काठमाडौं, ११ चैत । विश्वमा फैलिएको कोरोना भाइरसको जोखिमका कारण काठमाडाैं उपत्यकामा रगतको अभाव देखिन थालेको छ । सरकारले २५ जनाभन्दा बढी जमघट हुन नदिने निर्णय गरेसँगै रक्तदान कार्यक्रम हुन नसकेपछि रगत सञ्चयमा समेत कमि आएको हो । यसैबीच नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखा अन्तर्गतको रक्तसञ्चार केन्द्रले भने रगत लिन आउनेका लागि रगतको ब्यवस्थापन गरिएको जनाएको छ ।
कोरोना भाइरसको सन्त्रासले देशभर रक्तदान कार्यक्रम सञ्चालन गर्ने वातावरण नभएकाले रगत सञ्चयमा कमी आएको रेडक्रस सोसाइटी भक्तपुर शाखाका सभापति मनोजकुमार थापाको भनाई छ ।
अहिले काठमाडौै, ललितपुर र भक्तपुरका विभिन्न अस्पतालबाट बिरामीका आफन्त रगत लिन भक्तपुर पुग्ने गरेकाले भक्तपुरमा रगतको माग बढी रहेको जनाइएको छ ।