समाचार | Page 248 of 5953 | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८३, सोमबार

जनताले गाँस काटेर तिरेकाे करकाे अवमूल्यन नगर्न सांसद श्रेष्ठकाे आग्रह

काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) का सांसद कृष्णकुमार श्रेष्ठले जनतालाई सार्वजनिक ऋणको भारी बोकाएर बजेटमा आफ्नो राजनीतिक स्वार्थ पूरा गर्ने दिवा सपना नदेख्न चेतावनी दिनुभएको छ । शनिबार प्रतिनिधि सभा बैठकमा विनियोजन शीर्षकहरुमाथिको छलफलमा भाग लिँदै सांसद श्रेष्ठले यस्तो चेतावनी दिनुभएको हो ।

सांसद श्रेष्ठले १६५ निर्वाचन क्षेत्रका जनताले आफ्नो गाँस काटेर तिरेको करको अवमूल्यन नगर्न आग्रह गर्दै राज्यको स्रोत साधनमा समानुपातिक अधिकार दिइनुपर्ने बताउनुभयो । उहाँले राज्य स्रोतको दुरुपयोग गर्ने दुःशाहसलाई जनताले २०८४ मा जवाफ दिने बताउँदै बजेट विनियोजनमा गरिएको बेइमानी तत्काल सच्याउन माग गर्नुभयो ।

सांसद श्रेष्ठले बजेटमाथि कब्जाको नीतिले आगामी चुनाव जित्छु भन्ने लागेको छ भने दिवा सपनाबाट बिउँझन आग्रह गर्नुभयो । सरकारले ल्याएको बजेटले मधेस प्रदेशलाई उपेक्षा गरेको बताउँदै उहाँले सिंगो बजेट आफू अनुकुलका क्षेत्रमा प्रयोग गर्ने ठूला नेताको प्रवृत्ति यो वर्षपनि दोहोरिएको दाबी गर्नुभयो ।

सांसद श्रेष्ठले दैलेखमा रहेको पेट्रोलियम पदार्थ मिथेन ग्यासको अन्वेषणबाट आएको प्रारम्भिक प्रतिवेदनले सबैलाई उत्साहित बनाएको बताउँदै अब कनिका छरे जसरी बजेट छर्ने प्रवृत्ति बन्द गरी यसप्रकारका परिणाममुखी परियोजनामा लगानी वृद्धिका लागि आग्रह गर्नुभयो ।

 

मौसम खुलेपछि देखिएको चरिकोट बजार

चरिकोट बजार दोलखाको भिमेश्वोर नगरपालिका–६ सिमपानीबाट बिहान मौसम खुलेपछि देखिएको सदरमुकाम चरिकोट बजार।

तस्बिर : प्रणय पराजुली

प्राप्त उपलब्धीकाे रक्षा गराैँ : उपप्रधानमन्त्री सि‌ह

काठमाडाै‌ । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले प्राप्त अधिकारको सुरक्षाका लागि सबै लाग्नुपर्ने बताउनुभएको छ । शनिबार काठमाडौंमा नेशनल किक बक्सिङ एशोसिएशन्द्वारा आयोजित तेस्रो मंगलादेवी स्मृति प्रो कि किक बक्सिङको उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

मन्त्री सि‌हले  अहिलेको अधिकार मंगलादेवी सिंह जस्ता नारीहरुले लडेर ल्याउनुभएको जिकिर गर्नुभयो । उहाँले मंगलादेवी सिंहको नेतृत्वमा संगठन गर्न, महिला संगठित हुन र महिलालाई मताधिकार मात्रै नभइ पैतृक सम्पत्तिमा पनि महिलाको हक छोराहरुको समान हुनुपर्छ भनेर लड्नुभएको बताउनुभयो ।

