समाचार | Page 10 of 5894 | ईमाउण्टेन समाचार

Our Network

फागुन २९ २०८२, शनिबार

समाचार

निर्वाचनले लोकतन्त्र सुदृढ गर्नुका साथै देशमा स्थायित्व ल्याउनुपर्छ : अध्यक्ष ओली

काठमाडाैं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनले देशमा लोकतन्त्र सुदृढ बनाउँदै राजनीतिक स्थायित्व र सुशासन स्थापना गर्न योगदान गर्नुपर्ने बताउनुभएको छ ।  बिहीवार भक्तपुरको बालकोटस्थित महेन्द्र शान्ति माध्यमिक विद्यालय मतदान केन्द्रमा मतदान गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले यस्तो बताउनुभएको हो ।

अराजनीतिक, अराजक तथा हिंसात्मक गतिविधिलाई नियन्त्रण गर्दै लोकतान्त्रिक प्रक्रियालाई सुदृढ बनाउने दिशामा निर्वाचनले महत्वपूर्ण भुमिका खेल्नुपर्ने ओलीको भनाइ छ । उहाँले लोकतान्त्रिक प्रक्रियामार्फत संविधानलाई सही ट्र्याकमा फर्काउँदै देशलाई स्थिरता, स्थायित्व र सुशासनतर्फ अघि बढाउनुपर्ने उल्लेख गर्नुभयो ।

उहाँले देशको शान्ति, सुव्यवस्था तथा राष्ट्रिय हितको रक्षा गर्नु अहिलेको प्रमुख आवश्यकता भएको बताउँदै देशको अस्तित्व, स्वाधीनता र राष्ट्रिय हितको संरक्षण तथा संवद्र्धनमा निर्वाचनले सकारात्मक भुमिका खेल्नुपर्ने धारणा राख्नुभयो ।

उहाँले शान्ति, सुशासन र विकासका पक्षमा रहेका अनुभवी तथा देशभक्त नेतृत्वलाई अत्यधिक बहुमतले विजयी गराउन मतदातासमक्ष आह्वान समेत गर्नुभयो ।

निर्वाचनका दिन काठमाडौं उपत्यकामा सवारीसाधन चेकजाँचमा कडाइ (फाेटाेफिचर)

काठमाडाैं । निर्वाचनलाई लक्षित गर्दै आज काठमाडौं उपत्यकाका सडकमा सवारीसाधन आवागमनमा निकै कडाइ गरिएको छ । मतदानको दिन अनुमतिपत्र (पास) नलिएका सवारीसाधन चलाउन रोक लगाइएपछि उपत्यकाका मुख्य सडकहरू सुनसान देखिएका छन् भने चोक–चोकमा ट्राफिक प्रहरीले कडा सुरक्षा जाँच गरिरहेका छन् ।

सडकमा गुड्ने सवारीसाधनलाई नियन्त्रण र अनुगमन गर्न प्रहरीले ‘हिलटेक’ लेखिएका ट्राफिक कोन र पहेँलो–रातो रंगका फोल्डिङ ब्यारिकेडहरू सडकको बीचमा राखेर विभिन्न ठाउँमा चेकप्वाइन्टहरू निर्माण गरेको छ । जसका कारण अन्य दिनहरूमा निकै व्यस्त रहने उपत्यकाका सडकहरू आज प्रायः खाली र सुनसान छन् । ट्राफिक प्रहरीले सडकमा गुडेका प्रत्येक सवारीसाधनलाई रोकेर सोधपुछ तथा पासको जाँच गरिरहेका छन् । अत्यावश्यक सेवाअन्तर्गतका गाडीहरूलाई समेत परिचयपत्र र प्रयोजन हेरेर मात्र अगाडि बढ्न दिइएको छ । विशेषगरी मोटरसाइकल र स्कुटर जस्ता दुईपाङ्ग्रे सवारीसाधनमाथि प्रहरीले कडा निगरानी राखेको छ ।
तस्बिर : अनुप प्रधान

 

एमाले अध्यक्ष ओलीद्वारा भक्तपुरबाट मतदान

काठमाडाैं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मतदान गर्नुभएको छ । बिहीवार बिहान अध्यक्ष ओलीले भक्तपुरको बालकोटस्थित महेन्द्र शान्ति मावि केन्द्रमा पुगेर मतदान गर्नुभएको हो ।

उहाँ झापा ५ बाट उम्मेदवार समेत हुुनुहुन्छ । आज पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली (प्रत्यक्ष)तर्फ १६५ निर्वाचन क्षेत्र र समानुपातिकतर्फ ११० स्थानका लागि निर्वाचन भइरहेको हो ।

