समाचार | Page 13 of 5895 | ईमाउण्टेन समाचार

Our Network

फागुन २९ २०८२, शनिबार

समाचार

इरानको आक्रमण : दुबईमा ज्यान गुमाउने नेपालीको पहिचान खुल्यो

काठमाडौं । इरानको आक्रमणमा परेर संयुक्त अरब इमिरेट्सको अबधाबीमा ज्यान गुमाउने नेपालीको पहिचान खुलेको छ ।

अबुधाबीस्थित नेपाली दूतावासका अनुसार विमानस्थलमा सेक्युरिटी गार्डको रुपमा मिडल इस्ट कम्पनीमा कार्यरत दिवस श्रेष्ठको ज्यान गएको हो । यूएईको पराराष्ट्र मन्त्रालयले नेपाली नागरिकको निधन भएको आधिकारिक जानकारी दिएको दूतावासको विज्ञप्तिमा उल्लेख छ । दिवस ड्रोन निष्क्रिय पार्ने क्रममा घटनामा पर्नुभएको दूतावासले जनाएको छ ।

गोर्खा घर हुनुभएका २९ वर्षीय दिवसको निधनप्रति दूतावासले गहिरो दुःख व्यक्त गरेको छ । श्रेष्ठको पार्थिव शरीर यथाशीघ्र स्वदेश फिर्ता लैजाने सम्पूर्ण कार्यमा सहजीकरण दूतावासले गरिरहेको जानकारीसमेत गराएको छ ।

दूतावासले संवेदनशील परिस्थितिमा यूएइमा रहेका सम्पूर्ण नेपाली नागरिकलाई संयमता अपनाउन र सुरक्षित स्थानमा रहन अनुरोध गरेको छ । दूतावासले यूएई सरकारले जारी गरेका सुरक्षा सम्बन्धी सम्पूर्ण मापदण्ड पालना गर्नसमेत विशेष अनुरोध गरेको छ ।

निर्वाचनमा निर्धक्क भएर मतदान गर्न प्रधानमन्त्री कार्कीको अपिल, भ्रामक समाचार फैलाउनेलाई कारबाही गर्ने चेतावनी

काठमाडाैं । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते हुन गइरहेको निर्वाचनमा सक्रिय रूपमा सहभागी भई मतदान गर्न अपिल गर्नुभएको छ । सोमवार देशवासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले निर्वाचनमा सक्रिय रूपमा सहभागी भई मतदान गर्न अपिल गर्नुभएको हो ।

देशलाई राजनीतिक स्थायित्व र समृद्धिको मार्गमा अघि बढाउन यो निर्वाचन ऐतिहासिक महत्वको रहेको बताउँदै उहाँले मतदानलाई केवल चुनाव चिन्हमा छाप लगाउने प्रक्रिया मात्र नभई आफ्नो र सन्ततिको भविष्य निर्माण गर्ने महत्वपूर्ण निर्णय भएको बताउनु भयो । प्रधानमन्त्री कार्कीले ‘जेन–जी’ आन्दोलनपछिको जटिल, संवेदनशील र चुनौतीपूर्ण परिस्थितिलाई स्मरण गर्नुभयो । सडकमा देखिएको युवाहरूको आक्रोश र देशको भविष्यप्रतिको अन्योललाई चिर्दै हिंसात्मक मोडबाट शान्तिपूर्ण निकासतर्फ देशलाई डोर्याउन वर्तमान सरकार सफल भएको उहाँले दाबी गर्नुभयो ।

निर्वाचनको तयारीका सन्दर्भमा प्रधानमन्त्रीले निर्वाचन आयोग, सुरक्षा निकाय र सम्पूर्ण राष्ट्रसेवक कर्मचारीको भुमिकाको प्रशंसा गर्नुभयो । छोटो समयमै निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको र चारवटै सुरक्षा संयन्त्रलाई पूर्ण रूपमा परिचालन गरिएको जानकारी दिँदै उहाँले भयरहित वातावरणमा चुनाव सम्पन्न हुने विश्वास दिलाउनुभयो। साथै, मौन अवधिमा पूर्ण अनुशासन पालना

गर्न र संयमित ढंगले प्रचारप्रसार गर्न सम्पूर्ण राजनीतिक दल र उम्मेदवारहरूलाई उहाँले आग्रह गर्नुभएको छ ।
प्रधानमन्त्री कार्कीले सामाजिक सञ्जाल र आमसञ्चारका माध्यमबाट तथ्यहीन, कृत्रिम र भ्रामक सामग्री फैलाएर निर्वाचनको वातावरण धमिल्याउन खोज्ने तत्वहरूलाई सरकारले कडा निगरानीमा राखेको चेतावनी दिनुभएको छ । मुलुकमा कुनैपनि प्रकारको दण्डहीनतालाई प्रश्रय नदिइने र कानूनबमोजिम कडा कारबाही गर्न सरकार पछि नहट्ने उहाँको दृढ भनाइ छ ।

