समाचार | ईमाउण्टेन समाचार

Our Network

फागुन २८ २०८२, शुक्रबार

समाचार

लाेकतन्त्र, प्रमाणित डेटा र संस्थागत पारदर्शिता

डिजिटल लोकतन्त्रको अवसर र एल्गोरिदमिकको चुनौती एकै साथ भित्रिएको छ । टेक्नोपोलिटिक्स सामाजिक सञ्जाल प्रयोगकर्तामा मात्र सीमित छैन, छलफलका सबै मञ्चमा फैलिएको छ । अहिलेको निर्वाचनले सामाजिक सञ्जाल, डिजिटल एल्गोरिदम र डेटा प्रवाहले मतदाताको धारणा र जनमत निर्माणमा महत्त्वपूर्ण प्रभाव पारेको विश्लेषण गरिएको छ । अब विश्वासिलो लोकतन्त्रका लागि प्रमाणित डेटा, एआई सहयोगी निगरानी, एकीकृत नियामक प्रयास र संस्थागत पारदर्शिता अनिवार्य भइसकेको छ ।

 

एल्गोरिदम पछिल्लो समय विश्वभर चर्चित शब्द हो । सामाजिक सञ्जालबाट सञ्चार, सूचना आदानप्रदान र लोकप्रियता प्राप्त गर्न एल्गोरिदमको विकास भएको हो । यससँगै नेपालमा सामाजिक सञ्जाल राजनीतिक संवादको प्रमुख माध्यम बनिसकेको छ । भरखरै भएको निर्वाचनले यसको प्रभाव स्पष्ट गरेको छ । फेसबुक, एक्स, टिकटक र रिल इन्स्टाग्रामजस्ता प्लेटफर्महरूले मतदाता, दल र उम्मेदवारबीचको अन्तक्रियालाई तीव्र र प्रत्यक्ष बनाए । यसले लोकतान्त्रिक सहभागिता विस्तार गरेको छ । तर यही संरचनाले गलत सूचना र नियोजित डिजिटल चुनौती पनि थपिएको छ ।

एल्गोरिदमले प्राथमिकता दिने भावनात्मक, विभाजनकारी र सनसनीपूर्ण सन्देशहरू छिटो फैलिन्छन् । यही प्रक्रिया एल्गोरिदमिक प्रबर्द्धन हो । राजनीति र डिजिटल प्रविधिको संयोजन टेक्नोपोलिटिक्स एल्गोरिदमको पछिल्लो रुप हो । यसले लोकतन्त्रलाई सशक्त बनाउन सक्छ । तर नियमन र पारदर्शिता कमजोर भए संरचना लोकतान्त्रिक प्रक्रियाका लागि जोखिम हुन पनि सक्छ । टेक्नोपोलिटिक्सले राजनीति र डिजिटल प्रविधिको संयोजनमार्फत मतदाताका धारणा प्रभावित गर्ने रणनीति अपनाउँछ । एल्गोरिदमिक प्रवर्द्धनले यी सामग्रीलाई प्राथमिकता दिन्छ र तीव्र गतिमा फैलाउँछ जसले सानो वा अप्रमाणित सामग्रीलाई पनि व्यापक प्रभाव दिन सक्षम बनाउँछ ।

टेक्नोपोलिटिक्स र एल्गोरिदमिक प्रवर्धनको संयोजनले डिजिटल प्लेटफर्ममा फैलने चुनौती जटिल बनाएको छ । डिजिटल लोकतन्त्र सुरक्षित राख्न सावधानीपूर्ण नियमन, डेटा विश्लेषण र एल्गोरिदमिक निगरानी अनिवार्य छन् । चुनावको पारदर्शिता र निष्पक्षता सुनिश्चित गर्न डेटा विज्ञान र कृत्रिम बुद्धिमत्ता नभै नहुने चुनावबाट स्पष्ट भइसकेको छ । यसले गलत वा अनावश्यक जानकारी हटाएर निष्पक्ष तथ्याङ्क सुनिश्चित गर्छ र मतदाताको विश्वास बलियो बनाउँछ ।

कृत्रिम बुद्धिमत्तामा आधारित एल्गोरिदमिक पारदर्शिता मोडेलले निर्णय प्रक्रियामा पूर्वाग्रह र गलत प्रवृत्तिहरू पत्ता लगाउन मद्दत गर्छ । ठूलो मात्रामा सामाजिक मिडिया सामग्रीको विश्लेषण, गलत सूचना पहिचान र वर्गीकरणमा एआई प्रयोगले निर्वाचन परिणाम र जनमत निर्माणमा सकारात्मक असर पु¥याएको देखिन्छ । निर्वाचनले नेपालमा डिजिटल प्रविधि र सामाजिक मिडियाको बढ्दो प्रभावसँगै प्रविधि आधारित राजनीति र एल्गोरिदमिक प्रवर्धनले लोकतन्त्रमा नयाँ चुनौती थपेको देखाएको छ ।निर्वाचनकालमा फैलिने गलत कुरा वा गलत सूचनाले मतदाताको धारणा र निर्णय प्रक्रियामा असर पार्छ ।

यद्यपि, आधिकारिक प्रचारप्रसार सामग्री निर्वाचन आयोगले अनुमोदित र नियमन गरेको हुन्छ जसले पार्टी वा उमेदवारको वास्तविक अभियानलाई सार्वजनिक पार्छ । दीर्घकालीनरूपमा डेटा विज्ञान र कृत्रिम बुद्धिमत्तामार्फत बनेका सार्वजनिक ड्यासबोर्ड र खुला डेटा संयन्त्रहरू आयोगको नियन्त्रणमा हुनु पर्छ । अन्य नियामक निकायहरूसँग समन्वयकर्ता र प्रविधि सहयोगीको भूमिकामा अनिवार्य रूपमा संलग्न हुनुपर्ने अवस्थालाई पनि हेर्दै कानुनी र प्राविधिक क्षमतातर्फ सोच्नुपर्ने देखिन्छ ।

