सन् २००९ पछि पहिलोपटक सिरिया पुगेका संयुक्त राष्ट्र संघका महासचिव गुटेरेसद्वारा पुनर्निर्माणमा सहयोगको प्रतिवद्धता | ईमाउण्टेन समाचार

Our Network

भदौ २५ २०८३, शुक्रबार

सन् २००९ पछि पहिलोपटक सिरिया पुगेका संयुक्त राष्ट्र संघका महासचिव गुटेरेसद्वारा पुनर्निर्माणमा सहयोगको प्रतिवद्धता

संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले शनिवार सिरियाको राजधानी दमास्कसको औपचारिक भ्रमण गर्नुभएको छ । सन् २००९ यता संयुक्त राष्ट्र संघका कुनैपनि महासचिवले सिरिया भ्रमण गरेको यो पहिलो अवसर हो । यस ऐतिहासिक भ्रमणका क्रममा उहाँले सिरियाको पुनरुत्थान र पुनर्निर्माणका लागि राष्ट्र संघको निरन्तर सहयोग रहने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । सिरियाका विदेश प्रमुख असाद अल–शैबानीसँग आयोजित संयुक्त पत्रकार सम्मेलनमा बोल्दै महासचिव गुटेरेसले सिरियाली जनताको साहसको प्रशंसा गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘सिरियाली जनताले धेरै वर्षसम्म ठूलो कष्ट झेलेका छन्, तैपनि उनीहरूले आफ्नो सहनशीलता, रचनात्मकता र देशप्रतिको अपनत्व गुमाएका छैनन् ।’
महासचिव गुटेरेसले गम्भीर द्वन्द्वबाट बाहिर निस्किरहेको कुनैपनि राष्ट्रले एक्लै पुनर्निर्माणको कार्य पूरा गर्न नसक्ने उल्लेख गर्दै सिरियालाई सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गर्नुभयो । सोही क्रममा उहाँले इजरायलद्वारा कब्जा गरिएको गोलान हाइट्स सिरियाली भूभाग भएको राष्ट्र संघको अडान पुनः दोहो¥याउनुभयो र सिरियाको सार्वभौमसत्ता उल्लङ्घन गर्ने कार्य अन्त्य हुनुपर्नेमा जोड दिनुभयो । विदेश प्रमुख अल–शैबानीले महासचिवको यस भ्रमणलाई संयुक्त राष्ट्र संघ र सिरियाबीचको सम्बन्धमा एउटा नयाँ चरणको सुरुवात भएको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘अहिले हाम्रो प्राथमिकता पुनर्निर्माण हो र त्यसका लागि बाँकी रहेका सबै प्रतिवन्धहरू हटाइनु आवश्यक छ ।’ सिरिया अब मानवीय राहतको चरणबाट माथि उठेर दिगो विकासको दिशामा अघि बढ्न केन्द्रित रहेको उहाँले स्पष्ट पार्नुभयो । विदेश प्रमुख शैबानीले हालसम्म ३५ लाख सिरियाली शरणार्थीहरू स्वदेश फर्किसकेको जानकारी समेत दिनुभयो । दमास्कसमा रहँदा महासचिव गुटेरेसले सिरियाका अन्तरिम नेता अहमद अल–शरासँग पनि द्विपक्षीय वार्ता गर्नुभएको थियो ।

Leave a Reply