दसैं लिएर फर्किए ‘कालापारे’ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

दसैं लिएर फर्किए ‘कालापारे’

नेपालगञ्ज । खेती लाएर तीन महिनाअघि कामका लागि भारत ‘कालापार’ छिरेका कालापारे दसैं, तिहार मनाउन घर फर्कन थालेका छन् । उनीहरू स्वदेश फर्कदाको लर्कोले सीमा क्षेत्रमा समेत दसैंको रौनक ल्याएको छ ।

त्यसबेला महामारीको बीचमै भोको पेटले दिएको पीडा सहन नसकेर उनीहरू ‘कालापार’ छिरेका थिए । तर परिवारका अरु सदस्य यतै भएकाले सँगै चाडबाड मनाउन घर फर्काएको उनीहरू बताउँछन् । जमुनाह नाकामा भेटिएका पश्चिम रुकुमका राजु केसीले सँगै ल्याएको झोलातिर हेर्दै भने‘ कालापार आए पेट पनि पालियो दसँै पनि लिएर आएँ ।’ उनले सिमा क्षेत्रमा हुने अनेकन झन्झटले फेरि फर्केर न आउँ जस्तो लाग्ने भए पनि नआई नहुने बाध्यता सुनाए । 

उनी भारतको हिमाञ्चल प्रदेशको कुल्लु मनाली गएका थिए । ‘गाउँमा रोजगारी थिएन भोकै मर्नु भन्दा रोजगारी खोज्न हिडिँयो । तीन महिनाअघि सिमला गएको थिए । आज फर्कदँै छु’ हातमा भएको गम्छाले पसिना पुछ्दँै उनले भने । उनीसँग गाउँकै आठ जनाको समूह सँगै फर्किएको छ ।

सल्यान कुभिण्डेका जंगबहादुर खड्काको टोली पनि हस्याँङफस्याँङ गर्दै जमुनाह नाका हुँदै स्वदेश छिरेको छ । उनी पनि गत जेठमा मकै रोपेर भारतको सिमला गएकोे बताउँछन् । ‘गाउँमा काम थिएन । भारत नगई सुखै भएन, गइयो अलिअली जोहो गरी आइयो,’ आफ्नो शरीरभन्दा ठूलो भारी बोकेका उनले भारी बिसाउँदै भने । सल्यान खलंगाका रिमबहादुर गिरी पनि साथीहरूसँगै दसंै मनाउन लद्दाखबाट घर फर्किएका छन् । उनी गत असार दोस्रो साता कामको खोजीमा लद्दाख पुगेका थिए । 

माथि उल्लेखित व्यक्ति प्रतिनिधि पात्र मात्रै हुन् । उनीहरू जस्तै दैनिक हजारभन्दा बढी ‘कालापारे’को लर्को अचेल जमुनाह नाकामा भेटिन्छ । भारतमा कामको खोजीमा जानेहरूलाई यहाँका बासिन्दा ‘कालापारे’ भन्छन् । 

नाकामै कोरोना परीक्षण
जमुनाह नाकामा भारतबाट आउनेलाई कोरोना परीक्षण गरि घर पठाइने व्यवस्था छ । नाकाको हेल्थ डेस्कमा उनीहरूको एन्टीजेन प्रविधिबाट कोरोना परीक्षण हुन्छ । 

कर्णाली प्रदेशको सल्यान, सुर्खेत, दैलेख, जाजरकोट, रुकुम, कालीकोट, जुम्लालगायत सुदूरपश्चिम प्रदेशको अछाम र लुम्बिनी प्रदेशका दाङ, रुकुम पश्चिम, रोल्पा र प्यूठानका सर्वसाधारण जमुनाह नाका भएर आउने गर्छन । 

जमुनाह नाकाबाट दैनिक सरदर एक हजार पाँच सय नेपाली स्वदेश फर्किने गरेको इलाका प्रहरी कार्यालय जमुनाहले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले पर्व लक्षित सुरक्षा पोष्ट बढाउनुको साथै उनीहरूलाई सहज र सरल तरिकाले गन्तव्यसम्म पठाउन निर्देशन दिएको प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);