प्रविधि लोकतन्त्रको शत्रु होइन । यसको प्रयोगको ढाँचाले नै भविष्य निर्धारण गर्छ । नयाँ निर्वाचन परिणाम, डिजिटल मतदाताको प्रभाव र डेटासञ्चालित पारदर्शिता एवं नियमनको संयोजनले मात्र डिजिटल संरचना लोकतन्त्रको रक्षक बन्न सक्छ ।

सुर्खेतकी इनिसाको सामुहिक बलात्कार पछि हत्यामा संलग्नमाथि कडा कारबाही गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन

काठमाडाैं । सुर्खेत वीरेन्द्रनगरकी १६ वर्षीया इनिसा विकको सामुहिक बलात्कार पछि हत्यामा संलग्नमाथि कडा कारबाही गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन गरिएको छ ।  शुक्रवार काठमाडौंको माईतीघर मण्डलामा भेला भई उनीहरुले सो जघन्य  अपराधको घटनामा संलग्नमाथि कडा कारबाही गर्न र आगामी दिनमा त्यस्तो घटना हुन नदिनका लागि सरकारलाई दबाब दिएका हुुन् ।

आवश्यक परे कानूनमा संशोधन गरेर भएपनि हत्या, बलात्कारजस्ता जघन्य अपराधका घटना फेरि पनि हुन नपाओस् भनेर सरकारलाई दवाव दिन आफूहरुले सरकारसँग खबरदारी गर्नुपरेको सामाजिक अभियन्ता कविता चन्द सोडारीले बताउनुभयो । उहाँले यस्ता जघन्य अपराधका घटनामा जिम्मेवार निकाय आफैले संरक्षण गर्ने गरेको आफूहरुलाई आशंका लागेको भन्दै आक्रोश समेत व्यक्त गर्नुभयो ।

प्रदर्शनमा उत्रिएकाहरुले इनिसालाई न्याय देउ, बालिकामाथि हुने बलात्कार, हिंसा, हत्या बन्द गरलगायत लेखिएको प्लेटकार्ड समेत प्रदर्शन गरेका थिए । उनीहरुले सरकारले महिलामाथि हुने सबै प्रकारको हिंसा अन्त्यका लागि कडा कानूनी व्यवस्था गर्न आवश्यक रहेको धारणा समेत राखेका थिए ।

पश्चिम एशियामा रहेका नेपालीहरुलाई सरकारले तत्काल उद्धार गर्नुपर्छ : श्रमविज्ञ नेपाल

काठमाडाैं । श्रमविज्ञ डा. रामेश्वर नेपालले मध्यपूर्वका विभिन्न देशमा रहेका नेपाली श्रमिकहरुलाई सरकारले तत्काल उद्धारको पहल गर्नुपर्ने बताउनुभएको छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले शुक्रवार आयोजना गरेको कार्यक्रममा उहाँले त्यस क्षेत्रमा धेरै नेपालीहरु समस्यामा रहेको बताउनुभएको हो ।

उहाँले सरकारले तत्काल उद्धार गर्नुपर्ने अवस्था नरहेको बताएकोप्रति असन्तुष्टी जनाउँदै धेरै नेपालीहरु देश फर्किन चाहेको उल्लेख गर्नुभयो । उहाँले द्वन्द्व जारी रहेकोले नेपाल फर्किन चाहनेहरुलाई उद्धार गर्न ढिलाई गर्न नहुनेमा जोड दिनुभयो । हालसम्म झन्डै ७० हजार नेपालीले सरकारको पोर्टलमा असुरक्षित रहेको नाम दर्ता गराइसकेको उहाँको भनाई छ । अवैध रूपमा काम गरिरहेका धेरै नेपालीहरू सरकारी रेकर्डमा नभएकोले यो संख्या अझ बढ्न सक्ने उहाँले बताउनुभयो ।

उहाँका अनुसार अवैध रूपमा काम गर्न गएका नेपालीहरू कानूनी झन्झटमा पर्ने डरले पोर्टलमा नाम दर्ता गर्न हिच्किचाइरहेका छन् । डा. नेपालले सरकारको प्रयास सकारात्मक भएपनि उद्धार कार्यमा भने प्रभावकारी काम गर्न नसकेको टिप्पणी गर्नुभयो । उहाँले प्राथमिकताका आधारमा गर्भवती महिला, अवैध बसेका नेपालीहरु र बढी जोखिम क्षेत्रमा रहेकाहरुलाई उद्धार गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले द्वन्द्वमा सबैभन्दा बढी आप्रवासीहरु परेको बताउनुभयो । सम्बन्धित देशहरुले आफ्ना नागरिकलाई सुरक्षित राख्ने गरेको र बाह्य देशका नागरिकलाई भने सुरक्षामा चासो नदेखाएको पाईएको जानकारी दिनुभयो ।

उहाँले सरकारले सुरक्षासम्बन्धी स्पष्ट र पर्याप्त सूचना प्रवाह गर्न नसकेको पनि बताउनुभयो । सरकारले ‘सुरक्षित रहनुहोस्’ भनेर मात्र सूचना दिइरहेको उल्लेख गर्दै उहाँले कसरी सुरक्षित हुने, कहाँ के भइरहेको छ भन्ने बारेमा भने जानकारी नगराएको बताउनुभयो । त्यहाँ रहेका नेपालीहरूलाई दैनिक दुई,तीन पटक त्यहाँको वस्तुस्थितिको बारेमा सरकारले यर्थात जानकारी दिनुपर्ने उहाँको भनाई छ ।

पूर्वप्रधानमन्त्री ओलीका पिता मोहनप्रसादको पशुपतिमा अन्त्येष्टि

काठमाडाैं । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा आज बिहान निधन भएको छ । उहाँको पार्थिव शरीर पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ ।

मोहनप्रसाद ओली केही दिनयता अस्वस्थ हुनुहुन्थ्यो । गएराति अप्ठ्यारो महशुस भएपछि उहाँलाई भक्तपुरको गठ्ठाघरस्थित नेपाल–कोरियामैत्री अस्पताल पुर्याइएको थियो । उपचारका क्रममा आज बिहान उहाँको निधन भएको हो । मोहनप्रसाद ओली गठ्ठाघरस्थित आफ्नी छोरीको निवासमा बस्दै आउनुभएको थियो ।

