंमा सुरक्षाअवस्था कडा गरिएको छ । राजावादी समूहले शक्ति प्रदर्शन गर्ने क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ ।

आज दिउँसो तीनकुनेदेखि गौशालासम्मको सवारी आवागमन अस्तव्यस्त रहने ट्राफिक महाशाखाले जनाएको छ ।
महाशाखाले दिउँसो १२ बजेपछि उक्त रुटमा सवारी सवारी साधन प्रवेशमा रोक लगाउने सम्भावना रहेको बताएको छ ।

तीनकुनेबाट गौशाला जानुपर्ने सवारी साधनलाई नयाँ बानेश्वर तर्फ डाइभर्ट गरिने सम्भावना छ । चावहिल(जोरपाटी जाने सवारी साधनलाई पेप्सीकोला, काडाघारी हुँदै डाइभर्ट गर्ने सकिने जनाइएको छ ।

शिक्षा ऐन जारी नगरेको भन्दै फेरि आन्दोलनमा शिक्षक महासंघ

फागुन २४ शनिबार ।
देशभरका शिक्षकहरुले फेरि काठमाडौं केन्द्रित सडक आन्दोलन सुरु गरेका छन् ।झन्डै १७ महिनाअघि सरकारसँग भएको सहमति कार्यान्वयनका लागि दबाब दिन शिक्षकहरू फेरि आन्दोलनमा उत्रिएका हुन ।

देशभरबाट भेला भएका शिक्षक शिक्षिकाहरुले काठमाडौ‌को माइतीघरदेखि नयाँबानेश्वरसम्म बृहत आन्दोलन गरेका हुन् । नेपाल शिक्षक महासंघको नेतृत्वमा विगतका सहमति कार्यान्वयन गर्दै विद्यालय शिक्षा ऐन छिटो जारी गर्न माग राख्दै दबाब दिन शिक्षकहरुले बृहत आन्दोलन सुरु गरिएको महासंघले जनाएको छ ।

महासंघले चरणबद्ध आन्दोलनको घोषणा गरेको छ ।

 

राजाले चुनाव लड्ने होइन : राजेन्द्र लिङदेन

फागुन २४ शनिबार ।
राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले राजा भोटको राजनीतिभन्दा माथि रहने संस्था भएको बताएका छन् । शनिबार वीरगन्जको लालबगलामा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।प्रजातन्त्र दिवसका अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीतिक दलहरूले देश बर्बाद बनाएको र अब मुलुकमा राजसंस्था आवश्यक भएको सन्देश दिएको उनले जिकिर गरे ।

उक्त सन्देशपछि प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत नेताहरूले पूर्वराजा शाहलाई पार्टी खोलेर निर्वाचनबाट विजयी भएर आउन चुनौती दिँदै आएका छन् । सोही अभिव्यक्तिप्रति लक्षित गर्दै अध्यक्ष लिङदेनले राजा भोटको राजनीतिभन्दा धेरैमाथिको संस्था भएको बताएका हुन् ।

बर्तमानका नेतासँग आफूहरू नै चुनाव लड्न पर्याप्त रहेको उनले उल्लेख गरे । आफूहरूले राजनीतिक दलको नभई देशको राजा स्थापित गर्न खोजेको उनले बताए ।प्रत्यक्ष निर्वाचित कार्यकारी, प्रदेश खारेज आफ्नो पार्टीका माग रहेको उनले सुनाए ।

कार्यक्रममा राजेन्द्र लिङदेन भने–
राजाले पहाडमा नभएर मधेसको जनताले रोजगारी पाओस्, मधेसको जनताले गरिखाने वातावरण निर्माण होस् भनेर खोलेको उद्योगधन्दाहरू बेचेर खाए । कृषि औजार कारखाना, चिनी कारखाना, जनकपुर चुरोट कारखाना बन्द गरे र आज दर्जनौँ भ्रष्टाचारकाण्डहरूमा उनीहरूको नाम मुछिएको छ । त्यस्ता नेताहरू अहिले राजालाई लल्कार्दै छन्, राजा चुनाव लड्न आऊ भनेर । म भन्छु– तपाईंहरूसँग चुनाव हामी लड्छौँ, राजाले चुनाव लड्ने होइन । चुनाव लड्नको लागि हामीजस्ता मानिसहरू छौँ । हामीले खोजेको राजा, हामीले स्थापित गर्न खोजेको राजा तपाईंहरूसँग चुनाव लड्ने होइन । राजनैतिक दलको राजा होइन, देशको राजा खोजेको हो । राजा राजनीतिक दलभन्दा र भोटको राजनीतिभन्दा माथि रहने संस्था हो । 

