काठमाडौं ।
प्रतिनिधि सभाका सांसदहरुले सरकारले जनताको पीडालाई सम्बोधन गर्न कुनै ठोस पहल गरेको गुनासो गरेका छन् । सोमवार प्रतिनिधि सभा बैठकमा शुन्य समयमा बोल्दै ऐनबहादुर महर, रमेशकुमार मल्ल, खुश्बु ओली, आशिका तामाङलगायतका सांसदहरुले विभिन्न समस्यामा कारण पीडामा परेका जनताको समस्या सम्बोधन गर्न सरकार गम्भिर नभएको जिकिर गर्नुभएको हो ।
एमालेका प्रमुख सचेतक समेत रहनुभएका महरले बझाङमा आगलागीको घटनामा परी नागरिकहरुको ठूलो धनको क्षति भएको उल्लेख गर्दै उनीहरुलाई तत्काल राहतको व्यवस्था गर्न सरकारसँग माग गर्नु भयो । उहाँले सरकारले विपदमा परेर गाँस, बास र कपासको अभाव झेलिरहेका नागरिकलाई राहत दिने काममा ढिलाई गरेकोमा आपत्ति जनाउनु भयो ।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सांसद रमेशकुमार मल्लले एन्फामाथि प्रतिवन्ध लगाउने फिफाको निर्णय फिर्ता गराउन कुनै पहल नगरेको भन्दै सरकारको आलोचना गर्नुभयो । उहाँले सरकारले एन्फामाथि हस्तक्षेप गरेपछि फिफाले उक्त निर्णय लिएको आरोप समेत लगाउनु भयो ।चिकित्सकहरुमाथि हुने श्रम शोषणको अन्त्य गर्न राप्रपाकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारसँग माग गर्नु भयो । उहाँले सरकारले चिकित्कसहरुलाई न्युनतम पारिश्रमिक समेत उपलब्ध गराउनका लागि कुनै ठोस कदम नचालेको भन्दै गुनासो समेत गर्नुभयो ।
सत्तारुढ रास्वपाकी सांसद आशिका तामाङले बर्डफ्लुको त्रास फैल्याएर किसानलाई मारमा पार्ने काम हुँदा पनि सरकार गम्भिर नभएको गुनासो गर्नुभयो । उहाँले बर्डफ्लु पुष्टि भएको भए यसको रोकथाम र नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न पनि सरकारको ध्यानाकर्षण गराउनु भयो ।सांसद तामाङले बर्डफ्लुको सन्त्रास फैल्याएर किसानलाई त्रासमा पार्ने काम नहुने वातावरण बनाउन सरकारले ढिलाई गर्न नहुने पनि बताउनु भयो ।




