काठमाडौं, २८ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सञ्चारमाध्यमहरुले समाचारमा गर्ने सम्बोधनप्रति असन्तुष्टि जनाउनुभएको छ ।
मंगलबार गृहमन्त्रालयमा भएको एक कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सञ्चारमाध्यमहरुले तपाई नभनि तिमी भन्ने गरेकामा असन्तुष्टि जनाउनुभएको हो । सञ्चार माध्यमहरुले अंग्रेजीको सिको गरेर कसैलाई हजुर भन्दा आफु अपमानित भएको ठान्ने गरेको बताउनुभयो ।
नेपालको आफ्नो भाषा र भाषाको मर्म भएको उल्लेख गर्दै ओलीले सञ्चारमाध्यमहरु कसैलाई हजुर भन्दा सारै सानो ठान्ने गरेको बताउनुभयो ।
‘‘सञ्चारमाध्यमहरुबाट हामी छापिएको हेर्छौ । हाम्रो आफ्नो भाषा छ । भाषाको मर्म छ । हाम्रो भाषामा बोलाउँदा हजुर भन्ने छ । हाम्रा सञ्चारमाध्यमहरुलाई हजुर भन्दाखेरी सारै सानो ठान्छन् । हाम्रो सञ्चार माध्यमलाई अंग्रेजीको कपि गरेर बोलाउँदा मिस्टर/मिस भनेर बोलाउन पाउँदा राम्रो लाग्छ । कसैलाई तपाई भन्नुपर्दा अचम्मको अपमान भएको जस्तो लाग्छ,’’ उहाँले भन्नुभयो ।
प्रधानमन्त्री ओलीले आदरार्थी शब्द र सम्मानयुक्त व्यवहार समाजबाटै हटाउने सुनियोजित प्रयास भएको आरोप समेत सञ्चारमाध्यमलाई लगाउनुभएको छ । नेपाली भाषामा बच्चालाई तँ भनिने, हुर्किँदै गएपछि तिमी र आफुभन्दा ठूला तथा दौतरीहरुलाई तपाई भनेर भनिने उल्लेख गर्दै ओलीले भन्नुभयो, ‘‘तपाई भन्ने शब्द आदरार्थी शब्द व्यवहार त्यो समाजबाटै हटाउने सुनियोजित प्रयास भएको छ । अंग्रेजीमा यु भनेपछि पुग्छ । बीबीसीले पहिले सुरु ग-यो । यसो भने, यसो भनिन् । हाम्रा हजुर बाले यसो भने, हजुर आमाले यसो भनिन् । भन्नुभयो भन्न आउँदैन । अनी त्यही कपि गरेर नक्कल गरेर सबैले यस्तै भन्न थाले ।’’
उहाँले नेपाली सभ्यता र संस्कृति माथि सञ्चारमाध्यमहरुबाट निरन्तर हमला भएको समेत बताउनुभएको छ । लहैलहैमा लागेर सञ्चारमाध्यमहरुले विनम्रता र शालिनतामाथि हमला गरिरहेको आरोप लगाउँदै ओलीले भन्नुभयो, ‘त्यसलाई आफ्नो सु-याई ठानेका छन् ।’