उपप्रधानमन्त्री सिंहले भन्नुभयो, ‘जसले हामीलाई यो खेल खेल्न अधिकार दिएको छ, जुन बोल्ने अधिकार दिएको छ । संगठन गर्न नपाउने समयमा लडेर अहिलेको अवस्था छ । महिलाहरु संगठित गरेर महिलाहरुको आवाजलाई अघि बढाउनुपर्छ, महिलालाई भोटिङ राइट्स मात्रै नभएर पैतृक सम्पतीमा पनि महिलाको हक छोराहरुको समान हुनुपर्छ भनेर मंगलादेवी सिंहले राजनीतिक नेतृत्व गर्नुभएको थियो । यसको महत्व अझ बढेको छ ।’

उपप्रधानमन्त्री सिंहले खेलकुदले अनुशासन सिकाउने बताउँदै खेल क्षेत्रमा नेपालको सहभागिता बढिरहेको बताउनुभयो ।

संसदप्रति मन्त्रीहरु जिम्मेवार भएनन् : सचिव भट्टराई

काठमाडाै‌ । नेकपा एमाले सचिव योगेश भट्टराईले संसदप्रति मन्त्रीहरु जिम्मेवार नभएको भन्दै आपत्ति जनाउनुभएको छ । प्रतिनिधि सभाको शनिवारको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले एकै पटक १० वटा मन्त्रालय माथिको छलफल गर्नुपर्ने स्थिति आउनु मन्त्रीको संसदप्रतिको गैरजिम्मवारी भएको जिकिर गर्नुभयो । उहाँले संसद चलिरहेको बेलामा विनियोजन शीर्षकमाथिको छलफल भइरहेको बेलामा त्यो भन्दा महत्वपूर्ण अर्को काम के होला ? भन्दै प्रश्न गर्नुभयो ।

सचिव भट्टराईले संविधानले प्रधानमन्त्रीलाई संसदप्रति जवाफदेही बनाउने र मन्त्रीहरुलाई प्रधानमन्त्री र संसदप्रति जवाफदेही बनाउने बताउनुभयो । संसदमा उपस्थित भएर गम्भीरताकासाथ नलिने हो भने आफूले प्रस्तुत गरेका विधेयकहरुमा गम्भीरताका साथ अन्यत्र भाग नलिए त्यसप्रति जिम्मेवार नभइने बताउनुभयो ।

सचिव भट्टराईले विधेयकमा गम्भीरताका साथ भाग लिन मन्त्रीहरुलाई सुझाव दिनुभयो ।

नेपालमा संघीयता सम्भव छैन,स्थानीय तह बलियाे बनाऔँ : अध्यक्ष केसी

काठमाडाैं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आफू संघीय प्रणालीको विरोधी नभएको बताउनुभएको छ । शनिबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

अध्यक्ष केसीले नेपालमा संविधान निर्माण गर्दा खुशीराजीले संघीयता स्वीकार नगरिएको बताउनुभयो । उहाँले अहिले नेपाली जनतालाई त्यो प्रदेशको आवश्यकता नभएको बताउनुभयो । प्रदेशको भारी बोकाएर नेपाल राष्ट्रलाई ऋणमा डुबाएर विचल्ली गराउने उद्देश्यका साथ संघीयता बोकाइदिएको उहाँको जिकिर छ ।

अध्यक्षा केसीले राष्ट्रको हितमा नहुने प्रणाली खारेज गर्नुपर्ने बताउनुभयो । आफू संघीय प्रणालीको विरोधी नभइ संघीयता नेपालमा सम्भव नरहको दाबी गर्नुभयाे ।