ज्येष्ठ नागरिक र अपाङ्गता भएकाले मतदान गर्न लाइन बस्नु नपर्ने

काठमाडाैं । निर्वाचन आयोगले मतदान केन्द्रलाई महिला, ज्येष्ठ नागरिक तथा अपाङ्गता मैत्री बनाउने गरी आवश्यक प्रवन्ध मिलाएको बताएको छ । आयोगले यही फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा अशक्त, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, गर्भवती, सुत्केरी लगायतले सहज मतदान गर्ने गरि व्यवस्थापन गरिएको जनाएको हो ।

आयुक्त डाक्टर जानकीकुमारी तुलाधरले मतदान गर्नबाट कसैलाई पनि बन्चित हुन नपर्ने गरि आयोगले सम्पूर्ण व्यवस्थापन गरेको जानकारी दिनुभयो ।

आयुक्त तुलाधरले आममतदातालाई सहज ढंगले मतदान गर्ने व्यवस्था मिलाउने सवालमा आयोगले कुनै कसुर बाँकी नराख्ने स्पष्ट पार्नुभयो ।

निर्वाचन देश जलाउने र बनाउने बीचको जनमत सङ्ग्रह : अध्यक्ष ओली

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचन देश जलाउने र देश बनाउने शक्तिहरू बीचको जनमत सङ्ग्रह भएको बताउनुभएको छ । झापा निर्वाचन क्षेत्र नम्बर ५ का मतदाताहरुसँगको कुराकानीमा उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले निर्वाचनले देशलाई समृद्धिको दिशामा लैजाने उम्मेदवार छान्नुपर्नेमा जोड दिनुभयो । उहाँले एमालेलाई बच्चादेखि ज्येष्ठ नागरिकसम्मको ख्याल गर्ने पार्टीको रूपमा चित्रण गर्दै शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासमा एमालेको विकल्प नभएको दाबी गर्नुभयो । निर्वाचनले देशको रक्षा गर्ने र विकासको पाटो साट्ने अवसर प्रदान गरेको उहाँको भनाइ छ ।

निर्वाचन केवल प्रतिनिधि छान्ने प्रक्रिया मात्र नभई राष्ट्रको भविष्य तय गर्ने निर्णायक मोड भएको बताउनुभयो । सुशासन र समृद्धिका लागि एमालेको जित अनिवार्य रहेको उहाँको जिकिर छ ।

मुलुकलाई अघि बढाउन सबै दलहरुबीच सहकार्य आवश्यक : सभापति थापा

काठमाडाैं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले आफ्नो सरकारको नेतृत्व पाए आगामी ५ वर्ष मुलुकको सुशासन र विकासका लागि सदुपयोग गर्ने बताउनुभएको छ ।

काठमाडौंमा आयोजित पार्टीको चुनावी सभामा बोल्दै उहाँले आगामी ५ वर्षको अवधि मुलुकलाई विकास र सुशासनमा परिणाम दिने गरी हरेक क्षणको सदुपयोग गर्ने प्रतिज्ञासहित अघि बढेको जिकिर गर्नुभएको हो ।

सभापति थापाले विगत केही समय यता सबै दलहरु सरकार बनाउने र टिकाउने धन्दामा लागेकाले अब परिणाम आउने गरी काम गर्नुपर्ने बेला आएको बताउनुभयो ।

सभापति थापाले मुलुकलाई अघि बढाउन सबै दलहरुबीच सहकार्य गरेर अघि बढ्नुपर्ने अवस्था रहेको पनि स्पष्ट पार्नुभयो ।

मंगलबार दुर्लभ खग्रास चन्द्रग्रहण लाग्ने

काठमाडौं । फागुन १९ गते मङ्गलबार साँझ नेपालका विभिन्न भागबाट खण्डग्रास चन्द्रग्रहण देखिने भएको छ । यो ग्रहण विशेष किसिमको रहने छ किनभने चन्द्रमा उदाउँदा नै ग्रहण लागेको अवस्थामा चन्द्रमा उदाउने भएकोले यो ग्रहणलाई दुर्लभ मानिएको वाल्मीकि क्याम्पसका वरिष्ठ खगोलविद् प्राडा जयन्त आचार्य बताउनुहुन्छ ।

आचार्यका अनुसार काठमाडौँमा साँझ ६:०४ बजे चन्द्रमाको उदय हुने छ । चन्द्रमा क्षितिजबाट माथि आउँदै गर्दा यसको आधाभन्दा धेरै भाग पृथ्वीको कालो छायाले ढाकिएको हुने छ । यो खगोलीय घटना काठमाडौँबाट करिब एक घण्टासम्म मात्र स्पष्ट रूपमा देख्न सकिने छ । साँझ ७:०४ बजेपछि चन्द्रमा बिस्तारै पृथ्वीको मुख्य छायाबाट बाहिर निस्कने छ ।

