ललितपुर, १ कात्तिक । प्रधानन्यायाधिश चोलेन्द्र शमशेर राणाले बाल अधिकार र बाल न्यायसम्बन्धि ऐन, कानुनको व्यवहारिक कार्यान्वयनमा जोड दिनु भएको छ ।
शुक्रबार ललितपुरमा आयोजित एक कार्यक्रममा प्रधानन्यायाधिश राणाले बाल न्यायसम्बन्धि कानुनहरुको प्रभावकारी कार्यान्वयनका लागि सबै निकायहरुको समक्षता हुनुपर्ने उल्लेख गर्नुभयो । उहाँले बाल न्यायसम्बन्धि काननुहरुको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक पूर्वाधारको निर्माण गर्न सरकारको ध्यानाकर्षण गराउनु भयो ।

प्रधानन्यायाधिश राणाले नेपालले प्रतिवद्धता गरेका बाल अधिकारसम्बन्धि अन्तराष्ट्रिय दस्तावेजहरुको सम्मान तथा नेपालको संविधानले प्रत्याभूति गरेको सोसम्बन्धि मौलिक हकहरुको प्रचलनका लागि समेत बाल न्यायसम्बन्धि कानुनको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा महिला,बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले बाल अधिकारको संरक्षण र न्यायका लागि सरकार जस्तोसुकै कदम चाल्न पनि प्रतिवद्ध रहेको बताउनु भयो ।
मन्त्री थापाले सरकारले बाल अधिकारको क्षेत्रमा देखिएका समस्या समाधानका लागि आवश्यक ऐन, कानुन पनि परिमार्जन गर्दै लैजाने उल्लेख गर्नुभयो ।