गत भदौ २३ र २४ गतेको जेन—जी आन्दोलनका क्रममा उहाँको झापास्थित घरमा आगजनी भएको थियो । त्यसपछि उहाँ झापा फर्कनुभएको थिएन ।

प्रतिनिधि सभा उम्मेदवारले बुझाउन थाले निर्वाचन खर्च विवरण

काठमाडाैं । प्रतिनिधि सभा उम्मेदवारहरुले धमाधम निर्वाचन आयोगलाई आफ्नो चुनावी खर्च विवरण बुझाउन थालेका छन् ।
पारदर्शीताका लागि भन्दै चुनावी खर्च विवरण बुझाउन निर्वाचन आयोगले उम्मेदवारका लागि आचारसंहिता बनाएको छ । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनमा सहभागी राजनीतिक दल र उम्मेदवारलाई निर्वाचन प्रचारप्रसारमा भएको आम्दानी तथा खर्चको विवरण ३५ दिनभित्र सार्वजनिक गर्न निर्देशन दिएसकेको छ । प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ को उपदफा (४) बमोजिम पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फका उम्मेदवारले सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा र समानुपातिकतर्फका राजनीतिक दलले आयोगले तोकेको ढाँचामा खर्च विवरण पेस गर्नुपर्ने कानुनी व्यवस्था छ ।

यस्तै निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ को दफा ३१ को उपदफा (२) बमोजिम खर्चको विवरण सर्वसाधारणको जानकारीका लागि सार्वजनिक गर्नुपर्छ । राजनीतिक दल र उम्मेदवारले निम्नमध्ये कुनै एक माध्यमबाट खर्च विवरण सार्वजनिक गरी सोको फोटो वा स्क्रिनसटसहितको प्रमाण आयोग वा सम्बन्धित निर्वाचन कार्यालयमा बुझाउनुपर्छ ।

तोकिएको समयभित्र खर्चको विवरण नबुझाउने, सार्वजनिक नगर्ने वा सार्वजनिक गरेको प्रमाणसहित जानकारी नदिने राजनीतिक दल तथा उम्मेदवारलाई निर्वाचन (कसूर तथा सजाय) ऐन बमोजिम कारबाही हुने भएकाले उनीहरुले त्यस्तो विवरण धमाधम बुझाइरहेका छन्, भने आफ्नो सामाजिक सञ्जालमार्फत सार्वजनिक समेत गरेका छन् ।

हालसम्म खर्च विवरण बुझाउनेमा रास्वपाका वरिष्ठ नेता एवं प्रधानमन्त्रीका उम्मेदवार बालेन्द्र साहदेखि प्युठानबाट चुनाव उठेका एमाले नेता सूर्य थापासम्म छन् । झापा ५ का उम्मेदवार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता साह (बालेन) ले निर्वाचन कार्यालयमा बुझाएको चुनावी खर्च विवरणअनुसार १४ लाख १७ हजार रुपैयाँ खर्च भएको  छ ।

उनले १५ दिनमा दुई वटा सवारी साधन भाडामा २ लाख ९३ हजार ८ सय रुपैयाँ खर्च भएको उल्लेख गरेका छन् । यो खर्च इन्धनसहितको रहेको विवरणमा उल्लेख छ ।  पाँच पटकको हवाई भाडामा ३५ हजार र मतदाता प्रशिक्षण कार्यक्रमको खाजा खर्चमा २८ हजार ९७० रुपैयाँ खर्च भएको विवरणमा उल्लेख छ ।

यसैगरी वडास्तरीय प्रचार कार्यक्रममा ५ लाख ८० हजार, नमूना मतपत्र छपाइमा ४९ हजार ८५० रुपैयाँ, निर्वाचन कार्यालयमा दुई महिनाको पानी खर्च १ लाख २० हजार र स्टेसनरीमा २२ हजार ८२० रुपैयाँ खर्च भएको विवरण छ । यसैगरी झण्डा र ब्याचसहितको प्रचार प्रसार सामग्री छपाइमा १ लाख ५७ हजार ४१ रुपैयाँ, ब्यानर तथा स्टिकरमा १ लाख १९ हजार ८०८ रुपैयाँ र मनोनयन दर्तामा १० हजार रुपैयाँ खर्च भएको विवरण छ ।

बालेनको निर्वाचन प्रतिनिधि नवीन भण्डारीको हस्ताक्षरमा बुझाइएको विवरणमा समग्रमा १४ लाख १७ हजार २८९ रुपैयाँ खर्च भएको उल्लेख छ । यता प्रतिनिधि सभा सदस्यमा तनहुँ जिल्ला क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद स्वर्णिम वाग्लेको आफ्नो चुनाव खर्च विवरण बुझाएका छन् । निर्वाचन आयोगमा बुझाएको विवरणअनुसार उनले चुनावको लागि २६ लाख ९० हजार ७५४ रुपैयाँ खर्च गरेका छन् ।

उनको प्रचारप्रसार सामग्री खरिद तथा प्रिन्टको लागि सबैभन्दा बढी ६ लाख ५० हजार २९८ रुपैयाँ खर्च भएको देखिएको छ । त्यसैगरी विद्युतिय प्रचार प्रसार ३ लाख ४८ हजार ४६४ रुपैयाँ,खाना खाजा तथा अस्थायी बसोवास ३ लाख ४८ हजार ९०० रुपैयाँ खर्च भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चुनावी खर्च ९ लाख ८९ हजार रुपैयाँ मात्रै भएको विवरण निर्वाचन आयोगलाई बुझाएका छन् ।

प्रतिनिधि सभा सदस्य निर्वाचनमा चितवन–२ बाट उम्मेदवार बनेका उनले आफ्नो मंगलबार निर्वाचन आयोगमा निर्वाचन खर्च विवरण पेश गरेका छन् । पेश गरिएको विवरणमा कुल ९ लाख ८९ हजार ९८७ रुपैयाँ खर्च भएको उल्लेख गरिएको छ । मनोनयन दर्ता खर्चका लागि १० हजार रुपैयाँ, नमुना मतपत्र सामग्री छपाइका लागि ६८ हजार १६१ रुपैयाँ, तथा प्रचार–प्रसारका क्रममा यातायात तथा इन्धनका लागि २ लाख ९५ हजार रुपैयाँ खर्च भएको उल्लेख छ ।