चन्द्रग्रहण अवलोकनका लागि कुनै विशेष उपकरण वा चस्माको आवश्यकता पर्दैन । सूर्यग्रहण जस्तो यसले आँखालाई असर नगर्ने हुनाले नाङ्गो आँखाले खुला ठाउँबाट यसलाई स्पष्ट र सुरक्षित रूपमा हेर्न सकिने उहाँ बताउनुहुन्छ । नेपालबाट यो ग्रहणपछि अब विसं २०८४ मा मात्र खण्डग्रास सूर्यग्रहण देखिने उहाँले बताउनुभएको छ ।

 

पहाडी जिल्लामा आज हर्षोल्लासका साथ फागु पूर्णिमा मनाइँदै

काठमाडौं  । रंगहरुको पर्व होली अर्थात् फागु पूर्णिमा आज काठमाडौं उपत्यकासहित पहाडी तथा हिमाली जिल्लाहरुमा हर्षोल्लासका साथ मनाइँदै छ। फागु अर्थात् होलीको अवसरमा सरकारले आज पहाडी जिल्लाहरुमा सार्वजनिक बिदा दिएको छ।

हरेक वर्ष फाल्गुण शुक्ल पूर्णिमाका दिन पहाडी तथा हिमाली जिल्लामा तथा त्यसको भोलिपल्ट तराई र भित्री मधेशका जिल्लाहरूमा होली पर्व मनाउने परम्परा छ। असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको र दुराचारमाथि सदाचारको विजयको प्रतीकका रूपमा यो पर्व मनाइन्छ। यस दिन आपसी रिसराग बिर्सेर आफन्तजन तथा साथीसङ्गीसँग अबिर र रङ दलेर रमाइलो गर्ने चलन छ।

होलीलाई मेलमिलाप र सद्भावनाको सन्देश दिने पर्वका रूपमा लिइन्छ। विभिन्न रङ्गीचङ्गी कपडाले सजाइएको चीर ठड्याएपछि सुरु हुने पर्व पूर्णिमाको राति चीर दाह गरेपछि समापन हुने गर्दछ।

पर्वका अवसरमा रामचन्द्र पौडेल, सुशीला कार्की लगायत राजनीतिक दलका शीर्ष नेताहरूले शुभकामना सन्देश दिँदै मर्यादित र सभ्य तरिकाले होली मनाउन आग्रह गरेका छन्।

प्रहरी प्रशासनले होलीका नाममा उश्रृङ्खल गतिविधि नगर्न, जथाभावी रङ तथा अबिर नदल्न र सामाजिक सद्भाव कायम राख्न सबैलाई सचेत गराएको छ। नियम उल्लङ्घन गरे कानुनअनुसार कारबाही गरिने चेतावनी पनि दिइएको छ।

 

फागुको सुगन्ध : रङ्गीन स्पन्दनको एउटा उत्सव (फोटो फिचर)

काठमाडाैं । जब शिशिरको ठिहीलाई बिदा गर्दै वसन्तको मन्द समीरले पालुवाहरूमा सुस्तरी काउकुती लगाउन थाल्छ, तब धर्तीले आफ्नो काँचुली फेरेको आभाष हुन्छ । प्रकृतिले रङ्गहरूको उत्सव मनाइरहँदा मानिसको मन कसरी अछुतो रहन सक्छ र ? काठमाडौंका साँघुरा गल्लीदेखि फराकिला चोकहरूसम्म अहिले एउटै लय गुञ्जिरहेको छ— ‘फागुको आगमन’ । यो केवल रङ्गहरूको पर्व मात्र होइन, यो त सम्बन्धहरूमा नयाँ रङ्ग भर्ने, मनका मयल पखाल्ने र आत्मीयताको अबिर दल्ने एउटा अलौकिक अवसर हो । यी तस्बिरहरूले त्यही रङ्गीन उल्लासको पूर्वसन्ध्यामा कोरिएका केही जीवन्त रेखाहरूलाई कैद गरेका छन् । काठमाडौंका भित्री गल्लीदेखि शहरका चोकहरूसम्म अहिले रातो, पहेँलो र नीलो रङको आभाले सजिएका छन् । यी तस्बिरहरू केवल व्यापारका दृश्य होइनन्, यी त हाम्रा सांस्कृतिक धरोहर र बाल्यकालका यादहरू ब्युँझाउने जीवन्त रङहरू हुन् ।

