समाचार | Page 9 of 5894 | ईमाउण्टेन समाचार

Our Network

फागुन २९ २०८२, शनिबार

समाचार

आशंका गर्नेहरू नै अहिले सरकारको पक्षमा, निर्वाचनले संवैधानिक प्रणालीलाई पूर्णता दिने गृहमन्त्रीको दाबी

काठमाडाैं । गृहमन्त्री ओमप्रकाश अर्यालले सरकार गठनको शुरुवाती चरणमा आशंका र विरोध गर्नेहरू नै अहिले सरकारको काम देखेर विश्वास गर्न थालेको बताउनुभएको छ । सार्वजनिक जिम्मेवारीमा रहँदा शंका र विश्वास दुवै हुनु स्वाभाविक रहेको बताउँदै उहाँले शंका गर्नेहरूसँगै निरन्तर संवादमा रहेर उनीहरूलाई विश्वासमा लिन सरकार सफल भएको दाबी गर्नुभएको हो।

प्रदेशस्तरीय सुरक्षा गोष्ठीहरूमा सबै दलका मुख्यमन्त्री र आन्तरिक मामिला मन्त्रीहरूले देखाएको सद्भाव र सहयोगले सरकारको मनोबल उच्च बनाएको बताउनुभयो । देशले ठूलो हिंसा र राष्ट्र नै जोखिममा पर्ने अवस्था देखिसकेको सन्दर्भ उल्लेख गर्दै मन्त्री अर्यालले देशलाई त्यो दुष्चक्रबाट रोक्न र स्थितिलाई सामान्यीकरण गर्न सबैको विधिको शासन र कानूनी राज्यको पुनर्बहालीका लागि निर्वाचन अपरिहार्य हो भन्ने चाहना रहेको र सरकार त्यसमा सफल भएको बताउनुभयो ।

निर्वाचन सम्पन्न भइसकेपछि संविधानको पूर्ण पुनर्बहाली हुने, संवैधानिक अङ्गहरू सुचारु हुने र त्यसपछि सुशासन, सेवा प्रवाह र समृद्धिको बाटो खुल्ने विश्वास गृहमन्त्री अर्यालले व्यक्त गर्नुभयो ।

झापा-५ काे प्रारम्भिक मतपरिणाम : एमालेका ओलीभन्दा रास्वपाका बालेन एक हजार ९२ मतले अगाडि

दमक । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत झापा जिल्ला क्षेत्र नं. ५ मा मतगणनाको प्रारम्भिक नतिजा सार्वजनिक भएको छ । देशभर चासोका साथ हेरिएको यस क्षेत्रको प्रारम्भिक मत परिणाम सार्वजनिक भएको हो ।

रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह एक हजार चार सय ७६ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी, नेकपा एमालेका अध्यक्ष एव पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले ३८४ मत प्राप्त गर्नुभएको छ । हालसम्म कुल दुई हजार तीन सय तीन मत गणना भएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

प्रारम्भिक मतपरिणाम अनुसार शाहले ओलीलाई एक हजार ९२ मतलेपछि पार्दै अग्रता कायम गर्नुभएको छ । कडा सुरक्षाबिच निर्वाचन अधिकृतको कार्यालय क्षेत्र नं. ५ दमकमा मतगणना भइरहेको छ ।

काठमाडाैंका १० मध्ये ६ क्षेत्रमा रास्वपा अग्रस्थानमा

काठमाडाैं । अहिलेसम्मको मतगणना अनुसार काठमाडौंका ६ वटा निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवारहरूले अग्रता लिएका छन्। हालसम्म सार्वजनिक प्रारम्भिक मतपरिणाम अनुसार काठमाडौं निर्वाचन क्षेत्र १, ४, ६, ७, ८ र १० मा रास्वपाका उम्मेदवारले अग्रता लिएका हुन्।

काठमाडौं क्षेत्र नम्बर १ मा रास्वपाकी रञ्जु दर्शनाले १३२७ मत पाउँदा नेपाली कांग्रेसका प्रबल थापाले १०८९ मत ल्याएका छन्। राप्रपाका रवीन्द्र मिश्रको ६४४ मत छ।

