कविना बलामी,काठमाडौँ ।पछिल्ला अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आएको नेपाली कराते टोलीले आगामी एसियाली खेलकुदमा पदक जित्ने लक्ष्यसहित तयारी तीव्र बनाएको छ। जापानको आइची–नागोयामा हुने २०औँ एसियाली खेलकुदमा करातेबाट नेपालले अघिल्लो संस्करणको सफलता दोहो¥याउँदै थप पदक भित्र्याउने अपेक्षा गरिएको छ ।
नेपाली खेलकुदमा पछिल्लो समय अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलमध्ये कराते पनि अग्रपंक्तिमा देखिएको छ। विगतका प्रतियोगितामा पदक दिलाउँदै आएको करातेबाट आगामी २०औँ एसियाली खेलकुदमा पनि नेपालले राम्रो नतिजाको अपेक्षा गरेको छ। जापानको आइची–नागोयामा आगामी सेप्टेम्बर १९ देखि आयोजना हुने एसियाली खेलकुदमा नेपालले करातेका विभिन्न विधामा प्रतिस्पर्धा गर्दैछ।गत संस्करणमा ऐतिहासिक रजत पदक जितेकी एरिका गुरुङका कारण पनि यसपटक नेपाली करातेबाट थप आशा गरिएको हो। एरिकाले एसियाली खेलकुदसँगै एसियन च्याम्पियनसिप, विश्व च्याम्पियनसिप तथा प्रिमियर लिगमा समेत राम्रो प्रदर्शन गर्दै आएकी छन्।
यसैले उनीबाट यसपटक पदकको अपेक्षा गरिएको प्रशिक्षक मण्डेकाजी श्रेष्ठ बताउँछन्। महिला टिम कातामा नेपालले यसअघि प्रतिस्पर्धा नगरे पनि छोटो समयमै खेलाडीहरूले राम्रो तयारी गरिरहेको प्रशिक्षक श्रेष्ठको भनाइ छ। पुरुषतर्फ भने नेपालले केही वर्षदेखि व्यक्तिगत कातामा तयारी गर्दै आएको थियो। एसियाली खेलकुदमा सीमित कोटा निर्धारण भएपछि पुरुष व्यक्तिगत काताको स्थानमा महिला टिम कातालाई समावेश गरिएको हो।कराते टोलीले प्रतियोगिताको तयारीका क्रममा बंगलादेशमा भएको दक्षिण एसियाली टिम काता प्रतियोगितामा समेत सहभागिता जनाएको थियो। त्यहाँ प्राप्त स्वर्ण पदकले खेलाडीहरूको आत्मविश्वास बढाएको प्रशिक्षकको भनाइ छ। जापानको मौसम र वातावरणमा खेलाडीलाई अभ्यस्त बनाउन टोलीलाई प्रतियोगिता सुरु हुनुअघि नै जापान लैजाने तयारीसमेत भइरहेको छ। एरिकाले यसअघि एसियाली खेलकुदमा रजत जितिसकेकाले आगामी प्रतियोगितामा स्वर्णलाई लक्ष्य बनाएर प्रशिक्षण गरिरहेकी छन्।
नेपालले एसियाली खेलकुदको अघिल्लो संस्करणमा कराते र महिला कबड्डीबाट पदक प्राप्त गरेको थियो। यसपटक पनि लामो समयदेखिको तयारी र पछिल्ला अन्तर्राष्ट्रिय प्रतियोगिताका प्रदर्शनका आधारमा करातेबाट पदकको आशा गरिएको छ। विशेषगरी एरिका गुरुङ, सानुमाया थिङ तथा महिला टिम काताका खेलाडीहरूबाट राम्रो प्रदर्शनको अपेक्षा गरिएको प्रशिक्षक श्रेष्ठ बताउँछन्। प्रतियोगिता नजिकिँदै गर्दा खेलाडीलाई आवश्यक खेल सामग्री उपलब्ध गराउनुका साथै प्रशिक्षणलाई थप प्रभावकारी बनाउनुपर्नेमा समेत उनले जोड दिएका छन्।नेपालले यसपटक महिला टिम कातामा पनि पहिलोपटक सहभागिता जनाउँदैछ। व्यक्तिगत कातामा सानुमाया थिङले प्रतिस्पर्धा गर्नेछिन् भने टिम कातामा सानुमायासँगै मेघा लिम्बू र एलिसा रास्कोटीले चुनौती प्रस्तुत गर्नेछन्।
एसियाली खेलकुद सुरु हुन अब केही समय मात्र बाँकी रहँदा नेपाली कराते टोलीको तयारी अन्तिम चरणमा पुगेको छ। अघिल्ला अन्तर्राष्ट्रिय प्रतियोगितामा देखिएको प्रदर्शन, खेलाडीको निरन्तर अभ्यास र अनुभवी प्रशिक्षकको मार्गदर्शनले यसपटक करातेबाट पदकको सम्भावना बलियो बनाएको छ। अब खेलाडीले तयारीलाई प्रतियोगिताको मैदानमा उत्कृष्ट प्रदर्शनमा रूपान्तरण गर्दै नेपालको पदकको आशा पूरा गर्न लागि परेका छन् ।