यी प्लास्टिकका पिचकारी मात्र होइनन्, यी त बाल्यकालका त्यो रहर हुन् जसले रङ्गीन पानीको फोहोरासँगै आकाश छुन खोज्छन् । बाटामा सजिएका यी विविध आकारका पिचकारीहरूले होलीको हुलमुल र रमाइलोको सङ्केत गरिरहेका छन् । एउटा ठूलो झोलामा थुप्रिएको यो गुलाबी रङले भनिरहेको छ— ‘म तयार छु, कसैको गालामा मुस्कान बनेर पोखिन ।’ यो रङ मात्र होइन, यो त सद्भाव र प्रेमको प्रतीक हो । जसले मनका सबै तुषहरू पखाल्ने सामथ्र्य राख्छ । रातो, पहेँलो, नीलो र हरियो—साना–साना पोकाहरूमा कैद भएका यी रङहरू मानौँ धर्तीमा ओर्लिएका इन्द्रेणी हुन् । एउटा रातो थालीमा सजिएका यी रङहरूले मानिसलाई जात, धर्म र वर्णभन्दा माथि उठेर ‘मानवताको रङ’ मा रङ्गिन निमन्त्रणा दिइरहेका छन् । प्राचीन शहरका गल्लीहरूमा सजिएका यी पसलहरू अहिले फागुमय भएका छन् ।

झुन्डिएका पिचकारी, थुप्रिएका रङ र खुशी साट्न तयार ग्राहकहरू—यी दृश्यले हाम्रो बजारको जीवन्तता र चाडपर्वप्रतिको अगाध आस्था झल्काउँछन् । सेतो टिसर्टले रङको स्पर्श पर्खिरहेको छ, जसरी एउटा खाली क्यानभासले कलाकारको कुची पर्खिन्छ । रङ्गहरूका यी चाङहरू मात्र थुप्रा होइनन्, यिनमा त मानवीय संवेदनाका विविध आयामहरू लुकेका छन् । रातोमा प्रेम छ, पहेंलोमा विश्वास र गुलाबीमा मृदुता । फुटपाथमा सजिएका यी सामग्रीहरूले भनिरहेका छन्—शहर अब उत्सवको व्यग्र प्रतीक्षामा छ । जहाँ हरेक रङ्गले आफ्नो अस्तित्वको एउटा नयाँ कथा सुनाउन खोजिरहेको छ । ‘आयो होली’ लेखिएका यी टिसर्टहरूले सडकमा एउटा नयाँ ऊर्जा भर्नेछन्, जहाँ हरेक दाग ‘राम्रो’ हुनेछ । यी साना लोलाका पोकाहरूभित्र लुकेको छ—एउटा अवोध बाल्यकाल र साथीभाइसँगको जिस्क्याइँ ।

तस्बिरमा एउटा बाबुले छोरालाई रङको पोका देखाउँदै गर्दा, उनले केवल रङ मात्र बेचिरहेका छैनन्, बरु आफ्नो संस्कार र खुशी हुने बहाना अर्को पुस्तालाई हस्तान्तरण गर्दैछन् । यो तस्बिरले सम्बन्धको गाढापन र चाडपर्वको वास्तविक अर्थ बुझाउँछ । रङहरूले मानिसको जीवनलाई जीवन्त बनाउँछन् । जसरी यी तस्बिरहरूमा देखिएका रङहरूले बजारलाई सुन्दर बनाएका छन्, त्यसरी नै यो होलीले तपाईंको जीवनमा पनि सुख, शान्ति र समृद्धिको रङ भरिनेछ । रिस, राग र द्वेषलाई अबिरसँगै उडाएर आपसी प्रेम र भाइचाराको रङमा रङ्गिन प्रेरित गर्नेछ । जीवन आफैँमा एउटा इन्द्रेणी हो, जहाँ सुख र दुःखका अनेकौँ रङ्गहरू समाहित हुन्छन् । फागुले हामीलाई सिकाउँछ कि— रङ्गहरू तब मात्र सुन्दर देखिन्छन्, जब तिनीहरू एक–अर्कासँग मिसिन्छन् । हाम्रो समाज पनि यस्तै रङ्गीन विविधताको संगम हो । मनमा रहेका वैमनश्यताका काला रङ्गहरूलाई पखालेर, रिस र द्वेषलाई अबिरसँगै उडाएर, प्रेम र सद्भावको गाढा रङ्गमा रङ्गिने प्रतिज्ञा गरौँ ।

तस्बिर : अनुप प्रधान/न्युज एजेन्सी नेपाल

निर्वाचनकाे दिन सञ्चारकर्मीहरूका लागि छुट्टै सवारी पास नचाहिने

काठमाडाैं । निर्वाचनको दिन सञ्चारकर्मीहरूको आवागमनलाई सहज बनाउन निर्वाचन आयोगले छुट्टै पास वितरण नगर्ने निर्णय गरेको छ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले सूचना तथा प्रसारण विभागले जारी गरेको परिचयपत्रकै आधारमा पत्रकारहरूले देशभर आवागमन गर्न पाउने जानकारी दिनुभएको हो ।