उहाँले भन्नुभयो, ‘नेपालमा संविधान निर्माण गर्दा खुशीराजीले संघीयता स्वीकार गरेका होइनौँ । म त्यो दुवै संविधान सभामा छु । केके भएर संविधानमा संघीयता स्वीकार गरिएको हो ? अहिले नेपाली जनतालाई त्यो प्रदेशको आवश्यकता हो ? नेपाली जनतालाई होइन, त्यो प्रदेशको भारी बोकाएर नेपाल राष्ट्रलाई ऋणमा डुबाएर बिचल्ली गराउने उद्देश्यका साथ संघीयता बोकाइदिएको थियो । अहिले ठूलो संख्या छ नेपालमा जनताको की चित्रबहादुरलाई अरु कुरा त केही छैन, कुरा मात्रै गर्छ भन्छन् । प्रदेश खारेज गर्ने कुरा ठिक छ भन्छन् । मैले भन्न मन लागेर भनेको होइन । कुनैपनि प्रणाली राष्ट्रको हितमा हुन्छ । मलाई त भन्दा भन्दा चित्रबहादुर संघीयताविरोधी हो रे । म किन हुने संघीयता विरोधी ? नेपालमा संघीयता सम्भव छैन । यसको आवश्यकता छैन भन्नु र संघीय प्रणालीको विरोध हुने एउटै कुरा हो ? यो गलत ।’

सांसद केसीले प्रदेशमा हुने खर्च स्थानीय तहलाई दिएर स्थानीय तह बलियो बनाउनुपर्ने बताउनुभयो ।

भिजिट भिसा प्रकरणकाे छानबिन गर्न तत्काल समिति बनाऔँ : सांसद माेदी

काठमाडाैं । नेकपा (माओवादी केन्द्र) का सांसद अमनलाल मोदीले भिजिट भिसा प्रकरणमा अनुसन्धान गर्न छानविन समिति बनाउन एक महिना कुर्न नहुने बताउनुभएको छ ।

प्रतिनिधि सभाको शनिबारको बैठकमा बोल्दै उहाँले गृहमन्त्री रमेश लेखकको बारेमा भिजिट भिसा प्रकरण प्रश्न उठेको भन्दै यसबारेमा छानविन समिति बनाउन एक महिना कुर्न नहुने बताउनुभएकाे हाे।

सांसद माेदीले त्यसअघि नै छानविन समिति बनाएको खण्डमा गृहमन्त्रीमाथि लागेको आरोपबारे पनि अनुसन्धान भइ संसद सुचारु हुन सहज हुने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘गृहमन्त्रीज्यूको बारेमा गम्भीर प्रश्न उठेको छ । यसमा भिजिट भिसाको सम्बन्धमा आज देखिरहनुभएको छ । सरुवा, बढुवा प्रणालीमा पनि जुनियरलाई सिनियर र सिनियरलाई जुनियर भन्ने गरिएको छ । यी सबै विषयहरुमा कमसेकम यो संसदले एउटा छानविन समिति बनाउनुपर्छ । एक महिना भित्रमा आफै पनि बनाउने भनेर बोल्नुभएको छ । एक महिना किन पर्खिने चाँडै गरिदिए एउटा निकास पनि हुन्छ । तपाईंमा लागेको, गृह मन्त्रालय, भिजिट भिसामा देखिएको समस्याहरुको बारेमा समाधान हुन्छ । गृह प्रशासनसँग सम्बन्धित विकृति, विसंगतिलाई पनि अन्त्य गर्न त्यो मोडलबाट जानुपर्छ ।’

सांसद मोदीले भिजिट भिसा प्रकरणमात्र नभइ गृह प्रशासनसँग सम्बन्धित विकृति अनुसन्धान गर्न पनि छानविन समिति बनाउनुपर्ने माग गर्नुभयो ।

चितवनमा सवारी दुर्घटना : सात जनाको मृत्यु, १८ घाइते

काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिकाको खहरे पुलमा सवारी दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छभने अन्य १८ जना घाइते भएका छन् ।

चितवनका प्रहरी प्रमुख गोविन्द पुरीका अनुसार धनगढीबाट काँकडभिट्टातर्फ गइरहेको यात्रुवाहक बस र मकवानपुरबाट नारायणगढ आइरहेको विद्युतीय सवारी साधन ठाेक्किँदा उनीहरुको मृत्यु भएको हो ।

घाइतेको चितवन मेडिकल कलेज, पुरानो मेडकल कलेज र भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।

‘देशको नीति परिवर्तन गर्नु रास्वपाकाे मुख्य उद्देश्य’