त्यसैगरी मतदाता प्रशिक्षण कार्यक्रमका क्रममा खाजामा १४ हजार २०० रुपैयाँ, प्रचार सामग्री (झण्डा, ब्याच, स्टिकर) खरिदमा १ लाख १२ हजार रुपैयाँ, तथा व्यानर निर्माणमा ५५ हजार रुपैयाँ खर्च भएको विवरणमा जनाइएको छ ।

खाद्यान्न तथा रासन खरिदमा १ लाख ९६ हजार रुपैयाँ र हवाई यात्रामा १३ हजार ६२६ रुपैयाँ खर्च गरिएको छ । निर्वाचन आयोगले उम्मेदवारहरूले गरेको निर्वाचन खर्च पारदर्शी बनाउन विवरण अनिवार्य रूपमा बुझाउनुपर्ने व्यवस्था गरेको छ ।
त्यस्तै, प्रतिनिधिसभा सदस्य निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ की रास्वपा उम्मेदवार सोविता गौतमले आफ्नो चुनावी खर्च विवरण पेश गरेकी छिन् ।

सार्वजनिक विवरणअनुसार, गौतमले ९ लाख ९३ हजार ४५ रुपैयाँ खर्च गरेकी छिन् । जस अन्तर्गत, मनोनयन दर्ताका लागि ५ हजार, प्रचार प्रसार सामग्रीका लागि ३ लाख १७ हजार ४ सय, मतदाता प्रशिक्षणका लागि ३० हजार, नमूना मतपत्र÷घोषणापत्र छपाइका लागि ७४ हजार २ सय, वडास्तरीय प्रचार प्रसार (१५ दिन) १ लाख, सवारी साधन २ वटा ३ लाख २५ हजार (चालक र इन्धन सहित), स्टेशनरी २३ हजार ४४५ र खाद्यान्न, रासन तथा पानी १ लाख १८ हजारको खर्च भएको उल्लेख छ ।

त्यस्तै स्वतन्त्र सांसदमा विजयी महावीर पुनले निर्वाचन आयोगमा आफ्नो निर्वाचन खर्चको विवरण पेस गरेका छन् । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत म्याग्दी क्षेत्र नम्बर १ मा निर्वाचित पुनले निर्वाचन अवधिमा कुल २८ लाख ६८ हजार ८६८ रुपैयाँ खर्च भएको जनाएका छन् ।

पेश गरिएको विवरणअनुसार उनले होटलमा खाना बस्नका लागि खर्च सबैभन्दा धेरै रकम १३ लाख सात हजार ६१९ खर्च गरेको देखिएको छ । यस्तै, चालक ज्यालामा करिव १ लाख ४० हजार रुपैयाँ, यातायातमा ६ लाख ६० हजार ९९८ रुपैयाँ,डिजेल ३ लाख ६० हजार ४९९ खर्च भएको छ ।

नेकपा (एमाले)का नेता सूर्य थापाले चुनावका लागि २४ लाख १० हजार ३८९ रुपैयाँ खर्च गरेको विवरण बुझाएका छन् ।
प्युठान जिल्ला प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेका थापाले सबैभन्दा धेरै ६४ वडामा वडा तथा पालिका स्तरीय कार्यक्रमका लागि ६ लाख ४० हजार खर्च गरेका छन् । एमाले महासचिव एवं दाङ क्षेत्र नम्बर २ का उम्मेदवार शंकर पोखरेलले आफ्नो चुनावी खर्च निर्वाचन कार्यालयमा बुझाएका छन्।

उनले पेश गरेको खर्च विवरणअनुसार मतदाता नामावली खरिद बापत ५० हजार खर्च भएको उल्लेख छ । सवारी साधनमा ३ लाख ५० हजार, सवारी इन्धन (घोडा प्रयोग गरिएकोमा दाना समेत) ३ लाख, प्रचारप्रसार सामग्री १ लाख ५० हजार, ढुवानीतर्फ १ लाख ५० हजार, गोष्ठी/अन्तरक्रिया १ लाख ५० हजार, अन्य प्रचार प्रसार, छापा एवं विद्युतीय माध्यम २ लाख, कार्यालय सञ्चालन १ लाख ५० हजार, प्रतिनिधि परिचालन १ लाख र विविध खर्च गरेर १ लाख ५० हजार उल्लेख गरिएको छ ।
यस्तै, राप्रपा नेता कमल थापाले निर्वाचन कार्यालयमा खर्च विवरण बुझाएका छन् । उनले २३ लाख १० हजार रुपैयाँ खर्च गरेको विवरण छ ।

उनले बुझाएको विवरणअनुसार थापाले चुनावमा निर्वाचन कार्यालय व्यवस्थापनका लागि सबैभन्दा धेरै ४ लाख ७५ हजार, डिजिटल सामग्री उत्पादन तथा विज्ञापनका लागि ४ लाख ५० हजार, घरदैलो कार्यक्रममा भोजन व्यवस्थापनका लागि ३ लाख ५० हजार, प्रचार प्रसार सामग्री छपाइ र वितरणका लागि ३ लाख १५ हजार रुपैयाँ खर्च गरेका थिए ।

यस्तै बुथमा ३ लाख १० हजार, प्रचार प्रसारका लागि गाडी भाडा र इन्धनबापत २ लाख ३५ हजार र कार्यकर्ता परिचालनमा १ लाख ५० हजार रुपैयाँ खर्च गरेको थापाले निर्वाचन कार्यालयमा बुझाएको विवरणमा उल्लेख गरेका छन् । थापाले यसपटक निर्वाचनमा  जमानत पनि जोगाउन सकेनन् । गृह जिल्ला मकवानपुर छोडेर काठमाडौं–५ बाट चुनावी मैदानमा उत्रिएका थापाले जम्मा १ हजार ९२२ मत पाएका थिए । एक भोटका लागि थापाको एकहजार भन्दा बढि खर्च गरेको देखिन्छ । त्यस्तै, अन्य उम्मेदवारले पनि निर्वाचन कार्यालयमा खर्च विवरण बुझाउने क्रम जारी छ । काठमाडौं–५ रास्वपाका सस्मित पोखरेल ३० हजार ७३७ मतसहित निर्वाचित हुँदा थापा चौथो भएका थिए ।