उहाँले २०७९ सालको निर्वाचनमा विभाग र आयोगबीच केही तिक्तता भएपनि अहिले ०८२ सालमा राम्रो समन्वय रहेको बताउनुभयो । साथै, मतदान स्थलको तीन सय मिटर वरिपरि कुनै पनि दलको प्रचार सामग्री भएमा त्यसलाई हटाउन र आचारसंहिता पालनामा सघाउन उहाँले पत्रकारहरूलाई आग्रह गर्नुभयो ।

आयुक्त भण्डारीले भन्नुभयो, ‘सञ्चार क्षेत्रमा काम गर्ने व्यक्तिहरूले निर्वाचनमा आवागमन गर्दा आयोगबाट छुट्टै पास लिनुपर्दैन । प्रेस काउन्सिलले जारी गरेको पास नै मान्य हुनेछ । ‘आवागमनमा कतै समस्या पर्यो भने आयोगमा तुरुन्त खबर गर्नुहोस्, हामी सहजीकरण गर्छौं ।’

पत्रकारहरु आफै आचारसंहिताको नमूना बनेर देखिनुपर्ने र त्यसले अरूलाई पनि अनुशासनको दायरामा ल्याउने उहाँको विश्वास छ ।

आचारसंहिता उल्लंघनमा शून्य सहनशीलता : उम्मेदवारी खारेज र ६ वर्षको प्रतिबन्धको चेतावनी

काठमाडाैं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता पालनामा शुन्य सहनशीलता’ को नीति अपनाउने चेतावनी दिएको छ ।
काठमाडौंमा आयोजित एक कार्यक्रममा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले शून्य समयमा नगद चलखेल वा आचारसंहिताको उल्लंघन भए उम्मेदवार विजयी भइसकेको अवस्थामा पनि उम्मेदवारी खारेज गरिने स्पष्ट पार्नुभएको हो ।

हालसम्म देशभरबाट आचारसंहिता उल्लंघनका करिव एक हजार एक सय उजुरी परेको बताउनुभयो । तीमध्ये धेरैको स्थानीय स्तरमै फर्स्याेट भइसकेको उहाँले बताउनुभयो । आयोगले २५–३० वटा गम्भीर प्रकृतिका उजुरीमाथि केन्द्रीय स्तरबाटै कारबाहीको निर्णय गरिसकेको र केही विषयहरू अदालतमा समेत पुगेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘यदि कसैले रकम लेनदेन गरेको वा निर्वाचन सामग्री र रकमको झोला एकै ठाउँमा बोकेर हिँडेको प्रमाण भेटिएमा र त्यो बरामद भएमा उम्मेदवारी खारेज मात्र होइन, अर्को ६ वर्षसम्म निर्वाचनमा सहभागी हुन नपाउने गरी प्रतिवन्ध लगाइनेछ । एउटा राजनीतिक प्राणीलाई राजनीतिबाट ६ वर्ष वञ्चित गरिनु सबैभन्दा  ठूलो सजाय हो ।’

निर्वाचन आयोग कुनैपनि दबाबमा नपरी कानून बमोजिम कार्य सम्पादन गर्न दृढ रहेको उहाँको दाबी छ ।

निर्वाचनलाई निष्पक्ष रुपमा सम्पन्न गराउन सम्पूर्ण शक्ति परिचालन : मन्त्री इङनाम

काठमाडाैं । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री डा. कुमार इङनामले सरकारले निर्वाचनलाई निष्पक्ष रुपमा सम्पन्न गराउनका लागि सम्पूर्ण शक्ति परिचालन गरिरहेको बताउनुभएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सरकारले आफूले पाएको म्यान्डेट अनुसार निष्पक्ष रुपमा निर्वाचन सम्पन्न गराउनका लागि सतप्रतिशत प्रयास गरिरहेको बताउनुभएको हो ।

मन्त्री इङनामले सरकारले भ्रष्टाचार नियन्त्रण गर्ने काममा भने अपेक्षित उपलब्धि हासिल गर्न नसकेको स्वीकार समेत गर्नुभयो । भ्रष्टाचार नियन्त्रणका लागि सफलता हासिल गर्न नसक्नुमा विभिन्न पक्षहरु रहेको उल्लेख गर्दै मन्त्री इङनामले त्यसले विश्लेषण गरेर बस्ने अवस्था अहिले नभएको पनि बताउनुभयो ।

मन्त्री इङनामले सरकारले निर्वाचनलाई प्रभावित पार्ने खालको कुनै पनि गतिविधिलाई निस्तेज पार्ने काम गरिरहेको जिकिर पनि गर्नुभयो ।

प्रतिनिधि सभा निर्वाचन : काठमाडाैंमा कति मतदान स्थल ? कति मतदान केन्द्र ?