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले रास्वपा स्थापनाको मुख्य उद्देश्य देशको नीति परिवर्तनका लागि भएको बताउनुभएको छ । पार्टी स्थापना दिवसका अवसरमा माइतीघर मण्डलामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री बुर्लाकोटीले भिजिट भिसा प्रकरणमा पछिल्लो समयमा मात्रै चार अर्बभन्दा बढी रकम भ्रष्टाचार भएकाले मुख नखोल्नेहरुको छानविन गरौं भनेर सदनमा आवाज उठाएको बताउनुभयाे ।

उहाँले बन्द कोठाभित्र निजी मन्थन नगरौँ भनेर नै सडकमा ऐक्यवद्धता गर्न र लुटतन्त्रविरुद्ध खबरदारी गर्दै सडकदेखि सदनसम्म आवाज उठाउनकै लागि पार्टी स्थापनाका दिन पारेर सबैलाई सडकमा आउन आह्वान गरेको उहाँको भनाइ थियो । महामन्त्री बुर्लाकोटीले एउटा रवि लामिछानेले सिध्याउने भयका कारण झुटो मुद्दा लगाएको आरोप लगाउँदै २०८४ पछि लुटतन्त्र खारेज र सुसंस्कृत राजनीतिको सम्बर्द्धन गर्ने उद्घोष गर्नुभयो ।

उहाँले पार्टी स्थापना दिवसको अवसरमा स्वस्फ्रर्त रुपमा लुटतन्त्र खारेजीको नारालाई सडकमै ल्याउने निर्णय गरेको जानकारी पनि दिनुभयो ।

गृहमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्छ : सांसद कार्की

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्कीले भिजिट भिसा प्रकरणबारे उच्चस्तरीय छानविन हुनुपर्ने बताउनुभएको छ । शनिबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले आफूहरुले जनताको आावज उठाउँदा पनि सरकार बेखबर रहेकोप्रति चिन्ता व्यक्त गर्नुभएकाे हाे ।

सांसद कार्कीले रुस, युक्रेन सेनामा रहेका नेपालीहरु पनि भिजिट भिसाबाटै त्यहाँ पुगेको बताउनुभयो । गृहमन्त्रीले भिजिट भिसा प्रकरणमा जोडिनुभएको आरोप लगाउँदै आफूहरुले राजीनामा माग गरेको बताउनुभयो । गठबन्धन दलसँग पनि सुशासन कायम गर्ने भए गृहमन्त्रीलाई बर्खास्ती गर्नुपर्ने माग गर्नुभयो ।

सांसद कार्कीले  एक करोड दैनिक आम्दानीको हिस्सा गठबन्धन सरकारका टाउकेहरुले पनि खाएका त छैनन् ? भन्दै प्रश्न गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘हामीले नेपाली जनताको लागि आवाज उठाएका छौँ । रसियामा गएर काल कुरेर बसेका दाजुभाईको लागि हामीले आवाज उठाएका छाैँ । यो जाने बाटो भिजिट भिसाको हो । हाम्रा दाजुभाइ दिदीबहिनीहरु बेचिएका छन् । उनीहरुमार्फत् लाखौँ रुपैयाँ असुल गर्ने जस्तो निर्लज्जता केही पनि छैन । भिजिट भिसा प्रकरणबारे उच्चस्तरीय छानविन हुनुपर्छ । गृहमन्त्रीज्यु पनि अहिले त्यो दायरामा आउनुभएकाले उहाँको राजीनामा माग गरेका छौँ । हाम्रो माग जायज छ ।’

सांसद कार्कीले पैसा कमाउन देश पनि बेच्ने हो ? भन्दै प्रश्न गर्नुभयो । अविलम्व उच्चस्तरीय छानविन समिति गठन हुनुपर्ने बताउनुभयो । गृहमन्त्री रमेश लेखकले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताउनुभयो ।

संसदमा जनताकाे आवाज सुनिएन : सुमना श्रेष्ठ

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पाटींकी सांसद सुमना श्रेष्ठले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानविन आयोग बनाउन माग गर्नुभएको छ ।शनिबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

