काठमाडाैं । अर्थविद् डा. स्वर्णिम वाग्लेले नेपालमा केही भएको छैन भन्ने भाष्य निर्माण गर्नु गलत हुने बताउनुभएको छ । राष्ट्रिय युवा परिषद्ले आयोजना गरेको कार्यक्रममा उहाँले देशमा पछिल्लाे समय तीव्ररूपमा विकासका काम भएकाे बताउनुभएको हो ।
उहाँले २०४८ सालपछिको निर्वाचित सरकारले लिएको आर्थिक नीतिका कारण नेपालमा धेरै परिवर्तन भएको बताउनुभयो । यसलाई सबैले स्वीकार गर्नुपर्ने उहाँको भनाइ छ । उहाँका अनुसार २०४८ सालको सरकारद्वारा शुरु गरिएको आर्थिक सुधारले नेपाललाई ७ प्रतिशतको औसत आर्थिक वृद्धिदरमा उकासेको थियो ।
यदि त्यसलाई निरन्तरता दिइएको भए हाल नेपालको अर्थतन्त्र करिव एक सय अर्ब डलरको आकारमा पुग्ने उहाँको भनाइ छ । तर हाल ४५ अर्ब डलर बराबरको अर्थतन्त्र रहेको उहाँले बताउनुभयो । पछिल्लो डेढ दशकदेखि भने नेपालमा राजनीतिक–आर्थिक उथलपुथलको चक्रमा फसेको उहाँले बताउनुभयो । त्यसको प्रतिविम्व भदौ २३–२४ का घटनाले पनि देखाएको उहाँको भनाई छ ।
जेन—जी आन्दोलनले मुलुक नयाँ मोडमा पुगेको उहाँले बताउनुभयो । उहाँकाअनुसार यो संक्रमणको सफल व्यवस्थापन हुन सकेमा देशले नयाँ आर्थिक–राजनीतिक मार्ग प्राप्त गर्नसक्छ । तर असफलता भए पुनः प्रतिगमनको जोखिम गम्भीर रूपमा बढ्ने उहाँले बताउनुभयो । उहाँले यस चुनौतीपूर्ण अवस्थाबाट देशलाई निकाल्ने जिम्मेवारी नयाँ पुस्ताका राजनीतिक पात्र तथा नयाँ दलहरूले वहन गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले आगामी निर्वाचनपछि नयाँ आउने नेतृत्वले देशमा आर्थिक विकासको लागि दर्जनौँ कानूनमा सुधार गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।