काठमाडौं ६ रास्वपाका शिशिर खनालले हालसम्म ५१५ मत पाएका छन्। नेपाली कांग्रेसका कृष्ण सबुज बानियाँले ३६० मत र नेकपा एमालेका अमन मास्केले ३१० मत पाएका छन्।

काठमाडौं–७ मा रास्वपाका गणेश पराजुलीले ७६० मतका साथ अग्रता लिँदा प्रतिस्पर्धी रहेका नेकपा एमालेका प्रकाश श्रेष्ठले १७३ र कांग्रेसका प्रमोदहरि गुरागाईंले ११६ मत प्राप्त गरेका छन्।

त्यस्तै, काठमाडौं–८ मा विराजभक्त श्रेष्ठले ३२९० मत लिएर अग्रता कायम गर्दा प्रतिस्पर्धी कांग्रेसकी सपना राजभण्डारीले ३४९ मत प्राप्त गरेकी छन्। काठमाडौं–१० मा पनि रास्वपाकै उम्मेदवार अगाडि छन्। रास्वपाका प्रदीप बिष्टले १८०४ मत पाउँदा कांग्रेसका हिमाल कार्कीको ४३९ मत छ।

नयाँ सरकारसँग काम गर्न उत्साहित छौँ : भारत

काठमाडौं । भारतले बिहीबार सम्पन्न नेपालको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वागत गर्दै नेपाली जनताले लोकतान्त्रिक अधिकार प्रयोग गरेकोमा प्रशंसा गरेको छ। भारतीय विदेश मन्त्रालयले बिहीबार सञ्चारमाध्यमको जिज्ञासाको जवाफ दिँदै नेपालमा उत्साहपूर्ण सहभागितासहित निर्वाचन सफलतापूर्वक सम्पन्न भएकामा खुसी व्यक्त गरेको हो।

मन्त्रालयले नेपाली नागरिकहरूले आफ्नो लोकतान्त्रिक जनादेश प्रयोग गरेको र चुनौतीपूर्ण परिस्थितिका बीच पनि निर्वाचन सफलतापूर्वक सम्पन्न भएको उल्लेख गरेको छ। अन्तरिम सरकार प्रमुख सुशीला कार्की, नेपाल सरकार, नेपाली जनता तथा निर्वाचन सम्पन्न गराउन भूमिका खेलेका सबै सरोकारवालालाई बधाई पनि दिएको छ।

मन्त्रालयका प्रवक्ता रणधीर जैसवालका अनुसार भारतले सधैं नेपालमा शान्ति, प्रगति र स्थायित्वलाई समर्थन गर्दै आएको छ। सोही प्रतिबद्धताअनुसार नेपाल सरकारको अनुरोधमा यस निर्वाचनका लागि भारतले आवश्यक लजिस्टिक सहयोग पनि उपलब्ध गराएको उनले बताए।

भारतले अब बन्ने नयाँ नेपाली सरकारसँग मिलेर दुई देशबीचको बहुआयामिक र घनिष्ठ सम्बन्धलाई अझ सुदृढ बनाउँदै दुवै देश र जनताको आपसी हितमा सहकार्य गर्ने अपेक्षा राखेको पनि जैसवालले बताएका छन्।

 

 

निर्वाचनमा देखिएको उत्साहले लोकतन्त्रप्रतिको निष्ठा पुष्टि गर्‍यो : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बिहीबार सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा मतदाताले देखाएको सक्रिय सहभागिताले लोकतन्त्रप्रतिको अटल प्रतिबद्धतालाई पुनः बलियो बनाएको बताएका छन्।

निर्वाचन सम्पन्न भएपछि विज्ञप्ति जारी गर्दै सभापति थापाले निर्वाचनमा मतदाताको सहभागिताले लोकतान्त्रिक प्रणालीप्रतिको गहिरो विश्वासलाई पुष्टि गरेको र राजनीतिक दलहरूका साथै अब बन्ने सरकारलाई जनअपेक्षाअनुसार काम गर्न थप जिम्मेवार बनाएको बताएका हुन्।