सांसद श्रेष्ठले अहिलेसम्म जनताको माग राखेर आन्दोलन गर्दा सदनमा जनताको आवाज नसुनिएको बताउनुभयो । उहाँले सरकारले संसदीय छानविन समिति, उच्चस्तरीय छानविन आयोग किन नबनाएको भन्दै प्रश्न गर्नुभयो ।

उहाँले जनताले सदनमा आफ्नो आवाज नसुन्ने हो भने कहाँ गएर सुनाउने ? भन्ने उहाँको प्रश्न छ । सरकार निर्बलको लागि हो की शक्तिशालीहरुको भन्दै प्रश्न गर्नुभयो ।

सांसद श्रेष्ठले भिजिट भिसाबाटै रसिया, खाडी मुलुकमा नेपालीहरु जाने गरेको बताउनुभयो ।

मान्छेको अहंकार सबैभन्दा ठूलो खतरा : प्रधानमन्त्री

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले अनुशासन योगको पहिलो सूत्र भएको बताउनुभएको छ । शनिबार ललितपुरमा ११ औं विश्व योग दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नेपाली समाजमा अनुशासनको कमी रहेको बताउनुभयाे ।

उहाँले शनिबार विश्वमा अहिंसा र शान्ति चाहिएको यसको पूर्ति योगले मात्रै गर्नसक्ने जिकिर गर्नुभयो । हतियारधारी र अहंकारीहरुले योग र अनुशासन बुझ्न जरुरी रहेको बताउनु भयो । मान्छेको अहंकार सबैभन्दा ठूलो खतरा रहेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘अथ योगानुशासनम । अब योग अनुशासन प्रारम्भ हुन्छ । योग भन्नेबित्तिकै अनुशासनको कुरा आउँछ । आज नेपाली समाज पीडित केमा छ भने अनुशासनको समस्या छ, अनुशासनहिनता छ । अनुशासन योगको पहिलो सूत्र हो । अनुशासनमा बस्न सकिएन भने ज्ञान, ध्यानले केही पनि हुँदैन । ध्यानको पनि अनुशासन हुन्छ । अनुशासनमा बसेन भने कसरी ध्यान हुन्छ । हरेक चिजको अनुशासन हुन्छ । समाजको अनुशासन हुन्छ । अष्टाङ्ग योगका आठ सूत्र छन् । आज विश्वलाई शान्ति चाहिएको छ, हिंसा होइन, अहिंसा चाहिएको छ । आज विश्वले खोजिरहेको हाम्रा पूर्खाले उहिलेदेखि भन्ने गर्दथे, ओम शान्ति, ओम शान्ति, शान्ति । कति महत्वपूर्ण छ आज पनि । यही यम र नियम मात्रै बुझिदिए हतियारधारीहरुले भने, अहंकारधारीहरुले भने । हतियारमात्रै केही खतरा होइन, बन्दुक आफैँ पड्किँदैन, त्यसमा गोली हुन्छ, बहुत खतरनाक हुन्छ । मान्छेको अहंकारले गर्दा हतियार बनाउँछ, चलाउँछ, विनाश गर्दछ, विनाशमा रमाउँछ । विनाशमा थप अहंकार पैदा गर्दछ । अहंकारी हुन्छ । हिंसा होइन, अहिंसा । सत्य व्यवहार गर्नुपर्छ ।’

प्रधानमन्त्री ओलीले आवश्यकता नभएका कुराहरुको लोभ गर्न नहुने बताउँदै आफूलाई स्वस्थ राख्नुपर्ने बताउनुभयो ।

बिपी राजमार्गमा १५ दिनका लागि राति यातायात सञ्चालन रोक

काभ्रेपलाञ्चोक । बिपी राजमार्गमा भोलि शनिबार राति १२ : ३० देखि बिहान ५ : ०० बजेसम्म १५ दिनका लागि सडक सञ्चालनमा रोक लगाइने भएको छ । काभ्रेपलाञ्चोक, सिन्धुली र रामेछाप जिल्लाको सुरक्षा समितिका पदाधिकारीको अन्तरजिल्ला समन्वय समितिको बैठकले यस्ताे निर्णय गरेको हो ।

