फागुन २१ गतेकाे निर्वाचनका लाथि थपिए आठ लाख नयाँ मतदाता | ईमाउण्टेन समाचार

Our Network

जेठ २० २०८३, बिहीबार

फागुन २१ गतेकाे निर्वाचनका लाथि थपिए आठ लाख नयाँ मतदाता

काठमाडाैं । जेनजी आन्दोलनबाट पछि प्रतिनिधि सभा विघटन भई निर्वाचन घोषणा भएपछि ८ लाख ३७ हजार ९४ नयाँँ मतदाता थपिएका छन् । निर्वाचन आयोगका अनुसार ९ असोजदेखि ५ मंसिरसम्म खुला गरिएको मतदाता नामावली संकलनमा झन्डै साढे ८ लाख मतदाता थपिएका हुन् ।

जसमा पुरूष चार लाख ७३ हजार ३४५ र महिला तीन लाख ६३ हजार ७७८ रहेका छन् । अन्य ६१ रहेका छन् । आयोगको नियमित प्रक्रियाबाट तीन लाख ४४ हजार ९ १४ र राष्ट्रिय परिचयपत्रको बायोमेट्रिकबाट चार लाख ९२ हजार १८० मतदाता थपिएको आयोगले जनाएको छ । यसअघि १६ कात्तिकसम्म एक करोड ८१ लाख ६८ हजार २३० मतदाता थिए । यसअघि कात्तिक मसान्तसम्मका लागि नामावली दर्ताको समय रहेकोमा चाप बढेपछि आयोगले शुक्रबारसम्मका लागि ५ दिन समय थप गरेको समय शुक्रबार सकिएको हो ।

आयोगले राष्ट्रिय परिचयपत्रको विवरणका आधारमा मतदाता नामावलीमा नाम दर्ता गराउन मिल्ने व्यवस्था गरेपछि अनलाइनबाट नाम दर्ता गराउनेको संख्या ह्वातै बढेको हो । आयोगले मतदाता नामावलीको त्रुटि सच्याउन यही मंसिर २१ देखि २७ गतेसम्मको समय तोकेको छ ।

नामावलीमा कुनै त्रुटि भएमा सच्याउन, कसैले झुटा विवरण दिई नामावलीमा नाम समावेश गरेको भए विरोधमा उजुरी दिन, कुनै मतदाताको नाम एकभन्दा बढी ठाउँमा समावेश भएकोमा एक ठाउँमा मात्र कायम गर्न निवेदन दिन तथा मृत्यु भएका वा नागरिकता त्याग गरेका मतदाताको नाम मतदाता नामावलीबाट हटाउनका लागि आयोगको वेबसाइट वा सम्बन्धित प्रदेश निर्वाचन कार्यालय वा जिल्ला निर्वाचन कार्यालयमा निवेदन, उजुरी वा सूचना दिन सकिनेछ ।

प्राप्त गुनासा, उजुरी वा सूचनाहरूका सम्बन्धमा सम्बन्धित निर्वाचन कार्यालयबाट छानबिन गरी पुस १५ गते सम्बन्धित निर्वाचन कार्यालय र वडा कार्यालयमा अन्तिम मतदाता नामावली प्रकाशन गरिने निर्वाचन आयोगले जनाएको छ ।

Leave a Reply