बञ्चरे डाँडामा स्थानीयकाे अवराेध, उपत्यकाकाे फाेहाेर विसर्जन राेकियाे

काठमाडाैं। स्थानीयको अवरोधका कारण बञ्चरेडाँडामा काठमाडौँ उपत्यकाको फोहोर विसर्जन रोकिएको छ । बञ्चरेडाँडा क्षेत्रका बासिन्दाले काठमाडौँ महानगरपालिका र सहरी विकास मन्त्रालयसँग विगतमा भएका सहमति कार्यान्वयन नभएको विरोधमा फोहोर फाल्न नदिएका हुन् ।

विगतका सहमति कार्यान्वयन नभएसम्म फोहोर फाल्न नदिने अडानका साथ काठमाडौँबाट फोहोर बोकेर आएका गाडीलाई फिर्ता पठाइएको स्थानीय निरञ्जन सञ्जेलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पटक–पटक भएका उधारो सहमतिले हामी पीडित भएका छौँ । हाम्रा माग पूरा नहुञ्जेल अवरोध जारी रहन्छ ।”

यसअघि गत कात्तिक १६ गते सहरी विकासमन्त्री कुलमान घिसिङले विगतका सहमति कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएसँगै फोहोर विसर्जनको अवरोध हटेको थियो ।

नुवाकोटको ककनी गाउँपालिका १, २ र ३ तथा धादिङको धुनबेँसी नगरपालिका १, ३ र ४ वडाका प्रभावित स्थानीयले दुई जिल्लाको सीमा ढाँडेस्थित सडकमा बसेर फोहोर बोकेका गाडीलाई गन्तव्यमा जान दिएका छैनन् । ककनी र बेलकोटगढी तथा धुनीबेँसीका स्थानीय जनप्रतिनिधि र दलका नेताले पनि उनीहरूलाई साथ दिएका छन् ।

राहदानी वितरण सेवा एकदेखि तीन सातासम्म अवरुद्ध हुनसक्ने

काठमाडौं । परराष्ट्र मन्त्रालय अन्तर्गतको राहदानी विभागले नयाँ प्रणालीमा जाँदा राहदानी वितरण सेवा एकदेखि तीन सातासम्म अवरुद्ध हुनसक्ने जनाएको छ । अहिलेको प्रणालीबाट नयाँ प्रणालीमा जाँदा अन्तरिम अवस्थामा प्रणाली स्थिरीकरण नभएसम्म वितरणको काम प्रभावित हुने विभागको भनाइ छ ।

अन्तरिम अवस्थामा प्रणाली स्थिरीकरण नभएसम्म जिल्ला/इलाका प्रशासन तथा विदेशस्थित नेपाली नियोगबाट प्रदान गरिने राहदानी सेवा एकदेखि तीन हप्तासम्म र विभागबाट प्रदान गरिने राहदानी सेवा करिव एक हप्तासम्म बन्द हुन सक्ने विभागले जारी गरेको सूचीमा उल्लेख छ ।

सूचनामा लेखिएअनुसार नयाँ प्रणाली कार्यान्वयन भएपश्चात् प्रणाली स्थिरीकरण हुन एकदेखि तीन महिनासम्म लाग्ने भएकोले उक्त अन्तरिम अवधिमा जिल्ला/इलाका प्रशासन कार्यालय तथा विदेशस्थित नेपाली नियोगबाट आवेदन दिँदा राहदानी तयार भई जारी हुन हालको भन्दा बढी समय लाग्न सक्ने छ ।

‘उक्त अवस्थालाई मध्यनजर गर्दै आगामी ६ महिनासम्म (अर्थात् २०८३ असोज भित्रमा) राहदानी आवश्यक पर्न सक्ने सेवाग्राहीले अन्तरिम अवस्था शुरु हुनुअघि नै नियमानुसार सम्बन्धित जिल्ला/इलाका प्रशासन कार्यालय वा विदेशस्थित नेपाली नियोग वा राहदानी विभागबाट राहदानी सेवा लिनु हुन हार्दिक अनुरोध छ,’ विभागले भनेको छ ।

विभागले नयाँ प्रणाली सुरू हुने मिति र उक्त अवधिमा गरिने व्यवस्थाबारे अर्को सूचनामार्फत् जानकारी गराइने बताएको छ ।

नेपाल आयल निगमले आजदेखि आधा सिलिण्डर ग्यास बिक्री गर्ने

काठमाडौँ । नेपाल आयल निगमले ग्यास सिलिण्डरमा ७.१ किलो एलपी ग्यास भरी प्रति सिलिण्डर आधा रु ९५५ मा बिक्री वितरण गर्ने निर्णय गरेको छ ।

निगमले बिहीबार विज्ञप्ति जारी गरी हालको परिस्थितिलाई दृष्टिगत गरी एलपी ग्यासको आपूर्ति तथा वितरण प्रणालीलाई व्यवस्थित बनाइ आम उपभोक्ताको माग बमोजिम ग्यास उपलब्ध हुने अवस्थाको सहजीकरणका लागि निगमले शुक्रबारदेखि लागू हुने गरी अर्को निर्णय नभएसम्म ग्यास सिलिण्डरमा ७.१ किलो एलपी ग्यास भरी प्रति सिलिण्डर आधा मूल्य रु ९५५ मा बिक्री वितरण गर्ने निर्णय भएको जनाएको छ ।