उनले भनेका छन्, ‘प्रतिनिधि सभाको निर्वाचनमा देशव्यापी रूपमा मतदाताले प्रकट गरेको उत्साह र सक्रिय सहभागिताले लोकतन्त्रप्रतिको नेपाली निष्ठा र अटल प्रतिवद्धता पुनः एकपटक बलियो रूपमा अभिव्यक्त भएको छ।’

केही घटनाबाहेक शान्तिपूर्ण वातावरणमा निर्वाचन गराउन सफल भएकोमा उनले सरकार र निर्वाचन आयोगलाई धन्यवाद दिएका छन्। साथै निर्वाचन सफल बनाउन अहोरात्र खटिएका राष्ट्रसेवक कर्मचारी र सुरक्षा निकायप्रति पनि उनले आभार प्रकट गरेका छन्।

मतगणना अपडेट : काठमाडौंका १० निर्वाचन क्षेत्रमध्ये कहाँ कसले कति मत ल्याए ?

काठमाडौँ- काठमाडौँका १० वटा निर्वाचन क्षेत्र मध्ये मतगनणा जारी रहेका निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अधिकांश उम्मेदवारले सुरुवाती अग्रता लिएका छन्।

जसमध्ये काठमाडौँ १ मा २ हजार ६१४ मत प्राप्त गर्दै रास्वपाकी रञ्जु दर्शना न्यौपानले अग्रता लिइएकी छन्। उनलाई कांग्रेसका प्रवल थापा क्षेत्रीले १ हजार ४१३ मत ल्याउँदै पछ्याएका छन्।

काठमाडौँ १ मा चर्चामा रहेका राप्रपाका रवीन्द्र मिश्र प्रतिष्पर्धाको तोस्रो स्थानमा छन्। उनले ७१९ मत ल्याउँदा एमालेका मोहनराज रेग्मीले १६१ र नेकपाकी मेनुका भण्डारीले ४३ मत प्राप्त गरेकी छन्।

यस्तै काठमाडौँ २ मा पनि ४२४ मत ल्याउँदै रास्वपाकै सुनिल केसी अगाडि रहेका छन्। उनलाई एमाेका मणिराम फुयालले २३६ मत ल्याउँदै पछ्याएका छन्।

यहाँ कांग्रेसका कबिर शर्माले १८९ मत ल्याउँदा राप्रपाका उम्मेदवार कुन्तीदेवी पोखरेलले ५७ मत प्राप्त गरेकी छन्।

काठमाडौँ ३ मा भने रास्वपालाई पछि पार्दै उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले १ हजार ४१ मत प्राप्त गरेका छन्। यहाँ रास्वपाका राजुनाथ पाण्डेले ७४८, कांग्रेसका रमेश अर्यालले २९८ गर्दा एमालेका रामेश्वर फुयालले २७९ मत ल्याएका छन्।

काठमाडौँ ४ मा ८६२ मत ल्याउँदै रास्वपाका पुकार बम अगाडि रहेका छन्। उनलाई एमालेका राजन भट्टराईले २७३ मत ल्याउँदै पछ्याइरहेका छन्। यहाँ कांग्रेसका सचिन तिमिल्सेनाले २१२ मत ल्याएका छन्। काठमाडौँ ४ यसअघि कांग्रेसका सभापति गगन थापाले जित्दै आएको क्षेत्र हो।

काठमाडौँ ५ मा रास्वपाका सस्मित पोख्रेलले १ हजार ४२४, कांग्रेसका प्रदीप पौडेलले ४१२, एमालेका ईश्वर पोखरेलले २८५ मत ल्याएका छन्।

यस्तै काठमाडौँ ६ मा रास्वपाका शिशिर खनालले ५१५, कांग्रेसका कृष्णसवुज बानियाँले ३६०, एमालेका अमनकुमार मास्केले ३१० मत ल्याएका छन्।