देशभर मतदान कार्य जारी छ ।

सर्लाही–४ को उम्मेदवारीले मलाई राजनीतिक पूर्णता दियो : गगन थापा

काठमाडाैं । नेपाली काँग्रेसका सभापति गगन थापाले सर्लाही क्षेत्र नम्बर ४ को उम्मेदवारीले आफूलाई राजनीतिक रूपमा पूर्णता दिएको बताउनुभएको छ ।  काठमाडौंको मैतीदेवीस्थित मतदान केन्द्रमा आफ्नो मताधिकार प्रयोग गरेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै थापाले मधेसको बसाइले आफ्नो दृष्टिकोण र सोच्ने तरिका नै बदलिदिएको बताउनुभएको हो ।

विगतका निर्वाचनहरूमा आफै उम्मेदवार हुँदा आफैलाई मत हाल्ने गरेको स्मरण गर्दै उहाँले यसपटक भने युवा उम्मेदवार सचिन तिमल्सिनालाई मतदान गर्न पाउँदा निकै खुशी लागेको बताउनुभयो । आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ को अवस्थाबारे जानकारी दिँदै थापाले दुईवटा मतदान केन्द्रमा सामान्य तनाव भएर केहीबेर मतदान रोकिए पनि सर्वदलीय छलफलपछि पुनः सुचारु भएको जानकारी दिनुभयो । उहाँले विपक्षीहरूले उक्साउने कोशिस गरे पनि काँग्रेसले संयमता अपनाएको र कुनैपनि अप्रिय घटना हुन नदिने स्पष्ट पार्नुभयो ।

विगतमा मधेसलाई बाहिरबाट मात्रै हेरेको र त्यहाँको वास्तविक अवस्था थाहा नपाएकोमा एक राजनीतिज्ञको रूपमा आफूलाई लज्जा महशुस भएको उहाँले स्वीकार गर्नुभयो । सर्लाही–४ को अनुभवले आफूलाई देश हेर्ने नयाँ दृष्टिकोण दिएको र राजनीतिक रूपमा पूर्ण बनाएको उहाँको भनाइ छ ।

प्रतिनिधि सभा निर्वाचन : मतदान केन्द्रमा मतदाताको उत्साह, सुरक्षा व्यवस्था कडा

काठमाडाैं । प्रतिनिधि सभा सदस्य चयनका लागि भइरहेको निर्वाचनमा देशभरका मतदान केन्द्रहरूमा बिहानैदेखि मतदाताहरूको उत्साहजनक सहभागिता देखिएको छ । मतदान प्रक्रिया शान्तिपूर्ण, व्यवस्थित र उल्लासमय वातावरणमा सञ्चालन भइरहेको आयोगले बताएको छ ।

ज्येष्ठ नागरिकमा लोभलाग्दो उत्साह मतदान केन्द्रहरूमा युवादेखि वृद्धवृद्धासम्मको उल्लेखनीय उपस्थिति रहेको छ । विशेषगरी जेष्ठ नागरिकहरूमा मतदानप्रतिको आकर्षण र उत्साह लोभलाग्दो देखिन्छ । तस्बिरहरूमा लौरो टेकेर मतदान केन्द्रमा पुगेका र शारीरिक रूपमा अशक्त भएपनि आफ्नो मताधिकार प्रयोग गर्न आएका छन् । मतदाताहरू मतदान केन्द्रमा राखिएको मतदाता नामावलीमा आफ्नो नाम रुजु गर्न र विवरण खोज्न कर्मचारीहरूसँग उत्सुकतापूर्वक समन्वय गरिरहेका देखिन्छन् ।

चुस्त व्यवस्थापन र कडा सुरक्षा निर्वाचनलाई निष्पक्ष र भयरहित बनाउन मतदान स्थलको सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको छ । मतदान केन्द्रको प्रवेशद्वारमै नेपाल प्रहरीलगायतका सुरक्षाकर्मीहरूले विशेष शतर्कता अपनाएका छन् ।

सुरक्षाकर्मीहरूले मतदाताको परिचयपत्र (भोटर आईडी) सुक्ष्म रूपले जाँच गर्ने र सुरक्षाका लागि हाते मेटल डिटेक्टरसहित शारीरिक खानतलासी गरेर मात्र भित्र प्रवेश गर्न दिएका छन् । मतदानलाई सहज बनाउन महिला र पुरुषका लागि छुट्टाछुट्टै लाइनको व्यवस्था गरिएको छ । डोरी टाँगेर बनाइएका यी लाइनहरूले भीडभाडलाई व्यवस्थित बनाएको छ । यसका साथै, ड्युटीमा खटिएका महिला तथा पुरुष सुरक्षाकर्मीहरूले सुरक्षा दिनुका अलावा ज्येष्ठ नागरिकहरूलाई डोर्याएर मतदान बुथसम्म पुग्न सहयोगीको भूमिका समेत निर्वाह गरिरहेका छन्, जुन निकै प्रशंसनीय दृश्य हो ।