आम उपभोक्ता वर्गले सोहीअनुसार एलपी ग्यास खरिद गर्न निगमले अनुरोध गरेको छ ।

निगमले निगमले नियमित रुपमा माग अनुरूप नै एलपी ग्यासको आयात तथा वितरण गरिरहेको भए पनि विगत दुई/तीन महिनादेखि काठमाडौँ उपत्यकामा ग्यासको माग उच्च देखिएको र यसैबीच मध्यपूर्व क्षेत्रमा भइरहेको युद्धका कारण पेट्रोलियम पदार्थ तथा एलपी ग्यासको आपूर्तिमा विश्वव्यापी रूपमा असर परिरहेको प्रष्ट पारेको छ ।

अर्थतन्त्र प्रतिष्पर्धी बनाउन दुई तहको मूल्य अभिवृद्धि कर र भन्सार दरमा कटौती आवश्यक : अध्यक्ष अग्रवाल

काठमाडाैं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले नेपालको अर्थतन्त्रलाई प्रतिष्पर्धी बनाउन दुई तहको मूल्य अभिवृद्धि कर (भ्याट) लागू गर्नुपर्ने बताउनुभएको छ । उहाँले विद्यमान उच्च भन्सार दरलाई समेत न्यूनीकरण गर्नुपर्नेमा जोड दिनुभएको हो ।

अध्यक्ष अग्रवालले दक्षिण एशियाका अन्य देशहरुमा कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा राजश्वको अनुपात १३ देखि १४ प्रतिशत मात्रै रहेको तर नेपालमा १९.९ प्रतिशत पुगेको भन्दै यसले लगानी र व्यापारको प्रतिष्पर्धी वातावरण नबनेको बताउनु भयो ।

विगतमा लामो समय राजनीतिक अस्थिरताका कारण अर्थनीति पनि अस्थिर भएको भन्दै उहाँले अब बन्ने बलियो सरकारले अर्थनीतिमा स्थायित्व ल्याउनुपर्ने बताउनु भयो । नियामक निकायको संकुचित मौद्रिक नीतिका कारण विगत ४ वर्षदेखि अर्थतन्त्र अत्यन्तै शिथिल बनेको उहाँको भनाइ छ । यद्यपि हालै अर्थमन्त्रीको सहकार्यमा राष्ट्र बैंकले गरेका केही नीतिगत सुधारप्रति भने उहाँले सन्तोष व्यक्त गर्नुभयो । मुलुकको अर्थतन्त्रमा ८० प्रतिशतभन्दा बढी लगानी निजी क्षेत्रको रहेकाले नीतिगत परिवर्तनको प्रत्यक्ष असर निजी क्षेत्रलाई पर्ने उहाँले प्रस्ट पार्नुभयो । यसैलाई मध्यनजर गर्दै अब उप्रान्त कुनैपनि नीति नियम लागू गर्नुअघि ‘रेगुलेटरी इम्प्याक्ट एसेसमेन्ट’ (नियामकीय प्रभाव मूल्याङ्कन) गर्ने प्रथा शुरु गर्नुपर्ने उहाँको माग छ ।

आगामी दिनमा पर्यटन र सूचना प्रविधि (आईटी) जस्ता ‘वेटलेस र बोर्डरलेस’ (भारविहीन र सीमारहित) व्यापारलाई प्रवद्र्धन गर्न लगानीमैत्री नीति ल्याउनुपर्नेमा अध्यक्ष अग्रवालले जोड दिनुभयो । विगतका भूतप्रभावी (रेट्रोस्पेक्टिभ) कर नीतिले निजी क्षेत्रलाई ठूलो अप्ठ्यारो पारेको, नयाँ अडिट प्रणाली प्रभावकारी रूपमा कार्यान्वयन नभएको र भन्सारको अनलाइन मूल्याङ्कन प्रणालीमा अझै कमजोरी रहेको भन्दै उहाँले यी सबै समस्या तत्काल समाधान गरी अर्थतन्त्रलाई गतिशील बनाउनुपर्ने बताउनुभयो ।

निर्वाचन परिणामपछि निजी क्षेत्र उत्साहित भएको र लगानी गर्न आतुर रहेको उहाँले बताउनुभयो ।

एमाले अध्यक्ष ओलीलाई पितृ शोक

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ । अध्यक्ष ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा शुक्रबार बिहान गठ्ठाघरस्थित अस्पतालमा निधन भएको हो ।

अस्पतालका अनुसार केही समय यता मोहनप्रसाद ओली अस्वस्थ हुनुहुन्थ्यो । उहाँको पार्थिव शरीरलाई ओली निवास गुण्डुमा लैजाने तयारी गरिएको छ । साथै आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने बताइएको छ ।

स्वर्गीय ओलीका दुई छोरा तीन छोरी हुनुहुन्छ ।

बिदा भए निर्वाचन प्रहरी

काठमाडाैं । प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भर्ना गरिएका निर्वाचन प्रहरीको कार्यावधि समाप्त भएसँगै बिदाई गरिएको छ ।  फागुन २१ मा सम्पन्न निर्वाचन गराउनको लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले देशभर भर्ना गरेका निर्वाचन प्रहरीको बिहीवार बिदाई गरिएको हो ।

उनीहरुलाई ४० दिनका लागि भर्ना गरिएकोमा निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न हुनुका साथै मतगणना समेत सम्पन्न भइसकेको छ । निर्वाचन प्रहरी अर्जुन खत्रीले शान्तीपूर्ण रुपमा निर्वाचन सम्पन्न गर्न सफल भएकाेमा खुशी व्यक्त गर्नुभयो । उहाँले अब बन्ने सरकारले निर्वाचन प्रहरीको लागि उचित रोजगारको व्यवस्था गर्नुपर्ने माग समेत गर्नुभयो ।

निर्वाचन प्रहरी रविना अधिकारीले छोटो अवधीका लागि भएपनि देशको सेवा गर्न पाएकोमा खुशी व्यक्त गर्नुभयो । जेन–जी आन्दोलनमा जगमा भएको निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्ने चुनौतीको सामना गर्दै सफलतापूर्वक निर्वाचन सफल हुनु नै महत्वपूर्ण कुरा भएको उहाँको भनाइ छ । अब बन्ने सरकारले युवाहरुको मागबमोजिम रोजगारीको अवसर दिनुपर्नेमा उहाँको जोड छ ।