काठमाडौँ ८ मा रास्वपाका उम्मेदवार विराजभक्त श्रेष्ठले ४ हजाख ७८३ मत ल्याउँदै अग्रता कायम गरेका छन्। यहाँ कांग्रेसकी सपना राजभण्डारीले ५३९, नेकपा सुमन सायमीले ५४४ र एमालेका राजेश शाक्यले ३१५ मत ल्याएका छन्।

काठमाडौँ १० मा पनि रास्वपाकै उम्मेदवार प्रदीप विष्ट १ हजार २४६ मत ल्याउँदै अगाडि रहेका छन्। यहाँ कांग्रेसका हिमाल कार्कीले २४७, एमालेका विनोद श्रेष्ठलले १६८, उल्यालो नेपाल पार्टीका राकेश न्यौपानेले ७४ मत ल्याएका छन्।

काठमाडाैंकाे १० क्षेत्रकाे कहाँ कहाँ हुँदैछ मतगणना ?

काठमाडौं । प्रतिनिधिसभा सदस्यको निर्वाचन आज सम्पन्न भएसँगै मतगणना तयारी भइरहेको छ । काठमाडौँको क्षेत्र नं १ को मतगणना सहकारी विभागमा हुँदैछ ।

त्यसैगरी क्षेत्र नं २ को कागेश्वरी मनोहरा नगरपालिकाको कार्यालय, क्षेत्र नं ३ को चामुन्डा माध्यामिक विद्यालय नारायणटार, क्षेत्र नं ४ को बूढानीलकण्ठ नगरपालिकाको कार्यालय र क्षेत्र नं को २ को ज्येष्ठ नागरिक कार्यालयमा गणना हुँदैछ ।

क्षेत्र नं ५ को श्री समाज भवन टोखा नगरपालिका–५ को भवनमा र क्षेत्र नं ६ को तार्केश्वर नगरपालिका, धर्मस्थलीमा मतगणना हुने निर्वाचन आयोगले जनाएको छ ।

क्षेत्र नं ७ को जुडो हल नयाँबजार, क्षेत्र नं ८ को जनउद्धार मावि हरिसिद्धी, काठमाडौँ, क्षेत्र नं ९ को चन्द्रगिरि नगरपालिका, बलम्बु र क्षेत्र नं १० को त्रिभुवन विश्वविद्यालय स्मृति भवन कीर्तिपुरमा मतगणना हुँदैछ ।

देशभर शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न, मतपेटिका संकलन शुरू

काठमाडौं । देशभर आज प्रतिनिधि सभा निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ। बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म देशभरका मतदान केन्द्रमा उत्साहजनक रूपमा सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ।

निर्वाचनमा मतदाताहरूको उल्लेख्य सहभागिता देखिएको थियो। ग्रामीण तथा शहरी दुवै क्षेत्रमा मतदाताहरू बिहानैदेखि मतदान केन्द्रमा लामबद्ध भई मतदान गरेका थिए। कतिपय स्थानमा सामान्य प्राविधिक समस्या देखिए पनि समग्रमा मतदान प्रक्रिया व्यवस्थित र शान्तिपूर्ण रहेको आयोगले जनाएको छ।

सुरक्षा व्यवस्थालाई कडा बनाइएकाले कुनै ठूला अप्रिय घटना नभई निर्वाचन सम्पन्न भएको गृह मन्त्रालयले जनाएको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा नेपाली सेनाको समन्वयमा देशभर कडा सुरक्षा व्यवस्था गरिएको थियो।

प्रधानमन्त्री सुशीला कार्की निर्वाचन सम्पन्न गराउन सफल हुनुभएकाे छ ।

निर्वाचन आयोगले दिएकाे जानकारी अनुसार मतपेटिका संकलनकाे कार्य शुरू भएकाे छ । आयोगले निर्वाचन सम्पन्न भएकाे २४ घण्टाभित्र नतिजा सार्वजनिक गर्न शुरू गरिने जनाएकाे छ ।