मतदानको दिन काठमाडौंका सडक सुनसान, ट्राफिक चेकजाँच कडा

काठमाडाैं । प्रतिनिधि सभा निवार्चनको दिन बिहीवार काठमाडौं उपत्यकाका सडक सुनसान बनेका छन् । मतदानको दिन उपत्यकाका सडकमा सवारी आवागमन पातलो रहेको छ ।

मतदान सहभागि हुन् हजारौं मानिसहरू गाउँ फर्किएका छन् । आज अत्यावश्यक र पास भएका सवारी साधनबाहेक अन्य सवारी साधन चलाउन पाइँदैन । हिँडडुल गर्न भने रोक लगाइएको छैन ।

यहाँको सुरक्षा व्यवस्था र ट्राफिक चेकजाँचमा कडाइ गरिएको छ ।

कांग्रेस सभापति थापाद्वारा मतदान

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले काठमाडौँको मैतीदेवी मन्दिर मयुर कुण्ड मतदान केन्द्रबाट मतदान गर्नुभएको छ । मतदानपछि सङ्क्षिप्त प्रतिक्रिया दिँदै उहाँले यस निर्वाचनले दिने ‘म्यानडेट’ ले आगामी पाँच वर्षमा देश सञ्चालनको मार्गचित्र बनाउने बताउनुभयो ।

“संविधान ‘लिक’भन्दा बाहिर गइसकेपछि लामो समयसम्म राजनीतिक अनिश्चितता हुन्छ कि भन्ने भय थियो । त्यसैले यो निर्वाचन संविधानलाई ‘ट्रयाक’मा ल्याउन अनिवार्य थियो”, उहाँले भन्नुभयो, “निर्वाचन हुने नहुने द्विविधाका बिच देशभर शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ ।”

नेपाली कांग्रेसले सभापति थापालाई भाबी प्रधानमन्त्रीका रूपमा अघि सारेको छ । सभापति थापा सर्लाही निर्वाचन क्षेत्र नं ४ बाट उम्मेदवार हुनुहुन्छ ।

कसैको बहुमत आउँदैन, ‘नयाँ र पुरानो’ होइन ‘सही र गलत’ को भाष्य बनाऔँ : संयाेजक दाहाल

काठमाडाैं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले निर्वाचन नै देशको एक मात्र विकल्प भएको र यसले राष्ट्रलाई स्थायित्व र समृद्धिको बाटोमा लैजाने विश्वास व्यक्त गर्नुभएको छ ।  चितवनमा मतदान गरेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले निर्वाचन सफल भएकोमा खुशी व्यक्त गर्नुभयो ।

असहज परिस्थितिका बीच आयोजना गरिएको यस निर्वाचनलाई सफल पार्ने जिम्मेवारी सबै राजनीतिक दल, नागरिक समाज, सुरक्षा निकाय र निर्वाचन आयोगको भएको उहाँले बताउनु भयो । यो निर्वाचनलाई सामान्य मात्र नभएर असामान्य र राष्ट्रको भविष्यका लागि निर्णायक भएको टिप्पणी गर्नुभयो । उहाँले आम नेपाली जनतालाई उत्साहका साथ निर्वाचनमा सहभागी हुन अपील गर्नुभयो । निर्वाचनको नतिजाबारे बोल्दै उहाँले कुनै पनि दलको स्पष्ट बहुमत आउने सम्भावना नरहेको बताउनु भयो । उहाँकाअनुसार नेपाली कम्युनिष्ट पार्टी, नेपाली काँग्रेस, एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीबीच नै मुख्य प्रतिष्पर्धा हुने देखिएको छ ।

पछिल्लो समय चर्चामा रहेको ‘नयाँ र पुरानो’ दलको भाष्यप्रति असन्तुष्टि जनाउँदै दाहालले यो देशको हितमा नभएको तर्क गर्नुभयो । उहाँले नयाँ वा पुरानो भन्दा पनि ‘सही र गलत’ को भाष्य बनाउनुपर्नेमा जोड दिनुभयो । चितवनमा मतदान गरेलगत्तै उहाँ आफ्नो निर्वाचन क्षेत्र रुकुम पूर्वतर्फ प्रस्थान गर्नुभएको छ । उहाँ यस पटक रुकुम पूर्वबाट उम्मेदवार हुनुहुन्छ ।

