अमेरिका, ३ फागुन । भारतीय मूलकी निक्की हेली सन् २०२४ मा रिपब्लिकन पार्टीबाट अमेरिकाको राष्ट्रपतिको उम्मेदवार बन्ने घोषणा गरेकी छिन् । मंगलबार, निक्कीले एक भिडियो सन्देश जारी गरेर आफू राष्ट्रपतिको दौडमा रहेको घोषणा गरेकी हुन् । ५१ वर्षीया निम्रता निक्की रन्धावा हेली रिपब्लिकन पार्टीकी सदस्य हुन् र उनी दक्षिण क्यारोलिना राज्यकी गभर्नर भइसकेकी छिन् ।
रिपब्लिकन पार्टीको राष्ट्रपतिको उम्मेदवार बन्न अघि निक्कीले दुई चरणको चुनाव जित्नुपर्नेछ। पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२४ मा उम्मेदवार बन्न चाहेको घोषणा गरिसकेका छन् । दौडमा थप केही व्यक्तिहरू पनि सामेल हुन सक्छन्। तर, मुख्य प्रतिस्पर्धा ट्रम्प र हेलीबीच हुने अनुमान गरिएको छ ।
हेलीले भिडियो वक्तव्यमा भनेकी छिन्, यो समय नयाँ पुस्ताको नेतृत्वले मौका पाउनु पर्ने हो । हामीले हाम्रो अर्थतन्त्रलाई ठीक गर्न, हाम्रो सिमाना सुरक्षित गर्न र अन्ततः यो देशलाई पहिले भन्दा बलियो बनाउनु पर्छ। यो हाम्रो लक्ष्य र गौरव हो। निक्कीले औपचारिक उम्मेदवार बन्न प्राइमरी चुनाव लड्नेछिन् । डोनाल्ड ट्रम्प राष्ट्रपति हुँदा उनले निक्कीलाई संयुक्त राष्ट्रका लागि अमेरिकी राजदूत बनाएका थिए। त्यस क्रममा विपक्षी पार्टी डेमोक्र्याटले पनि निक्कीको कामको प्रशंसा गरेका थिए । यद्यपि, यदि निक्की राष्ट्रपति चुनाव २०२४ को लागि आधिकारिक उम्मेद्वार बन्न चाहाने हो भने उनले प्राथमिक चुनावमा आफ्नो पुरानो मालिक डोनाल्ड ट्रम्पलाई पराजित गर्नुपर्नेछ।
निक्कीले दुई पटक साउथ क्यारोलिनाको गभर्नरको चुनाव जितिन् । सन् २०११ मा पहिलो पटक गभर्नर बन्दा उनी ३९ वर्षकी थिइन् । उनी अमेरिकाकी कान्छी गभर्नर थिइन् । यसबाहेक, निक्कीले दक्षिण क्यारोलिना राज्यको पहिलो महिला गभर्नर बन्ने गौरव पनि प्राप्त गरेकी छिन्।
साउथ क्यारोलिना रिपब्लिकन पार्टीको प्राथमिक चुनाव तालिकामा तेस्रो नम्बरमा छ। अर्थात् यसअघि अन्य दुई राज्यमा पनि पार्टीका उम्मेदवारहरू चयन हुनेछन् । निक्की अघि ट्रम्पले मात्र २०२४ मा चुनाव लड्ने घोषणा गरेका थिए ।
पछिल्लो राष्ट्रपति चुनाव हारे पनि रिपब्लिकन पार्टीमा ट्रम्पको वर्चस्व र लोकप्रियता कायमै रहेको विश्वास गरिन्छ । २०२४ मा उनी रिपब्लिकन पार्टीको राष्ट्रपति पदका उम्मेदवार बन्न सक्ने सम्भावना छ । २०१८ मा पनि निक्कीले चुनाव लड्ने अनुमान गरिएको थियो, तर त्यसो भएन। सन् २०२० मा माइक पेन्सको स्थानमा उनलाई उपराष्ट्रपति बनाउन सकिने भनिएको थियो । तर, यो पनि हुन सकेन ।




