उमेर १०३, कमाइ तीन हजार | ईमाउण्टेन समाचार

Our Network

फागुन १६ २०८२, आइतबार

उमेर १०३, कमाइ तीन हजार

devi sunuwar

सिन्धुली,  ३२ साउन । सेत्तै फुलेको कपाल। चाउरी परेको अनुहार। शारीरिक अवस्था कसैको सहाराबिना हिँडडुल गर्न नसक्ने जस्तो देखिन्छ। तर १०३ वर्षीया देवी सुनुवारको जाँगर तन्नेरीको भन्दा कम छैन। कमलामाई नगरपालिका दसजहान टोलकी सुनुवारले मासिक तीन हजार कमाउँछिन्। उनको काम घरमै बसेर दाम्लो बाट्ने हो। उनको आम्दानीको स्रोत दाम्लो बिक्रीबाट आएको रकम हो।

आँगनबाट टाढा जान नसक्ने सुनुवारको हातमा दाम्लो बाट्ने काठको साँचो र बोराका डोरी कहिल्यै छुट्दैनन्। उमेरमा बसिबियाँलो गर्दा सिकेको काम अहिले आम्दानीको स्रोत बनेकोमा उनी खुसी छिन्। १९७३ सालमा रामेछापमा जन्मिएकी सुनुवारको १४ वर्षको उमेरमा विवाह भएको थियो।

‘माइतीमा हुँदा खानलाउन पुग्थेन। बुबालाई दाम्लो बाट्न सघाउने गर्थें। विवाह गरेर सिन्धुली आएपछि घरमा मसलाको जोहो गर्न दाम्लो बाट्ने गरेकी थिएँ’, उनले विगत सम्झँदै भनिन्, ‘अहिले बाहिर हिँड्न नसक्ने भएँ, समय कटाउन दिनभर दाम्लो बाट्छु।’

हेर्दा निकै कमजोर देखिए पनि सुनवारको काम गर्ने शक्ति र जाँगरमा भने कमी आएको छैन। आफूले बाटेका दाम्लो बिक्रीबाट तीन हजारभन्दा बढी आम्दानी हुने गरेको सुनुवार बताउँछिन्। ‘अहिले पनि त्यतिकै दिन काट्न मुस्किल हुन्छ। सुतौं झन् शरीर थलिए जस्तो लाग्छ। बरु काम गरेर बस्यो भने समय पनि बितेको थाहा हुँदैन। दाम्लोबाट आएको रकमले महिनाभर फलफूल खान पुग्छ’, उनले भनिन्।

यो खबर आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।