मैले आफ्नो कर्तव्य पूरा गरेँ, म अत्यन्त खुशी छु : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मतदान गर्नुभएकाे छ । उहाँले काठमाडौँ क्षेत्र नं ५, धापासी निमावली फैमालचुली मतदान केन्द्रबाट मतदान गर्नुभएको हो ।

मतदानपश्चात् सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै निर्वाचन उत्साहपूर्वक भइरहेकामा आफू खुसी भएको बताउनुभयो । तपाईंको नेतृत्वमा निर्वाचन हुँदैछ भन्ने प्रश्नको जवाफमा उहाँले भन्नुभयो, “मैले मेरो आफ्नो कर्तव्य पूरा गरेँ, देशमा निर्वाचन हुँदैछ, म अत्यन्त खुसी छु ।

कांग्रेस उपसभापति विश्वप्रकाश शर्माद्वारा मतदान

काठमाडाैं । नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मतदान गर्नुभएको छ । पूर्व सांसदसमेत रहनुभएका शर्माले झापा क्षेत्र नम्बर १ मेचीनगर ९ कविशिरोमणी माविको मतदान केन्द्रमा बिहान मतदान गर्नुभएको हो ।

उहाँले बिहीवार बिहान साढे ७ बजे मतदान गर्नुभयो । उहाँले पार्टीको माहोल राम्रो रहेको प्रतिक्रिया दिनुभयो ।

रूकुम पश्चिमका काँग्रेस उम्मेदवार राजु केसीले खसाले पहिलो मत

काठमाडाैं । नेपाली काँग्रेस रुकुम पश्चिमबाट नेपाली काँग्रेसका उम्मेदवार राजु केसीले मतदान गर्नुभएको छ ।
उम्मेदवार केसीले मुसिकोटस्थित त्रिभुवन जनता उच्च माध्यमिक विद्यालयको मतदान केन्द्रबाट पहिलो मत खसाल्दै मतदानको शुभारम्भ गर्नुभएको हो ।

आफ्नो मताधिकार प्रयोग गरेपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै उम्मेदवार केसीले नेपाली काँग्रेसको जित सुनिश्चित भइसकेको दाबी गर्नुभयो । उहाँले सम्पूर्ण मतदाताहरूलाई निर्धक्क भएर आफ्नो मताधिकार प्रयोग गर्न र मतदान प्रक्रियाबाट कोही पनि वञ्चित नहुन हार्दिक आग्रह समेत गर्नुभएको छ ।

बिहानैदेखि मतदान केन्द्रमा मतदाताहरूको बाक्लो उपस्थिति रहेको छ भने सुरक्षा व्यवस्था पनि कडा पारिएको छ । स्थानीय बासिन्दाहरू उत्साहका साथ लाइनमा बसेर आफ्नो पालो पर्खिरहेका छन्।

प्रलोपाका उम्मेदवार जनार्दन शर्माद्वारा मतदान, जित सुनिश्चित भएको दाबी

काठमाडाैं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का तर्फबाट रुकुम पश्चिमका प्रतिनिधि सभा सदस्य उम्मेदवार जनार्दन शर्माले मतदान गर्नुभएको छ । उहाँले मुसिकोट नगरपालिकाको सेरिगाउँस्थित यमुनानन्द माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रबाट आफ्नो मताधिकार प्रयोग गर्नुभएको हो ।

मतदानपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पूर्वमन्त्री समेत रहनुभएका शर्माले आफ्नो जित सुनिश्चित भएको बताउनुभयो । शर्माले पहिलो पटक गठन भएको प्रलोपाको तर्फबाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिनुभएको हो । रुकुम पश्चिममा उहाँको उम्मेदवारीलाई निकै चासोका साथ हेरिएको छ ।

मतदान केन्द्रहरूमा बिहानैदेखि मतदाताहरूको बाक्लो उपस्थिति रहेको र निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भइरहेको स्थानीय प्रशासनले जनाएको छ ।

अमेरिकी केन्द्रीय कमाण्डका अनुसार हालसम्म १७ इरानी जहाजहरू नष्ट

एजेन्सी । अमेरिकी केन्द्रीय कमाण्ड (सेन्टकम) ले अमेरिकी सेनाले १७ इरानी जहाजहरू नष्ट गरी सम्पूर्ण इरानी नौसेनालाई डुबाइदिएको बताएको छ ।

