सरकार परिवर्तनसँगै दैलेखकाे ग्यास उत्खनन् हुनेमा आशंका ! | ईमाउण्टेन समाचार

Our Network

असार ९ २०८३, बुधवार

सरकार परिवर्तनसँगै दैलेखकाे ग्यास उत्खनन् हुनेमा आशंका !

दैलेखको शक्तिकोटमा भेटिएको मिथेन ग्यास नेपाललाई ऊर्जा आत्मनिर्भर बनाउने ऐतिहासिक अवसर हो । चिनियाँ सर्वेक्षणले करिब एक अर्ब १२ करोड घनमिटर ग्यासको भण्डार रहेको पुष्टि गरेको छ, जसले नेपालको ५० वर्षसम्मको ऊर्जा माग पूरा गर्न सक्छ । तर नेपालको राजनीतिक अस्थिरताका कारण यस्ता गौरवका आयोजनाहरु कार्यान्वयनमा आशंका बढ्न थालेको छ ।

 

दैलेखको शक्तिकोट क्षेत्रमा भेटिएको मिथेन ग्यास नेपालको ऊर्जा इतिहासमा नयाँ पानाको सुरुवात हो । आयातमा निर्भर रहेको हाम्रो ऊर्जा प्रणाली अहिले आत्मनिर्भरतातर्फ मोडिन सक्ने सम्भावनासहितको निर्णायक अवसरको छेउमा पुगेको छ । चीन सरकारको सहयोगमा चिनियाँ जियोलोजिकल सर्वेले गरेको अध्ययनले दैलेखमा करिब एक अर्ब १२ करोड घनमिटर प्राकृतिक ग्यासको भण्डार रहेको पुष्टि गरेको छ । यो तथ्यले राष्ट्रिय अर्थतन्त्र, ऊर्जा नीति र भू–राजनीतिक स्वतन्त्रताको दृष्टिले पनि ऐतिहासिक सम्भावना देखाएको छ ।

नेपालले हरेक वर्ष अरबौं रुपैयाँको एलपी ग्यास भारतबाट आयात गर्दै आएको छ । दैलेखमा भेटिएको मिथेन ग्यासको व्यावसायिक उत्खनन र उत्पादन शुरु गर्न सकियो भने नेपालले खाना पकाउने इन्धनमा मात्र होइन, विद्युत उत्पादन र वैकल्पिक ऊर्जाको क्षेत्रमा पनि क्रान्तिकारी फड्को मार्न सक्छ । चिनियाँ सर्वेक्षणको अनुमान अनुसार, यो ग्यासले नेपालको करिब ५० वर्षको ऊर्जा माग पूरा गर्न सक्छ । तर सम्भावना मात्रले देश बदलिँदैन । यसलाई यथार्थमा परिणत गर्न राजनीतिक इच्छाशक्ति, प्राविधिक दक्षता र सामाजिक सहकार्य अपरिहार्य हुन्छ । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले दैलेखको मिथेन ग्यास एक वर्षभित्र उत्पादन गरी वितरणको तयारी गर्न निर्देशन दिएका थिए । तर जेन–जी आन्दोलन, सरकार परिवर्तन र नीति–नियमको अस्थिरताले पुरानो सरकारले शुरु गरेको अभियान अधुरो हुने हो कि भन्ने आशंका पैदा भएको छ । राजनीतिक अस्थिरता नै नेपालको विकासमा प्रमुख बाधक बनिरहेको छ ।

दैलेखको मिथेन ग्यास उत्खनन् र उपयोगको प्रक्रियाले राष्ट्रिय गौरव र दीर्घकालीन रणनीतिक महत्व बोकेको छ । यस्तो राष्ट्रिय महत्वका विषयमा सरकार र सबै राजनीतिक दलहरुले साझा दृष्टिकोण बनाउन जरुरी छ । ऊर्जाको आत्मनिर्भरता कुनै एक सरकारको उपलब्धि होइन, सम्पूर्ण राष्ट्रको साझा लक्ष्य हो । त्यसैले यस विषयमा सत्तामा रहेका वा बाहिर रहेका राजनीतिक दल तथा नीति निर्माणताबीच सहकार्य आवश्यक छ ।

यो परियोजनालाई सफल बनाउन प्राविधिक दक्षता र पारदर्शिताको पनि समान महत्व छ । उत्खननदेखि वितरणसम्म वैज्ञानिक योजना, वातावरणीय मूल्याङ्कन, स्थानीय समुदायको सहभागिता र स्पष्ट उत्तरदायित्वका ढाँचा तय गर्नुपर्छ । मिथेन ग्यास उत्खननले ऊर्जाका साथै स्थानीय स्तरमा रोजगारी, पूर्वाधार विकास र क्षेत्रीय आर्थिक गतिविधि बढाउँछ । यस्ता गौरवका आयोजना कुनै राजनीतिक दल वा सरकारको मात्रै नभइ राष्ट्रको हुने भएकाले सरकार परिवर्तनकै कारण योजनाको कार्यनिरन्तरता र प्राथमिकतामा ह्रास आउन हुँदैन । राजनीतिक अस्थिरता र सत्ता परिवर्तनका कारण राष्ट्रिय परियोजनाहरु अलपत्र पर्ने परम्परा अब तोड्न आवश्यक छ ।

Leave a Reply

ताजा समाचार