हावाहुरी प्रभावित क्षेत्रका बालबालिका र वृद्धवृद्धाको अवस्था अत्यन्तै दयनिय | ईमाउण्टेन समाचार

Our Network

फागुन ३० २०८२, आइतबार

हावाहुरी प्रभावित क्षेत्रका बालबालिका र वृद्धवृद्धाको अवस्था अत्यन्तै दयनिय

bara parsa huri pidit

काठमाडौं, २० चैत । विनासकारी हावाहुरीबाट प्रभावित बाराको फेटा गाउँपालिकाको पुरैनिया र भरवलियाका स्थानीयले तत्काल उचित बासस्थानको व्यवस्था गर्न प्रदेश र केन्द्र सरकारसंग माग गरेका छन्। आईतबार सांझ आएको हुरीका कारण क्षणभर मै अस्तव्यस्त बनेको पुरनिया र भरवलियाका स्थानीयले मंगलबारसम्म पनि अस्थायी बासस्थान पाएका छैनन् ।

सुरक्षाकर्मीहरु अस्थायी वासस्थान बनाउने काममा जुटे पनि बस्ती नै उजाड भएकाले तत्काल सबैले ओत लाग्न सक्ने गरि अस्थायी टहरा बन्न सक्ने अवस्था देखिएको छैन ।

घर, खेतमा लगाएको अन्न बाली र घरभित्र राखेको खाद्यान्न र लत्ताकपडा पनि नरहेपछि उनीहरुले तत्काल टाउको लुटाउने छाप्रो र खाद्यान्नको व्यवस्था गर्न माग गरेका हुन् ।

बालबालिका र वृद्धवृद्धाहरुको अवस्था अत्यन्तै दयनिय
बालबालिका र वृद्धवृद्धाहरुको अवस्था अत्यन्तै दयनिय बनेको छ । धुलाम्य चौरमा चर्को घाममुनि बस्न बाध्य बालबालिका र वृद्धवृद्धामा स्वास्थ्य समस्याको उच्च जोखिम देखिन्छ । घटना लगत्तै विभिन्न संघ संस्था र सरकारी निकायहरु राहत सामाग्री लिएर सो स्थानमा पुगेको भएपछि बासस्थान तथा अन्य आवश्यक लत्ताकपडाको समस्या सम्बोधन हुन सकेको छैन ।

खुल्ला आकाशमुनि बस्दा दिनभरको घाम र रातको सित तथा लामखुट्टेको टोकाईबाट झाडापखाला लगायतको प्रकोप देखा पर्न सक्ने जोखिम बढेको छ । राहत सामाग्री लिएर पुरनिया पुगेका चिकित्सक डाक्टर गोविन्द केसीले प्रभावितका लागि सरकारले तत्काल अस्थायी वसोबासको व्यवस्था मिलाई मनोपरामर्श सेवा दिनुपर्ने बताए ।

गाउँमा रहेका पीउने पानीका चापाकल पनि हुरीले पुरै उप्काएकाले पीउने पानी तथा आवश्यक सरसफाईको लागि आवश्यक पर्ने पानीको अभाव छ । राहतसंगै आउने पानीको बोटल वाहेकको पानीको प्रबन्ध हुन नसक्दा आवश्यक सरसफाईमा ध्यान पुर्याउन सकिएको छैन । स्कुलको छाना पनि भत्काएकाले स्कुल जाने बालबालिकाको पढाई पनि प्रभावित बनेको छ ।

भित्र्याउने समयको पर्खाईमा रहेको गहुँबाली हावाहुरीले पुरै चउरमा परिणत गराएको छ । घरभित्र भकारीमा राखेको धान लगाएतका खाद्यान्नहरु हुरीले छरपस्ट बनाएको छ । धनसम्पत्ति र लुगाफाटा राखेको दराज, सुत्ने ओछ्यान पनि हुरीले उडाएपछि खाद्यान्न तथा लत्ताकपडाको अभाव टट्कारो देखिएको छ ।

एकै परिवारका ४ सदस्य सम्मको हावाहुरीका कारण मृत्यु भएको छ । परिवारका सदस्य, आफन्त, छिमेकी गुमाएका पुरनिया र भलवलिया गाउँवासीका आँखा ओभानो हुन सकेका छैनन् । उनीहरु न त कसैसंग बोल्न चाहन्छन, न त आईतबार सांझको घटना सम्झन नै चाहन्छ ।

क्षणभरमानै विध्वंश मच्चाएको हावाहुरीले उनीहरुका परिवारको सदस्य, आफन्त र छिमेकीको ज्यान लिएको थियो । अहिले उनीहरु छानो उडाएको र गाहे भत्काएको घरको छेउमा टोलाएर बस्न बाध्य छन् ।

महिला, बालबालिका र वृद्धवृद्धाहरुलाई पुगेसम्म त्रिपालमुनि राखिएको छ भने स्कुल जाने उमेरका साना साना बालबालिकाहरु हुरीको वितंण्डाले भत्काएका घरका अवषेश हटाउने तथा अस्थायी टहरा बनाउने काममा सघाईरहेका छन्।

घटना लगत्तै प्रदेश सरकार, विभिन्न राजनीतिक दलका शिर्ष नेता घटनास्थल पुगि राहतको घोषणा गरेका छन् । तर केन्द्र सरकार तथा प्रदेश सरकारले अस्थायी बसोबास संगै स्थायी बसोबासका लागि कुनै योजनाको घोषणा गरेका छ्रैनन् ।

आईतबास सांझ आएको विनासकारी हावाहुरीका कारण २८ जनाको ज्यान गएको छ । ६ सय भन्दा बढी घाईते भएका छन् । हावाहुरीबाट ठूलो आर्थिक क्षति भएको छ ।