प्रतिनिधि सभा निर्वाचन : छिटपुट घटनाबाहेक देशभर शान्तिपूर्ण र व्यवस्थित मतदान

काठमाडाैं । निर्वाचन पर्यवेक्षण समिति, नेपालले प्रतिनिधि सभा निर्वाचनमा छिटपुट घटनाबाहेक देशभर शान्तिपूर्ण, व्यवस्थित र उत्साहजनक रूपमा  निर्वाचन सम्पन्न भएको जनाएको छ । निर्वाचनको प्रारम्भिक अनुगमनपछि समितिले बिहीवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै निर्वाचन व्यवस्थापन र मतदाताको व्यवहारमा विगतको तुलनामा सुधार आएको निष्कर्ष निकालेको हो ।

निर्वाचनमा अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक र सबै वर्ग तथा समुदायका मतदाताहरूको उत्साहवर्धक सहभागिता देखिएको छ । विगतका निर्वाचनहरूको तुलनामा यस पटक राजनीतिक दल, उम्मेदवार र मतदाताहरूको व्यवहार बढी संयमित, सहयोगी र शान्त पाइएको पर्यवेक्षणले देखाएको छ । मतदान केन्द्रहरूमा कर्मचारी र दलका प्रतिनिधिहरूबीच पनि सौहार्दपूर्ण वातावरण रहेको पाइएको छ ।

जिओकले ३६ जिल्लाका २ सय ५० पालिकामा राष्ट्रिय तथा जिल्ला स्तरका गरी जम्मा ४ सय पर्यवेक्षकहरू परिचालन गरेको थियो । जसमा पूर्वन्यायाधीश, पूर्वसचिव, प्राध्यापक र वरिष्ठ पत्रकारहरू समेत सामेल थिए । समितिको प्रारम्भिक प्रतिवेदनअनुसार अधिकांश मतदान केन्द्रहरू तोकिएको समय बिहान ७ बजेदेखि नै सञ्चालनमा आएका थिए ।

मतदाता शिक्षा र सूचनाको अभाव
पर्यवेक्षणका क्रममा मतदाताहरूमा उम्मेदवार र निर्वाचन चिन्हबारे आधारभूत सूचनाको कमी रहेको पाइएको प्रतिवेदनमा उल्लेख छ । मतदाता शिक्षा र सूचना संप्रेषण पद्धति प्रभावकारी नहुँदा कतिपय मतदाताहरूमा अन्योल देखिएको विज्ञप्तिमा उल्लेख छ । उम्मेदवारहरूले आफ्नो चिन्हबारे निश्चित ढंगले सूचना प्रसार गर्न नसक्दा मतदातालाई विवेकपूर्ण मत संकेत गर्न कठिनाइ भएको महशुस पर्यवेक्षकहरुले गरेका छन् ।

देखिएका केही समस्या र चुनौतीहरू
शान्तिपूर्ण मतदान भएपनि केही प्राविधिक र व्यवस्थापकीय समस्याहरू देखिएका छन् । टाढाबाट आउनुपर्ने मतदाताहरू सवारी साधनको अभावले मतदानबाट वञ्चित हुनुपरेको पाइएको जिओकको भनाइ छ । कतिपय मतदान केन्द्रहरू अझै पनि अपाङ्गतामैत्री हुन सकेका छैनन् । दोलखाको तामाकोशी र सुनसरीको धरानमा मतदान शुरु गर्दा केही सामान्य विवाद देखिए पनि सर्वदलीय बैठकबाट समाधान गरी मतदान सुचारु गरिएको थियो । मतदाता परिचयपत्र भएपनि नामावलीमा नाम नहुने वा परिचयपत्र नहुँदा मतदान गर्न नपाउने जस्ता समस्याहरू पनि केही स्थानमा देखिएका छन् ।

जिओकले निर्वाचन प्रक्रिया र व्यवस्थापनमा भएको सुधारलाई लोकतन्त्रको सुदृढीकरणका लागि शुभ संकेतको रूपमा लिएको छ । निर्वाचन आचारसंहिताको पालना सन्तोषजनक रहेको र व्यवस्थापनमा भएका सुधारले निर्वाचनलाई थप विश्वसनीय बनाएको समितिको ठहर छ ।