संविधान पालना भएमात्रै सबैको हक अधिकार सुनिश्चित हुन्छ, उपाध्यक्ष घिमिरे

२०८१,११,२४

राष्ट्रियसभा उपाध्यक्ष विमला घिमिरेले संविधानमा लेखिएका कुरा अक्षरस पालना भएमात्रै सबैको हक र अधिकार सुनिश्चित हुने बताएकी छन्। शनिवार काठमाडौँमा ११५ औँ अन्ताराष्ट्रिय महिला दिवस मूल समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन्। उनले कानून बनाउने कुरामा अगाडि भए पनि त्यसको पालना गर्ने कुरामा पछि परेको बताइन्। उनले संविधानले राष्ट्रपति वा उपराष्ट्रपतिमा महिला एकजनाको व्यवस्था गरे पनि वा र र को शब्दमा अपव्याख्या गरिएको गुनासो गरिन्।

उपाध्यक्ष घिमिरेले हरेक क्षेत्रबाट सबैले संघर्ष गर्नुपर्ने बताएकी छन । सबै मिलेर संघर्ष गरेमात्रै आफ्नो अधिकार सुनिश्चित हुने जिकिर गरिन्। अरूलाई अपमान गर्नु भनेको चेतनास्तर कमजोर हुनु रहेको उनको भनाई छ ।

सत्तामा आउने इच्छा भए पार्टी खोलेर, चुनाव जितेर आउन पूर्वराजालाई प्रचण्डको चुनौती

फागुन २४ शनिबार ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वराजा ज्ञानेन्द्रलाई पार्टी खोलेर चुनाव लड्न सुझाव दिएका छन् । उनले राजतन्त्र पुनःस्थापना हुने कुरा असम्भव भएको स्पष्ट पारे । आज बिहान रौतहट गरुडाका उद्योगी तथा व्यापारीसँगको भेटघाटका क्रममा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको उत्तर दिँदै अध्यक्ष दाहालले भने, “इतिहासको चर्खा कहिले पनि फर्कँदैन, यदि उहाँलाई सत्तामा आउने इच्छा भए पार्टी खोलेर, चुनाव जितेर आउन संविधानले छुट दिएको छ ।”

अर्को प्रसंगमा अध्यक्ष दाहालले गरुडामा रहेको श्रीराम सुगर मिल सञ्चालनको लागि सक्दो पहल गर्ने बताए । यस मिलसँग रोजगारी, आर्थिक विकास समेत जोडिएको हुँदा श्रीराम सुगर मिल सञ्चालनको लागि पार्टीको तर्फबाट सक्दो सहजीकरण गर्ने उनले प्रतिबद्धता जनाए

अध्यक्ष दाहालसहितको टोली माओवादी केन्द्रको जनतासँग माओवादी तराई–मधेस जागरण अभिायनअन्तर्गत शुक्रबार साँझ रौतहट आइपुगेका हुन् । शनिबार दिउँसो परोहा नगरपालिकाको लौकाहामा आमसभामा सम्बोधन गर्ने कार्यक्रम रहेको पार्टीका पोलिटब्युरो सदस्य एवं रौतहट क्षेत्र नं ४ क का प्रदेशसभा सदस्य युवराज भट्टराई ‘समीर’ले जानकारी दिए ।

 

सिरियाली सुरक्षा बलले अल्पसङ्ख्यक समुदायका मानिसहरूको हत्या गरेको आरोप

फागुन २४ शनिबार ।
सिरियाली सुरक्षा बलले अल्पसङ्ख्यक अलावी समुदायका मानिसहरूको हत्या गरेको आरोप लागेको छ ।बेलायतमा रहेको सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्स एसओएचआरले अपदस्थ राष्ट्रपति बशिर अल–असदको गढ रहेको लताकिया क्षेत्रमा ‘क्षेत्रीय मृत्युदण्ड’ मा १ सय ६२ जना सर्वसाधारण मारिएका बताएको छ ।

‘एसओएचआर’ ले समाचार एजेन्सी एएफपीलाई दिएको जानकारी अनुसार मारिनेमा १३ महिला र पाँच बालबालिका रहेका छन् । पूर्वराष्ट्रपति असद पनि अलावी समुदायबाट आएका हुन् । यद्यपि यी हत्याहरू सिरियाली नयाँ सरकारको फौजले गरेको हो वा होइन भन्ने पुष्टि हुन नसकेको बीबीसीको खबरमा उल्लेख छ ।

