कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले जेन–जी आन्दोलका शहीद तथा घाईतेहरुको माग सम्बोधन गर्न सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ ।
जेन–जी शहीद दिवसका अवसरमा जेन–जी शहीद कल्याणकारी समाजले आयोजना गरेको कार्यक्रममा उहाँले वर्तमान सरकारप्रति भरोसा राख्न आग्रह गर्नुभएको हो । उहाँले जेन–जी आन्दोलनका माग सम्बोधन दैनिक छलफल भईरहेको बताउनु भयो । लोकतन्त्रमा पनि गत भदौ २३ गते नागरिकमाथी गोली चलेको उल्लेख गर्दै अब त्यस्तो नियति कसैले भोग्न नपर्ने बताउनुभयो । उहाँले शहीद परिवार, घाइते तथा आन्दोलनसँग जोडिएका सबैलाई एक ठाउँमा आएर एकअर्कालाई सहयोग गर्न र ढाडस दिन पनि आग्रह गर्नुभयो । जेन–जीभित्रै विभाजन र दोषारोपण बढेमा आन्दोलनका विरोधीहरूले त्यसको फाइदा उठाउने उहाँको भनाई छ । आन्दोलनपछि भएको निर्वाचनमार्फत नेपाली जनताले आफ्नो नेतृत्व रोजेकोले वर्तमान सरकार जनताको आवाज सुन्न तयार रहेको बताउनु भयो । सरकार गठन भएको करिव पाँच महिना मात्र भएको बताउँदै उहाँले यस अवधिमा सरकार सञ्चालन सहज नभएको उल्लेख गर्नुभयो । सरकारसँग प्रतिनिधिसभामा पर्याप्त संख्या भएपनि कानून निर्माण लगायतका प्रक्रियामा संवैधानिक संरचनाका कारण चुनौती रहेको उहाँको भनाई छ । उहाँले माग सम्बोधनमा ढिलाइ हुँदा जेनजी समुदायको धैर्य टुट्ने अवस्था आउनसक्ने स्वीकार गर्दै संयम कायम राख्न आग्रह गर्नुभयो । सरकारले जेन–जी आन्दोलनका शहीद तथा घाइतेले देखेका सपना पूरा गर्न सरकारको सफा नियतका साथ काम गरिरहेको उहाँको भनाई छ ।
उहाँले देशमा भइरहेको भ्रष्टाचार र सशासनविरुद्ध आवाज उठाउँदा गोली खानु परेको बताउनु भयो । भदौ २३ गते आन्दोलनकारीमाथी राज्यले गरेको दमनका कारण भदौ २४ गतेको घटना निम्तिएको उहाँको भनाई छ । भदौ २३ र २४ गतेको घटनालाई एउटै रुपमा हेर्न नहुने उहाँले बताउनु भयो ।





