‘मोबिलिटी फर अल’ को लक्ष्यसहित नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ शुरुः नीतिगत स्थिरता र पूर्वाधारमा जोड | ईमाउण्टेन समाचार

Our Network

साउन २५ २०८३, मंगलबार

‘मोबिलिटी फर अल’ को लक्ष्यसहित नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ शुरुः नीतिगत स्थिरता र पूर्वाधारमा जोड

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एशोसिएशन (नाइमा) को आयोजनामा ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ को दोस्रो संस्करण मंगलवारदेखि भृकुटीमण्डपमा शुरु भएको छ ।
एक्स्पोको उद्घाटन सत्रलाई सम्बोधन गर्दै नाइमाकी अध्यक्ष ऋतु सिंह वैद्यले नेपालको अटोमोबाइल क्षेत्रलाई मर्यादित, व्यावसायिक र जिम्मेवार बनाउन संस्था प्रतिवद्ध रहेको बताउनु भयो । एक वर्षअघि २१ सदस्य कम्पनीबाट शुरु भएको नाइमामा हाल ३६ कम्पनी आवद्ध भइसकेको जानकारी दिँदै उहाँले यसले उद्योगको साझा उद्देश्यप्रतिको विश्वास दर्शाएको उल्लेख गर्नुभयो । अध्यक्ष वैद्यले यातायात (मोबिलिटी) लाई केवल विलासिता वा सरकारी राजश्वको माध्यमका रूपमा मात्र नहेर्न आग्रह गर्नुभयो । नेपाल स्वच्छ र दिगो यातायातको भविष्यतर्फ अघि बढिरहेको सन्दर्भमा अध्यक्ष वैद्यले सरकारको हरित अर्थतन्त्रको लक्ष्यलाई नाइमाले पूर्ण समर्थन गर्ने बताउनु भयो । विद्युतीय सवारी साधनसँगै हाइब्रिड र अन्य उदयमान प्रविधिहरूको वर्गीकरण, कर प्रणाली र परीक्षणमा स्पष्टता ल्याउन सरकार र निजी क्षेत्रबीच प्राविधिक बुझाइमा एकरूपता हुनुपर्नेमा उहाँले जोड दिनुभयो । निजी क्षेत्रले नीतिगत स्थिरता र पूर्वानुमान योग्य नीतिको अपेक्षा गरेको बताउनु भयो ।

उहाँले नेपालमा सवारी साधन एसेम्बली र सहायक उद्योगहरूको प्रवद्र्धनका लागि दीर्घकालीन रणनीतिक खाका आवश्यक रहेको औंल्याउनु भयो । साथै, ब्याट्री रिसाइक्लिङ नीति, इथानोल ब्लेन्डिङको सम्भाव्यता र अत्याधुनिक सवारी परीक्षण केन्द्रको स्थापनाका लागि सरकारसँग सहकार्य गर्न नाइमा तयार रहेको जानकारी दिनुभयो । ६ दिनसम्म चल्ने यस एक्स्पोमा ५५ वटा ब्राण्डका सवारी साधनहरू प्रदर्शनीमा राखिएका छन् भने ४० वटा नयाँ मोडेलहरू सार्वजनिक गरिने कार्यक्रम छ । प्रदर्शनीका साथै ‘मोबिलिटी संवाद’ मार्फत वैदेशिक लगानी, एआईको प्रयोग, ब्याट्री रिसाइक्लिङ र उद्यमशीलताजस्ता विषयमा विज्ञहरूबीच छलफल हुनेछ ।

Leave a Reply

ताजा समाचार