प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनको लागि देशभर कुलकुल एक लाख ३९ हजार बढी निर्वाचन प्रहरी परिचालन भएका थिए ।

उपत्यकासहित मध्य र पूर्वी भेगमा वर्षा, काठमाडाैंकाे वायु प्रदुषण घट्याे

काठमाडाैं । काठमाडौ उपत्यकासहित देशका मध्य र पूर्वी भेगमा हावाहुरीसहित पानी परेको छ । चितवन, गोरखा र उदयपुरमा ठूलो पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै गोरखा, लमजुङ, इलाम, झापा, सिन्धुपाल्चोक र नुवाकोटमा पनि मध्यम वर्षा भएको छ । अरु ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पश्चिमी न्यूनचापीय प्रणाली, उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणाली र पूर्वी भूभाग नजिक वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभावले बदली र वर्षा भएको हो ।

आज पनि कोशी प्रदेश लगायत बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र हिमाली भागका थोरै ठाउँ, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भूभाग तथा मधेस, बागमती र गण्डकी प्रदेशको तराई भूभागका एक, दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । योसंगै वायु प्रदुषण पनि घटेको छ । आज बिहान काठमाडौ उपत्यकाको वायुको गुणस्तर एक्यूआई ३४ मा झरेको छ, । यो स्वास्थ्यका दृष्टिले राम्रो र सुरक्षित मानिन्छ ।

बुधबारसम्म एक्यूआई १ सय ५० भन्दा माथि रहेकोमा आज ३४ मा झरेको हो । यसअघि कारब एकसातादेखि काठमाडौको हावाको गुणस्तर सूचकाङ्क एक्यूआई २ सयसम्म पुगेर स्वास्थ्यका दृष्टिकोणले हानिकारक स्तरमा पुगेको थियो ।वर्षासँगै हावामा रहेको धुलो तथा धुवाँका कणहरू बाहिरिएपछि वायुको गुणस्तरमा सुधार आएको छ ।

इजरायलद्वारा मध्य बेरुतको भवनमा नयाँ चरणको हवाई आक्रमण

एजेन्सी । इजरायली सेनाले बिहीवार दिउँसो बेरुतमा हिजबुल्लाहका लक्ष्यहरूलाई लक्षित गर्दै नयाँ श्रृङ्खलाको हवाई आक्रमण शुरु गरेको घोषणा गरेको छ । आक्रमणअघि बाचौरा र जकाक अल–ब्लाट क्षेत्रका निश्चित भवनहरू खाली गर्न बासिन्दाहरूलाई आग्रह गर्दै चेतावनी जारी गरिएको थियो ।

पछिल्लो क्षेत्रमा लक्षित भवनमा अल–कर्ड अल–हसनको शाखा रहेको छ । जसलाई इजरायलले हिजबुल्लाहले हतियार खरिद गर्न र आफ्ना लडाकुहरूलाई भुक्तानी गर्न वित्तीय शाखाको रूपमा प्रयोग गर्ने दाबी गरेको छ । चेतावनी र त्यसपछिका आक्रमणहरूले बासिन्दाहरू र विस्थापित परिवारहरूमा त्रास पैदा गरेको छ । जो पहिलेको इजरायली आक्रमणबाट भागेर मध्य बेरुतमा शरण लिएका थिए । यसैबीच, लेबनानको जनस्वास्थ्य मन्त्रालयले बिहीबार रिपोर्ट गरेअनुसार मार्च २ यता लेबनानमा इजरायली आक्रमणबाट मृत्यु हुनेको संख्या ६ सय ८७ पुगेको छ भने १ हजार ७ सय ७४ जना घाइते भएका छन् ।

मन्त्रालयले मारिएका प्यारामेडिकहरूको संख्या १८ पुगेको र ४५ जना घाइते भएको बताएको छ । लेबनानी प्रधानमन्त्री नवाफ सलामले सरकारले चलिरहेको युद्ध रोक्न र विस्थापित बासिन्दाहरूको सुरक्षित फिर्ती सुनिश्चित गर्न काम गरिरहेको बताउनु भयो । उहाँले विस्थापित परिवारहरूलाई आश्रय दिएकोमा लेबनानी समुदायहरूलाई धन्यवाद दिनुभयो ।  नागरिकहरूको पीडा कम गर्न मानवीय सहायता प्रदान गर्ने मित्र राष्ट्रहरूप्रति कृतज्ञता व्यक्त गर्नुभयो । हिजबुल्लाहले नोभेम्बर २७, २०२४ मा युद्धविराम घोषणा भएयता पहिलो पटक मार्च २ को बिहान लेबनानबाट इजरायलतर्फ रकेट प्रहार गरेको घोषणा गरेको थियो ।

त्यसपछि इजरायलले समूहविरुद्ध आक्रामक सैन्य अभियान भनेर वर्णन गरेको आक्रमण शुरु ग¥यो । जसमा बेरुतको दक्षिणी उपनगरहरू र दक्षिणी र पूर्वी लेबनानका क्षेत्रहरूलाई लक्षित गरी भारी हवाई आक्रमणहरूका साथै सीमामा स्थलगत घुसपैठ समावेश छ ।

बहराइनको मुहारक गभर्नोरेटमा इरानी क्षेप्यास्त्र प्रहार : इन्धन ट्याङ्कहरूमा भीषण आगलागी

एजेन्सी । बहराइनको आन्तरिक मन्त्रालयले मुहारक गभर्नोरेटस्थित एक औद्योगिक क्षेत्रमा रहेका इन्धन भण्डारण ट्याङ्कहरूलाई लक्षित गरी इरानले आक्रमण गरेको पुष्टि गरेको छ । उक्त आक्रमणपछि त्यस क्षेत्रका इन्धन ट्याङ्कहरूमा भीषण आगलागी भएको र आकाशमा धुवाँको ठूलो मुस्लो देखिएको छ ।