कुनैपनि केन्द्रमा मतदान रोकिएको छैन : निर्वाचन आयोग

काठमाडाैं । देशभरका सम्पूर्ण मतदान केन्द्रहरूमा शान्तिपूर्ण, स्वतन्त्र र उल्लासमय वातावरणमा मतदान कार्य जारी रहेको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयुक्त डा. जानकीकुमारी तुलाधरले अहिलेसम्म देशका कुनैपनि मतदान केन्द्रमा मतदान कार्य नरोकिएको र सबै ठाउँमा सुचारु रूपले सञ्चालन भइरहेको जानकारी दिनुभएको हो ।

मतदानको पछिल्लो अवस्थाबारे जानकारी दिँदै आयुक्त डा. तुलाधरले आम मतदाताहरू उत्साह र उल्लासका साथ मतदान केन्द्रमा पुगेर आफ्नो मताधिकार प्रयोग गरिरहेको बताउनुभयो । सुरक्षा व्यवस्था र मतदान केन्द्रको समग्र व्यवस्थापनका विषयमा बोल्दै उहाँले यस पटकको निर्वाचनमा सुरक्षाको दृष्टिकोणले अत्यन्तै राम्रो प्रवन्ध मिलाइएको स्पष्ट पार्नुभयो ।  मतदान केन्द्रहरूको वातावरण शान्त र भयरहित रहेको बताउँदै उहाँले निर्वाचन व्यवस्थापनका हरेक कार्यहरू उत्कृष्ट तरिकाले सम्पन्न भइरहेको दाबी गर्नुभयो ।

आयुक्त तुलाधरकाअनुसार निर्वाचन आयोगले यसपटक मतदान केन्द्रहरूलाई विशेष रूपमा पहुँचयोग्य बनाएको छ । सबै वर्ग र समुदायका नागरिकले सहजै मतदान गर्न सकुन् भन्ने उद्देश्यले आयोगले मतदान स्थलको निर्माण र व्यवस्थापनमा विशेष ध्यान दिएको छ । बेलुका ५ बजेसम्म मतदानको समय तोकिएको हुनाले समयमै आफ्नो मतदान केन्द्रमा पुगेर अमूल्य मत खसाल्न आयोगले सम्पूर्ण मतदाताहरूलाई आग्रह समेत गर्नुभयो ।

मतदान गर्न बाँकी मतदातालाई ५ बजे नपर्खिन निर्वाचन आयोगको आग्रह

काठमाडाैं । निर्वाचन आयोगले आफ्नो मताधिकार प्रयोग गर्न बाँकी रहेका सम्पूर्ण मतदाताहरूलाई निर्धारित समय (साँझ ५ बजे) नपर्खीकन मतदान केन्द्रमा गएर मतदान गर्न विशेष आग्रह गरेको छ । देशभर उत्साहजनक रूपमा मतदान भइरहेको सन्दर्भमा आयोगले कार्यव्यस्तता वा अन्य कारणले घरमै बसिरहेका नागरिकलाई यस्तो अपिल गरेको हो ।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले मतदाताहरू निर्वाचनमा भाग नलिई घरमै बसेको भन्ने कुरामा आफूलाई विश्वास नलागेको बताउनुभयो । आयोगले मतदान केन्द्रमा पुग्दै गरेकाहरूलाई आफ्नो मत बदर नहुने गरी शुद्ध र विधिपूर्वक तरिकाले मतदान गर्न सुझाव दिएको छ ।

मतदान गर्नु नागरिकको अधिकार मात्र नभई राष्ट्रप्रतिको महत्वपूर्ण कर्तव्य पनि भएको आयोगले स्मरण गराएको छ ।

 

सबैको सहयोगले तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्न सफल भयौँ : निर्वाचन आयोग

काठमाडाैं । तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्न सबैको सहयोग महत्वपूर्ण भएको निर्वाचन आयोगले जनाएको छ ।
आयोगले तोकिएकै मिति (फागुन २१ गते) शान्तिपूर्ण रूपमा निर्वाचन गराउन सफल भएको भन्दै यसमा सहयोग गर्ने सम्पूर्ण पक्षलाई धन्यवाद दिएको हो ।