मनसुनजन्य विपदबाट हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै उक्त राजमार्गमा सञ्चालन हुने सार्वजनिक र निजी सवारीसाधनलाई हाललाई १५ दिनका लागि राति सञ्चालनमा रोक लगाउने निर्णय गरिएको काभे्रपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी उमेश ढकालले बताउनुभयो । उहाँका अनुसार वर्षामा बाढीपहिरोको जोखिम भएकाले यस अवधिमा काठमाडौंबाट जाने सवारीलाई काभे्रपलाञ्चोकको काभ्रेभञ्ज्याङ र काठमाडौंतर्फ आउने सवारीलाई सिन्धुलीको खुर्कोटमा रोकिने छ ।

गत साल असोजको बाढीपहिरोले बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको चौकीडाँडाबाट सिन्धुलीको बर्खेखोलासम्मको आठ किलोमिटर सडकखण्डमा भने सडक नै बगाएका कारण खोलामा कतै एकतर्फी, कतै दुईतर्फी यातायात सञ्चालन हुनेगरी अस्थायी सडक सञ्चालनमा ल्याइएको थियो । पूर्वी नेपाल जोड्ने छोटो दूरीका रूपमा रहेको उक्त राजमार्गबाट दैनिक हजारौँ यातायातका साधान आवतजावत गर्छन् ।

बाढीपहिरोले राजमार्गको कुल एक सय ६० किमीमध्ये तेस्रो खण्डअन्तर्गत सिन्धुलीको खुर्कोटबाट नेपालथोकसम्म ३४ किमी र चौथो खण्ड नेपालथोकबाट काभ्रेपलाञ्चोकको धुलिखेलसम्म ५० किमी गरी ८४ किमी सडकको विभिन्न स्थानमा बढी क्षति पुर्याएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ । कार्यालयले क्षतिग्रस्त राजमार्ग स्थायी निर्माणका लागि चार खण्डमा ठेक्काको प्रक्रियामा समेत अघि बढाइरहेको छ ।

इजरायल–इरान द्वन्द्व नियन्त्रणका लागि कुटनीति आवश्यक : महासचिव गुटेरेस

एजेन्सी । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले शुक्रवार इजरायल–इरानी द्वन्द्वलाई नियन्त्रण बाहिर जानबाट रोक्न कुटनीतिको लागि आह्वान गर्नुभएको छ । सुरक्षा परिषद्को आपतकालीन बैठकमा टिप्पणी गर्दै गुटेरेसले कुटनीतिको पहल गर्न जोड दिनुभएको हो ।

द्वन्द्वको विस्तारले कसैलाई फाइदा नहुने भन्दै उहाँले युद्ध हुन दिन नहुने बताउनु भयो । इजरायल र इरानबीचको द्वन्द्व द्रुत गतिमा बढ्दै गइरहेको छ । जसमा भयानक क्षति भइरहेको छ । नागरिकहरूको मृत्यु र घाइते हुने, घरहरू, छिमेकहरू र नागरिक पूर्वाधारहरू ध्वस्त हुने र आणविक सुविधाहरूमा आक्रमण हुने जस्ता घटनाहरू समावेश छन् ।

यस द्वन्द्वको मुख्य प्रश्न आणविक विषय रहेको उहाँको भनाइ छ । गुटेरेसले सुरक्षा परिषद्लाई संवादको लागि एकता र तत्परताका साथ कार्य गर्न आग्रह गर्नुभयो । उहाँले अन्तर्राष्ट्रिय समुदायलाई दिगो शान्ति प्रदान गर्नसक्ने एकमात्र मार्गको पछाडि जुट्न आग्रह गर्नुभयो ।

‘व्यक्तिको जीवनशैलीमा सकारात्मक परिवर्तन ल्याउन याेगकाे भूमिका महत्वपूर्ण’