सेन्टकमले यो पनि भनेको छ कि अमेरिका–इजरायल आक्रमण शुरु भएदेखि इरानी पक्षले ५ सय भन्दा बढी ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ । त्यस्तै २ हजार भन्दा बढी ड्रोनहरू प्रहार गरेको छ ।

पछिल्लो समय इरान र इजरायल र अमेरिकाबीच युद्ध जारी छ ।

प्रतिनिधि सभा निर्वाचन : देशभर मतदान जारी, मतदान गर्न जाँदा यी कागजात लैजानुहोस्

काठमाडाैं । प्रतिनिधि सभा सदस्य निर्वाचनको दिन बिहीवार देशभर मतदान भइरहेको छ ।  राजनीतिक दलका प्रमुख शिर्ष नेताहरु मदानमा सहभागि हुनुभएको छ । निर्वाचन आयोगले सरकारी कागजातमध्ये कुनै एउटा भएको खण्डमा मतदानमा सहभागि हुन पाइने जनाएको छ ।

आयोगका सूचना अधिकारी सुमन घिमिरेले मतदाता नामावलीमा नाम दर्ता भएका सबै मतदाताले मतदानमा सहभागि हुन पाउने बताउनु भयो । उहाँकाअनुसार मतदाता परिचयपत्र नभएको वा नस्ट भएको अवस्थामा नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, सवारी चालक अनुमतिपत्र र जग्गाधनी प्रमाण पूर्जामध्ये कुनै एउटा सक्कल कागजात साथमा लिएर जाँदा मतदान गर्न पाइन्छ ।

घिमिरेले मतदानमा सहभागि भई मनपर्ने उम्मेदवार र दलको चुनाव चिन्हमा नबिग्रिनेगरी मतदान गर्न सबैमा आग्रह समेत गर्नुभयो ।

देशभर मतदान जारी, अत्यावश्यक सवारी साधन र हवाई सेवा सञ्चालनमा

काठमाडाैं । प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत आज बिहीवार देशभर मतदान भइरहेको छ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र विश्वसनीय बनाउन मतदानको दिन सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।

सुरक्षा व्यवस्थालाई मध्यनजर गरेर अत्यावश्यकबाहेक अन्य सवारी साधन सञ्चालनमा रोक लगाइएको निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेले जानकारी दिनुभयो । उहाँकाअनुसार अत्यावश्यक सेवा, कुटनीतिक नियोग र निर्वाचन आयोगले तोके बमोजिमका पास भएको सवारी साधन मात्रै संचालन गर्न दिइएको छ ।

अन्तर्राष्ट्रिय तथा राष्ट्रिय वायुसेवाका उडानहरू भने नियमित रूपमा सञ्चालन भइरहेको उहाँले जानकारी दिनुभयो । हवाई उडानको टिकट भएका यात्रुहरुलाई यात्रा गर्नको लागि विमानकम्पनीहरुले उपलब्ध गराएको सवारी साधन प्रयोग गर्न पाउनेगरि आयोगले व्यवस्था गरेको छ ।

आयोगले निर्वाचनको सुरक्षा तथा व्यवस्थापनलाई प्रभावकारी बनाउन सर्वसाधारणलाई अनावश्यक सवारी सञ्चालन नगर्न आग्रह गरेको छ ।

रास्वपा सभापति लामिछानेद्वारा मतदान

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मतदान गर्नुभएको छ । बिहीवार बिहान सभापति लामिछानेले काठमाडौंको चुच्चेपाटीस्थित उपत्यका खानेपानी लिमिटेडको महाँकाल मतदान केन्द्रबाट मतदान गर्नुभएको हो ।

मतदानपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले लोकतन्त्रको सुन्दरता नै निर्वाचन प्रणाली भएको भन्दै निर्वाचन परिणाम स्वीकार्नुको विकल्प नभएको बताउनु भयो । उहाँले जेन–जी आन्दोलनको जगमा विशेष परिस्थितिमा भइरहेको निर्वाचनमा सहभागि भई सही नेतृत्व चयन गर्न समेत सबैमा अपिल गर्नुभयो । उहाँले जेन–जी पुस्ताको माग सम्बोधन गर्न अग्रसर हुने पहिलो पार्टी रास्वपा भएको दाबी पनि गर्नुभयो ।

उहाँ चितवन–२ बाट प्रत्यक्षतर्फ उम्मेदवार समेत रहनुभएको छ । आज पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली (प्रत्यक्ष)तर्फ १६५ निर्वाचन क्षेत्र र समानुपातिकतर्फ ११० स्थानका लागि निर्वाचन भइरहेको हो । देशभर मतदान कार्य जारी छ ।