निर्वाचनको मिति घोषणा हुँदा देशको शान्ति सुरक्षा र अन्य विविध कारणले तोकिएको समयमा निर्वाचन हुनेमा कतिपयले आशङ्का व्यक्त गरे पनि नेपाली समाजको सौहार्द्रताले त्यसलाई चिरेको आयोगको भनाइ छ । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले आयोगले संविधानतः आवधिक निर्वाचन गराउने आफ्नो प्रमुख कर्तव्य भएको र सोही कार्ययोजना अनुसार निरन्तर काम गरिरहेको बताउनुभयो ।

यद्यपि यो सफलता आयोगको एक्लो प्रयासले मात्र सम्भव नभएको प्रवक्ता भट्टराईले प्रस्ट पार्नुभयो । उहाँले नेपालका राजनीतिक दलहरू, उम्मेदवारहरू, आम मतदाता, सञ्चार क्षेत्र, नागरिक समाज र नेपाल सरकारले समयमै निर्वाचन गर्न पु¥याएको सहयोगका कारण आजको दिनसम्म आइपुग्न सफल भएको बताउनुभयो ।

मतदानको दिन उत्साहजनक रूपमा अगाडि बढिरहेको भएपनि निर्वाचनको सम्पूर्ण प्रक्रिया अझै नसकिएकोतर्फ आयोगले ध्यानाकर्षण गराएको छ ।

निर्वाचनले लोकतन्त्र सुदृढ गर्नुका साथै देशमा स्थायित्व ल्याउनुपर्छ : अध्यक्ष ओली

काठमाडाैं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनले देशमा लोकतन्त्र सुदृढ बनाउँदै राजनीतिक स्थायित्व र सुशासन स्थापना गर्न योगदान गर्नुपर्ने बताउनुभएको छ ।  बिहीवार भक्तपुरको बालकोटस्थित महेन्द्र शान्ति माध्यमिक विद्यालय मतदान केन्द्रमा मतदान गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले यस्तो बताउनुभएको हो ।

अराजनीतिक, अराजक तथा हिंसात्मक गतिविधिलाई नियन्त्रण गर्दै लोकतान्त्रिक प्रक्रियालाई सुदृढ बनाउने दिशामा निर्वाचनले महत्वपूर्ण भुमिका खेल्नुपर्ने ओलीको भनाइ छ । उहाँले लोकतान्त्रिक प्रक्रियामार्फत संविधानलाई सही ट्र्याकमा फर्काउँदै देशलाई स्थिरता, स्थायित्व र सुशासनतर्फ अघि बढाउनुपर्ने उल्लेख गर्नुभयो ।

उहाँले देशको शान्ति, सुव्यवस्था तथा राष्ट्रिय हितको रक्षा गर्नु अहिलेको प्रमुख आवश्यकता भएको बताउँदै देशको अस्तित्व, स्वाधीनता र राष्ट्रिय हितको संरक्षण तथा संवद्र्धनमा निर्वाचनले सकारात्मक भुमिका खेल्नुपर्ने धारणा राख्नुभयो ।

उहाँले शान्ति, सुशासन र विकासका पक्षमा रहेका अनुभवी तथा देशभक्त नेतृत्वलाई अत्यधिक बहुमतले विजयी गराउन मतदातासमक्ष आह्वान समेत गर्नुभयो ।

निर्वाचनका दिन काठमाडौं उपत्यकामा सवारीसाधन चेकजाँचमा कडाइ (फाेटाेफिचर)

काठमाडाैं । निर्वाचनलाई लक्षित गर्दै आज काठमाडौं उपत्यकाका सडकमा सवारीसाधन आवागमनमा निकै कडाइ गरिएको छ । मतदानको दिन अनुमतिपत्र (पास) नलिएका सवारीसाधन चलाउन रोक लगाइएपछि उपत्यकाका मुख्य सडकहरू सुनसान देखिएका छन् भने चोक–चोकमा ट्राफिक प्रहरीले कडा सुरक्षा जाँच गरिरहेका छन् ।

