काठमाडौं, ४ असोज । नेपालमा मनसुनको समय केही दिन लम्बिने भएको छ । न्यून चापीय रेखा औसत स्थानभन्दा केही दक्षिणतर्फ सरेकाले मनसुनको समय लम्बिने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
भारतको मध्य प्रदेशको उत्तर पश्चिमी भागमा र उत्तर प्रदेशको दक्षिणी भागमा एउटा न्यून चापीय प्रणाली विकसित भएकाले अझै वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
मनसुनको समय लम्बिए पनि भारी वर्षाको सम्भावना भने छैन । आइतबार देशभरि सामान्यदेखि पूर्ण बदली रही देशका धेरैजसो स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। सोमबार पनि देशभरि सामान्य बदली हुने सम्भावना छ ।