बहराइनको गृह मन्त्रालयका अनुसार इरानबाट प्रहार गरिएका क्षेप्यास्त्रहरूले मुहारक गभर्नोरेटको इन्धन सुविधा केन्द्रलाई निशाना बनाएका थिए । घटना लगत्तै नागरिक सुरक्षा बलका टोलीहरू आगो निभाउन र स्थिति नियन्त्रणमा लिन परिचालन भएका थिए । मन्त्रालयले सावधानीका रूपमा अल–हिद्द। गलाली र सामाहीज क्षेत्रका बासिन्दाहरूलाई आगोबाट निस्कने धुवाँका कारण स्वास्थ्यमा असर पर्नसक्ने भन्दै घरभित्रै बस्न र झ्याल–ढोकाहरू बन्द गर्न आग्रह गरेको छ । पछिल्लो जानकारी अनुसार सुरक्षा निकायले आगोलाई नियन्त्रणमा लिएको छ र अहिले कुलिङ अपरेसन जारी रहेको छ ।

यो आक्रमण पश्चिम एशियामा बढ्दै गएको गम्भीर सैन्य तनावको एक हिस्सा हो । फेब्रुअरी २८ देखि इरानमाथि अमेरिका र इजरायलले संयुक्त हवाई आक्रमण शुरु गरेपछि यस क्षेत्रको सुरक्षा अवस्था नाजुक बनेको छ । इरानले पनि जवाफी कारबाही स्वरूप इजरायल र यस क्षेत्रका अन्य देशहरूका ऊर्जा पूर्वाधारहरूलाई लक्षित गरी ड्रोन र क्षेप्यास्त्र प्रहार गर्दै आएको छ ।

बहराइन रक्षा बलकाअनुसार इरानी आक्रमण शुरु भएयता बहराइनले हालसम्म ११४ वटा ब्यालिस्टिक क्षेप्यास्त्र र १९० वटा ड्रोनहरू सफलतापूर्वक बीचमै नष्ट गरिसकेको छ ।

कम्युनिस्ट र वामपन्थीहरू छुट्टाछुट्टै अघि बढ्न खोजे कोही पनि रहँदैनन् : पम्फा भुसाल

काठमाडाैं । नेपाली कम्युनिस्ट पार्टीकी नेतृ पम्फा भुसालले पछिल्लो राजनीतिक परिस्थितिले मुलुकमा वामपन्थी शक्तिहरूबीच एकताको आवश्यकता झनै बढेको बताउनुभएको छ । विविध क्षेत्रका प्रेरणादायी महलिाहरुको सम्मान तथा वृत्तचित्र सार्वजनिक गर्न मोतीदेवी स्मृति केन्द्रद्वारा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

कम्युनिस्ट र वामपन्थीहरू छुट्टाछुट्टै अघि बढ्न खोजेको अवस्थामा कोही पनि नरहने स्थिति रहेको भुसालको भनाइ छ । उहाँले वामपन्थीहरूबीच एकता गरेर अघि बढे मात्रै वाम आन्दोलनको त्याग, तपस्या र बलिदानको औचित्य पुष्टि हुने जिकिर गर्नुभयो । उहाँले पछिल्लो समय नेपालको राजनीति सस्तो बन्दै गएको टिप्पणी गर्नुभयो ।

उहाँले खादा–टिका लगाएर पार्टी नेतृत्व पुग्ने र राजनीतिक अवसर प्राप्त गर्ने प्रवृत्ति देखापरेको भन्दै यसलाई राजनीतिक विकृतिका रुपमा व्याख्या गर्नुभयो । भुसालले नेपालमा महिला आन्दोलनको उपलब्धि ठूलो संघर्षको परिणाम भएको उल्लेख गर्दै अहिले राजनीतिमा, न्यायपालिकामा, प्रशासनिक र सुरक्षा क्षेत्रमा देखिएको महिला सहभागिताको पछाडि दीर्घ संघर्ष रहेको बताउनुभयो ।

उहाँले गणतन्त्र स्थापनापछि नेपालले पहिलो महिला राष्ट्रपति पाएको स्मरण गर्दै संघीयता र समावेशिताका कारण उत्पीडित वर्ग नीति निर्माण तहसम्म पुग्ने अवस्था बनेको बताउनुभयो ।

 

कानूनले मात्र समाज परिवर्तन हुँदैन : पूर्वराष्ट्रपति भण्डारी

काठमाडाैं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधान र कानूनले महिला अधिकारको क्षेत्रमा उल्लेखनीय व्यवस्था गरे पनि समाजमा विद्यमान पितृसत्तात्मक सोच र कुप्रथाका कारण त्यसको व्यावहारिक कार्यान्वयनमा अझै ठूलो चुनौती रहेको बताउनुभएको छ । मोतिदेवी स्मृति केन्द्रद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नीतिगत उपलब्धिहरू प्राप्त भए पनि समाजको तल्लो तहसम्म त्यसको अनुभूति हुन नसकेको भन्दै चिन्ता व्यक्त गर्नुभएको हो ।

नेपालको संविधानले महिला समानताको हक, समानुपातिक सहभागिताको हक, प्रजनन स्वास्थ्यसम्बन्धी अधिकार र महिलाविरुद्धको हिंसामा प्रतिवन्ध लगायतका विषयलाई मौलिक हककै रूपमा स्थापित गरेको बताउनु भयो । आजको आधुनिक युगमा पनि नेपाली समाजमा बालविवाह, बहुविवाह, दाइजो तथा तिलक प्रथा, छाउपडी र बोक्सीको आरोप जस्ता अमानवीय कुपरम्पराहरू कायमै रहनु दुःखद् भएको उहाँको भनाइ छ । यस्ता गहिरोसँग जरा गाडेका प्रथा, परम्परा र मान्यताहरू केवल कानुन बनाएर मात्र परिवर्तन नहुने कुरामा उनले जोड दिनुभयो ।

महिलाविरुद्धको हिंसा र विभेद अन्त्य गर्न, लैंगिक समानता प्रवद्र्धन गर्न, महिलाको शैक्षिक तथा आर्थिक सशक्तीकरण गर्न र समाजको समग्र सांस्कृतिक रूपान्तरणका लागि राज्यका सबै निकाय र नागरिक तहबाट एकीकृत प्रयास हुनुपर्नेमा पूर्वराष्ट्रपति भण्डारीले जोड दिनुभयो ।