चीनको राष्ट्रिय दिवसका अवसरमा दिइने सात दिने लामो बिदा ‘गोल्डेन विक’ को अवधिमा चीनका साना शहर र काउन्टीहरू पर्यटकीय आकर्षणको केन्द्र बनेका छन् । ठूला शहरहरूको भीडभाडबाट टाढा, स्थानीय संस्कृति, ऐतिहासिक सम्पदा र खेलकुद गतिविधिका लागि प्रसिद्ध यी क्षेत्रहरूमा पर्यटकको चाप यस वर्ष उल्लेख्य रूपमा वृद्धि भएको छ । अक्टोबर १ देखि शुरु भएको बिदाका अवसरमा उत्तरी चीनको शान्सी प्रान्तस्थित रुईचेङ काउन्टीमा पर्यटकको विशेष चहलपहल देखिएको छ । त्यहाँस्थित युआन वंशकालीन प्रसिद्ध युआन म्युरल्सका लागि परिचित योङ्ले दरबारले यो वर्ष अघिल्लो वर्षको तुलनामा ५० प्रतिशत बढी पर्यटक भित्र्याएको छ । चिनियाँ एनिमेटेड फिल्म ‘अल विसेज कम ट्रू’ ले गर्दा यस क्षेत्रको ऐतिहासिक वास्तुकलाप्रति युवा पुस्ताको आकर्षण ह्वात्तै बढेको हो । पर्यटकहरूले यहाँको गहिरो सांस्कृतिक विरासत र शिल्प कौशलको मुक्तकण्ठले प्रशंसा गरेका छन् ।
मध्य चीनको हुनान प्रान्तस्थित फुरोङ शहर पनि आफ्नो झरना र तुजिया जातीय संस्कृतिका कारण विदेशी पर्यटकका लागि आकर्षक गन्तव्य बनेको छ । इटाली र इरानबाट आएका पर्यटकहरूले फुरोङको वातावरणलाई आफ्नो घरको जस्तै महशुस गरेको प्रतिक्रिया दिएका छन् । उनीहरूकाअनुसार ठूला शहरभन्दा यस्ता साना र परम्परागत सहरले चिनियाँ संस्कृतिको वास्तविक झल्को दिने गर्दछ । यसैगरी, हुबेई प्रान्तको जिङशान काउन्टी, जसलाई ’चीनको टेनिस सहर’ मानिन्छ, खेलकुद पर्यटनको हबका रूपमा विकसित भएको छ । ४० वर्षभन्दा लामो टेनिस इतिहास बोकेको यस काउन्टीमा ‘गोल्डेन विक’ कै अवसरमा आयोजित टेनिस प्रतियोगिताले खेलाडी र खेलप्रेमीहरूलाई आकर्षित गरेको छ । अष्ट्रेलियाली खेलाडी डेन स्विनीले जिङशानको टेनिस पूर्वाधार र स्थानीय आतिथ्यताको प्रशंसा गर्दै यहाँको अनुभवलाई अविस्मरणीय बताएका छन् । चीनका यी साना गन्तव्यहरूले परम्परागत संस्कृति र आधुनिक खेलकुद सुविधालाई सफलतापूर्वक एकसाथ अगाडि बढाएका छन्, जसले गर्दा पर्यटकीय गन्तव्यहरूको विविधीकरणमा सघाउ पुगेको छ ।




