काठमाडौँ ।
परराष्ट्रमन्त्री शिशिर खनालले हिमाली क्षेत्रमा देखिने वातावरणीय तथा प्राकृतिक विपद् कुनै एक मुलुकको मात्र समस्या नभई सीमापार प्रभाव पार्ने साझा चुनौती भएको बताउनुभएको छ । काठमाडौंमा शनिवार आयोजित काष्ठमण्डप संवादमा सम्बोधन गर्दै मन्त्री खनालले यस्तो बताउनुभएको हो । उहाँले हालैको भोटेकोशी विपद्प्रति दुःख व्यक्त गर्दै मानवीय सहयोग र ऐक्यवद्धताका लागि चीन सरकार तथा चिनियाँ जनतालाई धन्यवाद दिनुभयो । उहाँले राजनीतिक सीमाले देशहरूलाई छुट्याए पनि हिमालय र यसको पारिस्थितिक प्रणाली सीमाभन्दा परस्पर जोडिएको बताउनु भयो । त्यसैले वातावरणीय झट्का तथा प्राकृतिक विपद्को सामना गर्न साझा जिम्मेवारी, समन्वित पूर्वतयारी र क्षेत्रीय सहकार्य आवश्यक रहेको उहाँको भनाइ छ । नेपाल–चीन सम्बन्धबारे चर्चा गर्दै परराष्ट्रमन्त्री खनालले भूगोल दुई देशबीचको सम्बन्धको महत्वपूर्ण आधार भएपनि सम्बन्धको भविष्य भूगोलले मात्रै निर्धारण नगर्ने बताउनु भयो । नेपाल र चीनबीच सदियौंदेखि सीमापार समुदाय, व्यापार, संस्कृति तथा जनस्तरको आदानप्रदानमार्फत सभ्यतागत सम्बन्ध कायम रहेको उहाँले उल्लेख गर्नुभयो ।
मन्त्री खनालले नेपालले एक चीन नीतिप्रति आफ्नो प्रतिवद्धता दोहो¥याउँदै नेपालको भूमि चीनको वैध सुरक्षा हितविरुद्ध प्रयोग हुन नदिने स्पष्ट पार्नुभयो । उहाँले दुई देशबीच लामो समयदेखि कायम सद्भावलाई व्यावहारिक सहकार्यमा रूपान्तरण गर्नुपर्नेमा जोड दिनुभयो । सन् २०१९ मा स्थापित रणनीतिक साझेदारीलाई थप सुदृढ गर्दै सीमापार कनेक्टिभिटी, सहज व्यापार, प्रविधि सहकार्य र साझा समृद्धिमा केन्द्रित हुनुपर्ने उहाँले बताउनु भयो । चीनको प्रविधि र नवप्रवर्तनमा भएको प्रगतिबाट नेपालले लाभ लिनसक्ने उल्लेख गर्दै खनालले प्रयोगशाला, अनुसन्धान, नवप्रवर्तन तथा ज्ञान आदानप्रदानमा सहकार्य विस्तार गर्नुपर्ने बताउनु भयो । यस्तो सहकार्यले नेपालको जनसांख्यिक लाभांशलाई उत्पादनशील क्षेत्रमा उपयोग गर्न सहयोग पुग्ने उहाँको भनाइ छ । परराष्ट्रमन्त्री खनालले नेपाल–चीन सीमा व्यवस्थापनमा वातावरणीय पक्षलाई पनि प्राथमिकतामा राख्नुपर्ने बताउनु भयो । परम्परागत सीमा व्यवस्थापनको अवधारणासँगै ‘इकोलोजिकल बोर्डर म्यानेजमेन्ट’लाई अघि बढाउनुपर्ने उहाँको भनाइ छ । हिमाली क्षेत्रमा देखिने साझा जोखिम व्यवस्थापन, सीमापार कनेक्टिभिटी विस्तार तथा विपद् प्रतिरोधी पूर्वाधार निर्माणमा नेपाल र चीनबीच थप सहकार्य आवश्यक रहेको उहाँले बताउनु भयो ।