काठमाडौं। यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सबैभन्दा धेरै १० वटा निर्वाचन क्षेत्र रहेको काठमाडौँमा ३२० मतदान स्थल र ८१७ मतदान केन्द्र कायम गरिएको जिल्ला निर्वाचन कार्यालय काठमाडौँले जनाएको छ ।

दशवटा निर्वाचन क्षेत्रमा तीन लाख ६४ हजार महिला, तीन लाख ४६ हजार ११६ पुरुष, र अन्य सात गरी कूल सात लाख १० हजार ७०८ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय काठमाडौँका सूचना अधिकारी सृजना रायमाझीले जानकारी दिनुभयो ।

काठमाडौँ, निर्वाचन क्षेत्र नं.१ मा २२ वटा मतदानस्थल र मतदान केन्द्र ५७ छन् । यहाँ २५ हजार २५२ महिला र २३ हजार २३७ पुरुष गरी कुल ४८ हजार ८४९ मतदाता रहेका छन् ।

काठमाडौँ क्षेत्र नं. २ मा ४० वटा मतदानस्थल र मतदान केन्द्र १०० छन् । यस क्षेत्रमा पुरुष मतदाता ४५ हजार ३१५ र महिला मतदाता ४३ हजार ३९३ गरी कुल मतदाता ८८ हजार ७०८ रहेको पनि उहाँले सुनाउनुभयो ।

काठमाडौँ क्षेत्र नं. ३ मा २९ मतदानस्थल र मतदान केन्द्र ७२ छन् । यस क्षेत्रमा महिला मतदाता ३२ हजार ९२३ र पुरुष मतदाता ३१ हजार ५५६ गरी कुल ६४ हजार ४७९ मतदाता रहेका छन् ।

काठमाडौँ क्षेत्र नं. ४ मा ३३ मतदानस्थल र ८८ मतदान केन्द्र छन् । यहाँ ३९ हजार ५९९ महिला र ३६ हजार ५४२ पुरुष गरी ७६ हजार १४१ मतदाता रहेका छन् ।

काठमाडौँ क्षेत्र नं. ५ मा मतदानस्थल ३१ र मतदान केन्द्र ९० छन् । यहाँ ४० हजार ८३२ महिला, ३७ हजार २७८ पुरुष र अन्य चार गरी कुल मतदाता ७८ हजार ११४ रहेका छन् ।

काठमाडौँ क्षेत्र नं. ६ मा मतदानस्थल ३२ र मतदान केन्द्र ७९ छन् । यहाँ महिला ३४ हजार ९५६, पुरुष ३२ हजार ८०२ र अन्य एक गरी कुल मतदाता ६७ हजार ७५९ छन् ।

काठमाडौँ क्षेत्र नं. ७ मा मतदानस्थल २९, मतदान केन्द्र ७८ छन् । यहाँ महिला ३४ हजार ७३८ र पुरुष ३२ हजार ६७३ गरी कुल ६७ हजार ४११ मतदाता रहेका छन् ।

काठमाडौँ क्षेत्र नं. ८ मा मतदान स्थल २३ र मतदान केन्द्र ६५ छन् । यहाँ महिला २९ हजार ८९८ र पुरुष २७ हजार ९१३ गरी कुल ५७ हजार ८११ मतदाता रहेका छन् ।

काठमाडौँ क्षेत्र नं. ९ मा ३४ मतदानस्थल र मतदान केन्द्र ९० छन् । यहाँ महिला ४० हजार २७८ र पुरुष ३८ हजार २१७ गरी कुल ७८ हजार ४९५ छन् ।

काठमाडौँ क्षेत्र नं. १० मा मतदानस्थल ४७ र मतदान केन्द्र ९८ रहेको छ । यहाँ महिला ४२ हजार ७१६, पुरुष ४० हजार ५८३ र अन्य दुई गरी कुल मतदाता ८३ हजार ३०१ छन् ।

निर्वाचनको दिन अत्यावश्यक सेवा र विशेष अवस्थाका मतदातालाई सवारी पास नचाहिने

काठमाडाैं । निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको मतदानका दिन अत्यावश्यक सेवा र विशेष परिस्थितिमा रहेका मतदाताहरूका लागि सवारी पास आवश्यक नपर्ने गरी विशेष व्यवस्था गरेको छ । आयोगको फागुन १६ गते बसेको बैठकले मतदानको दिन सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाइए पनि निश्चित क्षेत्र र व्यक्तिहरूका लागि सवारी आवागमनमा सहजता प्रदान गर्ने निर्णय गरेको हो ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार मतदानको दिन अन्तर्राष्ट्रिय र आन्तरिक हवाई उडान सुचारु रहने सन्दर्भमा विमानस्थलसम्म पुग्नुपर्ने यात्रुहरूको सुविधा र निर्वाचन परिचालनमा खटिने सवारी साधनको संवेदनशीलतालाई मध्यनजर गर्दै यस्तो निर्णय लिइएको हो ।