डिसेम्बरमा असदलाई अपदस्थ गर्ने सिरियाका नयाँ शासकहरूले पूर्वराष्ट्रपतिको गृहनगर कारदाहामा अहिले सैन्य कारबाही शुरू भइरहेको बताएका छन् ।हिंसा शुरू भएदेखि आफ्नो पहिलो वक्तव्यमा देशका अन्तरिम राष्ट्रपति अहमद अल–शाराले सिरियाले अपदस्थ असद शासनका ‘अवशेषहरू’ लाई पछ्याउने र उनीहरूलाई मुद्दा चलाउने बताएको रोयटर्सको रिपोर्टमा उल्लेख छ ।

सोलुखुम्बुमा परम्परागत बाली लगाउन कठिन हुँदै, जग्गा बाँझै छोड्नुपर्ने अवस्था

फागुन २४ शनिबार ।
सोलुखुम्बुमा परम्परागत रूपमा उब्जनी हुँदै आएका गहुँ, जौ, फापरजस्ता अन्नबाली लगाउन कठिन हुँदै गएको छ । पहिला–पहिला उवा, फापर प्रशस्त फल्ने गरेकोमा अहिले खेतीयोग्य जमिन बाँझै छोड्नुपर्ने अवस्था आएको किसानले बताएका छन् ।खेती लगाए पनि गतिलो उब्जनी नहुँदा खेती लगाउनै छोडेको खुम्बुको छुकुमका तेन्जिङ जाङ्बु शेर्पाले बताए।

परम्परागत कृषि बालीको उत्पादन हुन छोडेसँगै खुम्बु क्षेत्रका नागरिकमा खाद्य सुरक्षा चिन्ताको विषय बनेको छ ।पोषण अभावले बालबालिका, महिला तथा गर्भवतीको स्वास्थ्य झन् कमजोर बन्ने जोखिम रहेको स्थानीय स्वास्थ्यकर्मी ङिमडोमा शेर्पा बताउछन । वातावरणविद् डा राजन थापाका अनुसार समयमा हिमपात नहुँदा जमिन सुक्खा हुँदै गएका छन्, पानीको अभाव बढ्दो छ ।

यसलाई मौसमी चक्र गडबडका रूपमा लिन सकिने उनको भनाइ छ ।खेती भएन भनेर खेतबारी बाँझो छोड्ने क्रम बढ्नु थप चिन्ताको विषय रहेको कृषि विज्ञले बताएका छन् । साना किसानलाई जलवायु अनुकूल खेती अभ्यास, सिँचाइका लागि वैकल्पिक उपाय तथा जैविक कृषिलाई प्रवर्द्धन गर्ने नीति आवश्यक रहेको कृषि विज्ञ चन्द्रमान श्रेष्ठले बताएका छन ।

आज मार्च ८ तारिख ११५ औं अन्तर्राष्ट्रिय नारी दिवस विश्वभर मनाइँदै .

२०८१,११,२४
आज १ सय १५ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस, विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । रोल…सबै महिला तथा बालिकाको लागि ः अधिकार, समानता र सशक्तिकरण भन्ने मूल नारासहित यो दिवस नेपालमा पनि मनाइदै छ । हरेक वर्ष मार्च ८ तारिखमा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउने गरिन्छ । नेपालमा लैंगिक समनता र महिला अधिकारको प्रवद्र्धमा यो दिवसले महत्वपूर्ण योगदान दिएको छ । आजको दिनमा महिला सशक्तिकरणलाई प्रोत्साहन गर्ने र लैंगिक विभेद हटाउने सवालमा देशभर विभिन्न कार्यक्रम गरिँदैछ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले दिवसका अवसरमा आज प्रहरी प्रधान कार्यालयमा विशेष कार्यक्रम गर्दैछ ।
नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर दिवस मनाउने प्रचलन छ । सन् १९०६ मा सम्पन्न महिलाहरूको प्रथम अन्तर्राष्ट्रिय सम्मेलनबाट क्लारा जेट्किन सचिव बन्नुभयो । त्यसपछि १९०८ मार्च ८ मा अमेरिकाको सिकागो सहरमा समान अधिकारको माग राखेर महिलाहरूले हडताल गरे । महिला अधिकारको माग गर्दै भएको सोही आन्दोलनको स्मरण तथा महिला अधिकारको संघर्षको दिनका रूपमा ८ मार्चलाई लिने गरिन्छ । नेपालमा शिक्षा, स्वास्थ्य, आर्थिक सशक्तिकरण तथा नेतृत्वमा महिला सहभागिता बढे पनि त्यो पर्याप्त नभएको सरोकारवालाको गुनासो छ । त्यसैले महिला समानताको लक्ष्यलाई वास्तविक कार्यान्वयमा ल्याउन हातेमालो गर्दै जाने सवालमा यो दिवस महत्वपूर्ण मानिन्छ ।०००