एजेन्सी, ३१ असार । इजरायलले प्लास्टाइनको गाजा शहरमा रहेका हमास लडाकुविरुद्ध चार वर्षयताकै ठूलो आक्रमण सुरु गरेको छ ।
इजरायलको रक्षाबल आईडीएफका अनुसार गाजाका हमास प्रभावित क्षेत्र, उनीहरुले प्रयोग गर्ने स्थान, बेट लाहियाको बटालियनको मुख्यालय, उत्तरी गाजाको एक ठूलो भवनमा रहेको तालिम केन्द्र, हतियार भण्डारण र रकेट लन्चरलाई निशाना बनाइएको छ । लडाकु विमानहरुले गाजापट्टिमा हमासका चार सैन्य इलाकाका दर्जनौं स्थानमा आक्रमण गरेका छन् ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इजरायलमा गरिएका ९० भन्दा धेरै रकेट हमलाको जवाफस्वरुप हमासका दर्जनौं स्थानमा आक्रमण गरिएको बताए । नेतन्याहुले हमास लडाकु समूहविरुद्ध गाजामा सन् २०१४ को युद्धयताकै सबैभन्दा ठूलो हमला गरिएको बताए ।
प्यालेस्टिनी स्वास्थ्य अधिकारीहरुले गाजा शहरमा भएको हवाइ हमलामा परी दुई जनाको मृत्यु भएको तथा १२ जना घाइते भएको बताएका छन् । गाजा क्षेत्रको स्वामित्वलाई लिएर इजरायल र प्यालेस्टाइनबीच लामो समयदेखि विवाद छ ।