आयोगले गरेको सिफारिसअनुसार दमकल, एम्बुलेन्स, शव वाहन, खानेपानीका ट्याङ्कर, दुध, फलफूल, तरकारी, माछा–मासु र पेट्रोलियम पदार्थ बोकेका सवारी साधनहरूलाई सवारी पास बिना नै सञ्चालन हुन दिइनेछ । त्यसैगरी दूरसञ्चार, खानेपानी, विद्युत, ढल मर्मत र अस्पताल सेवाका सवारी साधनहरूका साथै चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले अस्पताल आउजाउ गर्न प्रयोग गर्ने सवारी साधनलाई पनि पासको अनिवार्यता गरिएको छैन ।

मतदान प्रक्रियालाई समावेशी र पहुँचयोग्य बनाउन आयोगले हिँडडुल गर्न नसक्ने, शारीरिक रूपले अशक्त वा अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, गर्भवती, सुत्केरी र साथमा बच्चा बोकेका महिलाहरूका लागि विशेष सहुलियत दिएको छ । यस्ता मतदाता र उनीहरूको सहयोगका लागि खटिने एक जना सहयोगी बोकेको सवारी साधनलाई मतदान केन्द्रसम्म पुग्न र फर्कन सवारी पास नचाहिने व्यवस्था मिलाइएको प्रवक्ता भट्टराईले जानकारी दिनुभयो । यसका साथै क्रियापुत्री बोकेका सवारी साधन र नम्बर प्लेटमा ‘सीडी’ उल्लेख भएका कुटनीतिक नियोगका सवारी साधनहरूलाई पनि बिना पास सञ्चालनको अनुमति दिइएको छ ।

सञ्चार क्षेत्र र अनुगमनका लागि खटिने निकायहरूका हकमा पनि आयोगले खुकुलो नीति लिएको छ । आयोगबाट जारी भएको पर्यवेक्षक परिचयपत्र वाहकहरूले तोकिएको स्थानमा प्रयोग गर्ने सवारी साधन, राष्ट्रिय मानवअधिकार आयोगको अनुगमन टोली र वैधानिक प्रेस पास भएका सञ्चारकर्मीहरूका सवारी साधनलाई पनि पास आवश्यक नपर्ने गरी सरकारलाई सिफारिस गरिएको छ । सञ्चारकर्मीहरूको हकमा समाचार सङ्कलनको प्रयोजनका लागि वैधानिक परिचयपत्रका आधारमा यात्रा गर्न सहजीकरण गरिने आयोगको भनाइ छ ।

आयोगले सवारी साधन सञ्चालनमा लगाइएको यो रोक फागुन २० गते राति १२ बजेदेखि २१ गते साँझ मतदान सम्पन्न नभएसम्मका लागि मात्र लागू हुने स्पष्ट पारेको छ । प्रवक्ता भट्टराईले अत्यावश्यक आवश्यकताका लागि उपलब्ध गराइएको यो प्रावधानको दुरुपयोग नगर्न विशेष अनुरोध गर्दै सम्बन्धित व्यक्तिले मात्रै यस्तो सुविधा प्रयोग गर्नुपर्नेमा जोड दिनुभएको छ ।

उहाँले निर्वाचनलाई शान्तिपूर्ण र मर्यादित बनाउन सबै पक्षको सहयोगको अपेक्षा गर्दै अत्यावश्यक बाहेकका अन्य प्रयोजनका लागि सवारी पास चाहिने व्यक्ति वा संस्थाहरूले नियमानुसारको प्रक्रिया पूरा गरी पास लिनुपर्ने बताउनुभयो ।

काठमाडौं उपत्यकाको हकमा सवारी पास वितरणका लागि आयोग परिसरमा गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय काठमाडौँ र आयोगका प्रतिनिधिहरू सम्मिलित एउटा छुट्टै डेस्क खडा गरी सेवा प्रवाह भइरहेको छ । उपत्यका बाहिरका जिल्लाहरूको हकमा भने सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीबाट कानुन बमोजिमका कागजात पेश गरी पास लिन सकिने व्यवस्था मिलाइएको उहाँले बताउनुभयो । आयोगले मतदानको दिन सहजताका लागि गरिएको यो व्यवस्थाबाट ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र अत्यावश्यक सेवाग्राही लाभान्वित हुने विश्वास व्यक्त गरेको छ ।