सडकमा गुड्ने सवारीसाधनलाई नियन्त्रण र अनुगमन गर्न प्रहरीले ‘हिलटेक’ लेखिएका ट्राफिक कोन र पहेँलो–रातो रंगका फोल्डिङ ब्यारिकेडहरू सडकको बीचमा राखेर विभिन्न ठाउँमा चेकप्वाइन्टहरू निर्माण गरेको छ । जसका कारण अन्य दिनहरूमा निकै व्यस्त रहने उपत्यकाका सडकहरू आज प्रायः खाली र सुनसान छन् । ट्राफिक प्रहरीले सडकमा गुडेका प्रत्येक सवारीसाधनलाई रोकेर सोधपुछ तथा पासको जाँच गरिरहेका छन् । अत्यावश्यक सेवाअन्तर्गतका गाडीहरूलाई समेत परिचयपत्र र प्रयोजन हेरेर मात्र अगाडि बढ्न दिइएको छ । विशेषगरी मोटरसाइकल र स्कुटर जस्ता दुईपाङ्ग्रे सवारीसाधनमाथि प्रहरीले कडा निगरानी राखेको छ ।
तस्बिर : अनुप प्रधान

 

एमाले अध्यक्ष ओलीद्वारा भक्तपुरबाट मतदान

काठमाडाैं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मतदान गर्नुभएको छ । बिहीवार बिहान अध्यक्ष ओलीले भक्तपुरको बालकोटस्थित महेन्द्र शान्ति मावि केन्द्रमा पुगेर मतदान गर्नुभएको हो ।

उहाँ झापा ५ बाट उम्मेदवार समेत हुुनुहुन्छ । आज पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली (प्रत्यक्ष)तर्फ १६५ निर्वाचन क्षेत्र र समानुपातिकतर्फ ११० स्थानका लागि निर्वाचन भइरहेको हो ।

देशभर मतदान कार्य जारी छ ।

सर्लाही–४ को उम्मेदवारीले मलाई राजनीतिक पूर्णता दियो : गगन थापा

काठमाडाैं । नेपाली काँग्रेसका सभापति गगन थापाले सर्लाही क्षेत्र नम्बर ४ को उम्मेदवारीले आफूलाई राजनीतिक रूपमा पूर्णता दिएको बताउनुभएको छ ।  काठमाडौंको मैतीदेवीस्थित मतदान केन्द्रमा आफ्नो मताधिकार प्रयोग गरेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै थापाले मधेसको बसाइले आफ्नो दृष्टिकोण र सोच्ने तरिका नै बदलिदिएको बताउनुभएको हो ।

विगतका निर्वाचनहरूमा आफै उम्मेदवार हुँदा आफैलाई मत हाल्ने गरेको स्मरण गर्दै उहाँले यसपटक भने युवा उम्मेदवार सचिन तिमल्सिनालाई मतदान गर्न पाउँदा निकै खुशी लागेको बताउनुभयो । आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ को अवस्थाबारे जानकारी दिँदै थापाले दुईवटा मतदान केन्द्रमा सामान्य तनाव भएर केहीबेर मतदान रोकिए पनि सर्वदलीय छलफलपछि पुनः सुचारु भएको जानकारी दिनुभयो । उहाँले विपक्षीहरूले उक्साउने कोशिस गरे पनि काँग्रेसले संयमता अपनाएको र कुनैपनि अप्रिय घटना हुन नदिने स्पष्ट पार्नुभयो ।

विगतमा मधेसलाई बाहिरबाट मात्रै हेरेको र त्यहाँको वास्तविक अवस्था थाहा नपाएकोमा एक राजनीतिज्ञको रूपमा आफूलाई लज्जा महशुस भएको उहाँले स्वीकार गर्नुभयो । सर्लाही–४ को अनुभवले आफूलाई देश हेर्ने नयाँ दृष्टिकोण दिएको र राजनीतिक रूपमा पूर्ण बनाएको उहाँको भनाइ छ ।