काठमाडाैं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले योग नेपालको मौलिक, सांस्कृतिक र प्रयोगात्मक सम्पत्ति भएको बताउनुभएको छ । शनिबार ललितपुरमा ११ औँ विश्व योग दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

मन्त्री पाण्डेले योगको माध्यमबाट व्यक्ति, परिवार, समाज र संस्थासँग जोड्दै यि सबैलाई राष्ट्रिय भावमा एकतावद्ध गरी राष्ट्रिय एकता र आपसी भाइचारा बढाउन समेत मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । अभ्यास गरी प्राप्त हुँदै आएको योग सम्बन्धी ज्ञान, सोको अभ्यासमार्फत सबै मानिसका लागि उपयोगी योगका विभिन्न विधिहरु आफ्नै भूमिबाट विकास हुँदै क्रमशः विश्वस्तरमा फैलिएको बताउनुभयो ।

मन्त्री पाण्डेले योगको समुचित उपयोगबाट नै हाम्र काम, कर्तव्य र व्यवहारमा सुधार गरी व्यक्तिको सिर्जनशिलता र नवप्रवर्तनमा समेत थप योगदान गर्न सकिने बताउनुभयो । योगको माध्यमबाट स्वस्थ, शान्त र अनुशासित नागरिक विकास गर्न र यसकै माध्यमबाट स्वस्थ एवं सभ्य समाज निर्माण गर्न सकिने उल्लेख गर्नुभयो । योगको क्षेत्रमा भएका प्रयोग र सकारात्मक कदमलाई समय सापेक्ष सुधार गरी व्यक्तिको जीवनशैलीमा सकारात्मक परिवर्तन ल्याउने बताउनुभयो ।

मन्त्री पाण्डेले योग मानवका लागि जीवन उपयोगी रहेको बताउनुभयो । योगका माध्यमबाट व्यक्तिको शारीरिक, मानसिक, मनोवैज्ञानिक, भावनात्मक विकासको मार्ग प्रशस्त हुने जिकिर गर्नुभयो । योगले शरीर, मन, भावना र चेतनालाई जोड्ने बताउनु भयो । सिंगो पृथ्वी र मानव स्वास्थ्यका लागि योग भन्ने आदर्श वाक्यसहित अन्त्र्राष्ट्रिय योग दिवस मनाइरहिएको छ ।

बेलायतमा यस वर्षकै सबैभन्दा बढी गर्मी

एजेन्सी । बेलायतमा यस वर्षको सबैभन्दा बढी गर्मी भएको छ । जसरकारण इङ्गल्याण्डभर एम्बर गर्मी स्वास्थ्य चेतावनी जारी गरिएको थियो । मौसम कार्यालयको पछिल्लो पूर्वानुमानअनुसार इङ्गल्याण्डको दक्षिणी भागको धेरैजसो भागमा बिहीवार दिउँसोसम्म तापक्रम ३१ सेल्सियस र ३२ सेल्सियसको बीचमा बढेको थियो ।

बेलायती स्वास्थ्य सुरक्षा एजेन्सीले आगामी सोमबार बिहानसम्म सम्पूर्ण इङ्गल्याण्डको लागि एम्बर गर्मी स्वास्थ्य चेतावनी जारी गरेको छ । जसले स्वास्थ्य र सामाजिक हेरचाह सेवाहरूमा दबाब बढ्ने सम्भावना रहेको स्पष्ट हुन्छ । एजेन्सीले पहिले नै स्वास्थ्य अवस्था भएका र ६५ वर्षभन्दा माथिका व्यक्तिहरूमा मृत्युमा वृद्धि हुनसक्ने चेतावनी पनि दिएको छ ।

क्षेत्रीय अग्नि सेवाहरूले उच्च तापक्रमको बीचमा पानी सुरक्षाको बारेमा चेतावनी पनि जारी गरेका छन् । मौसम कार्यालयकाअनुसार साता बढ्दै जाँदा तापक्रम अझ बढी बढ्नसक्छ ।