अध्यक्ष ओलीद्वारा देश निर्माणका लागि रचनात्मक सल्लाह र सुझाव माग

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा निर्वाचन क्षेत्र नम्बर ५ मा चुनावी घरदैलोका क्रममा धिमाल सांस्कृतिक संग्रहालयको अवलोकन गर्नुभएको छ ।

अवलोकनका क्रममा स्थानीय बासिन्दा र संग्रहालय व्यवस्थापन समितिसँग कुरा गर्दै ओलीले संग्रहालयको विकासका लागि आफ्नो प्रतिवद्धता व्यक्त गर्नुभयो । ओलीले आफू सरकारमा हुँदा संग्रहालयका लागि विनियोजन गरेको बजेट वर्तमान सरकारले कटौती गरेकोमा असन्तुष्टि व्यक्त गर्नुभयो ।

अध्यक्ष ओलीले एमाले विकासप्रेमी पार्टी भएको दाबी गर्दै देश निर्माणका लागि सबै पक्षको रचनात्मक सल्लाह र सुझावको खाँचो रहेको औंल्याउनुभयो । उहाँले धिमाल जातिको मौलिक संस्कृति संरक्षणमा संग्रहालयले खेल्ने भूमिका महत्वपूर्ण हुने बताउँदै यसको स्तरोन्नतिका लागि आफू सधैं तत्पर रहने बताउनुभयो ।

घरदैलो मतदाता शिक्षा अभियान आज सकिँदै

काठमाडाैं । फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा निर्वाचनका लागि सञ्चालन गरिएको घरदैलो मतदाता शिक्षा अभियान आईतवार (आज)देखि सकिँदैछ । निर्वाचन आयोगले ७ सय ५३ वटै स्थानीय तहमा स्वास्थ्य स्वयंसेविकाहरुमार्फत फागुन ३ गतेदेखि घरदैलो मतदाता शिक्षा अभियान सञ्चालन गरेको थियो ।

निर्वाचन आयुक्त डाक्टर जानकीकुमारी तुलाधरले मतदाता शिक्षा प्रभावकारी रहेको बताउनुभयो । आवश्यकताअनुसार स्वयंसेविकाहरूले स्थानीय मातृभाषामा नै मतदाता शिक्षा दिइएको पनि उहाँले जानकारी दिनुभयो ।

आयोगले मतदाता शिक्षाको प्रभावकारीता अनुगमनका लागि ७ सय ५३ वटै स्थानीय तहमा अनुगमनकर्ताहरू खटाएको थियो ।

मलाई भोट दिएर पछुताउनु पर्दैन : अध्यक्ष लिङदेन

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले आफ्नो पार्टी कुनैपनि शक्तिसँग गठबन्धन नगरी एक्लै चुनावी मैदानमा उत्रिएको स्पष्ट पार्नुभएको छ । उहाँले घोषित वा अघोषित रूपमा कुनैपनि दलसँग तालमेल नगरेको दाबी गर्दै राप्रपाको शक्तिमाथि भरोसा गर्न आग्रह गर्नुभएको हो ।

झापा निर्वाचन क्षेत्र नम्बर ३ मा आफ्नो चुनावी अभियानलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । अध्यक्ष लिङदेनले विशेष गरी नेकपा (एमाले) का कार्यकर्ता र शुभचिन्तकहरूलाई विगतका चुनावहरूमा एमालेका मतदाताले आफूलाई मतदान गरेर जिताएको स्मरण गर्दै त्यसप्रति कृतज्ञता व्यक्त गर्नुभयो ।

लिङदेनले एमालेका मतदाताहरूलाई प्रश्न गर्दै ‘सूर्य चिन्हवाला मान्छेले हलोमा भोट दिएर अपराध गरेँ भन्ने लाग्छ ? भन्दै प्रश्न गर्नुभयो । कुनै बेला एमाले भएर सूर्यमा भोट दिएर पछुताएको भएपनि राजेन्द्र लिङदेनलाई भोट दिएर पछुताउनु नपर्ने बताउनुभयो । आफ्नो कार्यकालको समीक्षा गर्दै उहाँले आफूले भ्रष्टाचार नगरेको र काम गर्ने सिलसिलामा कुनैपनि प्रकारको पक्षपात नगरेको दाबी गर्नुभयो । उहाँले आफू कुनै एउटा जात, धर्म वा पक्षको मात्र नभई समग्र देशहितको पक्षमा संसदमा उभिएको बताउनुभयो ।

उहाँले देशमा शान्ति, स्थिरता र एकता कायम गर्न राप्रपा बलियो बन्नुपर्ने र आफू पुनः संसदमा पुग्नु अनिवार्य रहेको जिकिर गर्नुभयो । उहाँले मतदाताहरूलाई आफ्नो विवेक प्रयोग गरेर देशको भविष्यका लागि मतदान गर्न आग्रह गर्नुभयो ।