काठमाडौं ।
प्रतिपक्ष दल नेकपा (एमाले) का सांसद पुष्पराज कँडेलले नेपालको बीमा क्षेत्रमा विद्यमान विभिन्न समस्याहरूका बारेमा सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभएको छ ।
मङ्गलवार आयोजित अर्थ समितिको बैठकमा बोल्दै सांसद कँडेलले बीमा उद्योगको वर्तमान अवस्था, पारदर्शिता, कानूनी जटिलता र कोभिड बीमाको भुक्तानीका विषयमा प्रश्न उठाउनुभएको हो । बैठकमा सांसद कँडेलले नेपालमा सञ्चालित ३७ वटा बीमा संवद्ध संस्थाहरूको वित्तीय अवस्था सार्वजनिक गर्न माग गर्नुभयो । उहाँले ती संस्थाहरूको नाफा–नोक्शान र ‘मार्जिन’ को स्थिति कस्तो छ भनी प्रश्न गर्दै उद्योगको समग्र अवस्था बुझ्नका लागि विस्तृत विश्लेषण आवश्यक रहेको उल्लेख गर्नुभयो ।
बीमा क्षेत्रलाई पूर्ण रूपमा डिजिटलाइजेशन गर्ने योजनाको सन्दर्भमा उहाँले नेपालको डिजिटल साक्षरता र ग्रामीण पहुँचको यथार्थलाई ध्यान दिनुपर्ने सुझाव दिनुभयो । सरकारी स्वामित्वका बीमा कम्पनीहरूको लेखापरीक्षणमा भइरहेको ढिलाइप्रति उहाँले आपत्ति जनाउनु भयो । विगतमा लामो समयसम्म लेखापरीक्षण नहुने गरेको प्रवृत्तिमा केही सुधार देखिए पनि अझै ३ देखि ४ वर्षको लेखापरीक्षण बाँकी हुनु गम्भीर विषय भएको उहाँको तर्क छ । समयमै लेखापरीक्षण नहुँदा आर्थिक अनियमितताको आशङ्का हुने भन्दै उहाँले यसतर्फ गम्भीर हुन आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘डिजिटल साक्षरताको वर्तमान स्तर र गाउँको पहुँचलाई हेर्दा पूर्णतः प्रविधिमा मात्र आधारित हुँदा बीमाको पहुँच खुम्चिन सक्छ । त्यसैले तल्लो तहसम्म पहुँच पु¥याउन हालको कागजी प्रणालीलाई पनि केही समय निरन्तरता दिनुपर्छ ।’
यसैगरी, बीमा क्षेत्रसँग सम्बन्धित मौजुदा ऐन–कानुनहरू बाझिएका कारण कार्यसम्पादनमा परेको समस्याबारे पनि उहाँले चासो व्यक्त गर्नुभयो । कुन–कुन ऐनले बाधा पु¥याएको हो, त्यसबारे स्पष्ट जानकारी प्राप्त भए संसदीय प्रक्रियाबाट सहयोग गर्न सकिने उहाँको भनाइ छ । सांसद कँडेलले नेपालको आन्तरिक जोखिम मूल्याङ्कन (रिस्क रेटिङ) क्षमताको अभाव र वाह्य क्षेत्रमाथिको निर्भरताका विषयमा समेत प्रश्न उठाउनु भयो ।




