काठमाडौँ ।
विगत १० वर्षदेखि बन्द रहेको बायोग्यास प्लान्ट पुनः सञ्चालनका लागि परिक्षण शुरु गरिएको छ ।काठमाडौं महानगरपालिकाले बिहीवार एक कार्यक्रमको आयोजना गरी बायोग्यास प्लान्ट परीक्षण शुभारम्भ गरेको हो । उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री विराजभक्त श्रेष्ठले प्लान्ट परीक्षणको शुभारम्भ गर्नुभयो । यसअघि कार्यक्रममा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्याललाई बायोग्यास प्लान्ट सञ्चालनको लागि हस्तान्तरण गर्नुभएको थियो । कार्यक्रममा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक ढकालले ऊर्जा मन्त्रालयको निर्देशन र काठमाडौं महानगरपालिकासँगको सहकार्यमा प्लान्टको प्राविधिक तथा व्यवस्थापकीय पक्षको अध्ययन गरी पुनः सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो । उहाँका अनुसार करिव १० वर्षअघि निर्माण गरिएको उक्त प्लान्ट सञ्चालनमा आएको केही समयपछि बन्द भएको थियो । पुरानो प्लान्टको डिजाइन विद्युत उत्पादन गर्ने उद्देश्यले गरिएको भएपनि हालको प्राविधिक अध्ययनले उत्पादित बायोग्यासलाई सिधै उपभोक्तासम्म पु¥याउनु उपयुक्त देखाएको उहाँको भनाई छ । पाइपलाइनमार्फत आसपासका घरपरिवारलाई ग्यास वितरण गर्ने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार प्लान्टको दीर्घकालीन सञ्चालन सुनिश्चित गर्न सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडेल अपनाउने विषयमा पनि छलफल भइरहेको छ । निजी क्षेत्रलाई सञ्चालन व्यवस्थापनमा सहभागी गराएर महानगरपालिकाको स्वामित्वमा प्लान्ट सञ्चालन गर्ने अवधारणालाई अघि बढाइएको उहाँले बताउनु भयो ।
विश्व बैंककी अपरेसन म्यानेजर रिता ढकालले पुनःस्थापित प्लान्टबाट दैनिक तीन टन छुट्याइएको जैविक फोहोर प्रशोधन गरी करिब १५० घनमिटर बायोग्यास उत्पादन गर्ने लक्ष्य रहेको बताउनु भयो । उत्पादित ग्यास आसपासका करिब १०० घरपरिवारलाई वितरण गरिने उहाँले जानकारी दिनुभयो । फोहोर व्यवस्थापन क्षेत्रबाट विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनको करिब ३ देखि ५ प्रतिशत हिस्सा आउने उल्लेख गर्दै उहाँले जैविक फोहोरको उचित व्यवस्थापनले जलवायु परिवर्तन न्यूनीकरणमा योगदान पु¥याउने बताउनुभयो । विशेषगरी ल्यान्डफिल तथा डम्पिङ साइटमा जैविक फोहोर कुहिँदा निस्कने मिथेन र खुला रूपमा फोहोर जलाउँदा उत्सर्जन हुने ब्ल्याक कार्बन न्युनिकरणमा यस्ता परियोजना उपयोगी हुने उहाँको भनाई छ । उहाँले प्लान्टको दिगो सञ्चालनका लागि घरघरबाटै जैविक र अजैविक फोहोर छुट्याउने व्यवस्था प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँका अनुसार युरोपेली संघको सहयोगमा सन् २०१७ मा स्थापना गरिएको प्लान्ट विभिन्न प्राविधिक तथा व्यवस्थापकीय समस्याका कारण लामो समयसम्म सञ्चालन हुन सकेको थिएन ।
विश्व बैंकको सहयोगमा सञ्चालित मिनी ग्रिड इनर्जी एक्सेस परियोजनाअन्तर्गत वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र काठमाडौं महानगरपालिकाले प्लान्टको पुनःस्थापना गरिएको हो । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका अनुसार विश्व बैंकको सहयोगमा यसअघि विभिन्न सात स्थानीय तहसँगको सहकार्यमा सार्वजनिक–निजी साझेदारी अवधारणाअन्तर्गत ठूला बायोग्यास प्लान्ट निर्माण भएका छन् । त्यस्तै, निजी क्षेत्रको सहभागितामा २० वटाभन्दा बढी व्यावसायिक प्लान्ट स्थापना भएका छन् । केन्द्रले हरित जलवायु कोषसमक्ष ४८ मिलियन अमेरिकी डलरको फोहोर व्यवस्थापनसम्बन्धी परियोजना प्रश्ताव गरेको र त्यसमा प्राप्त सुझावअनुसार काम भइरहेको जनाएको छ । नेपाल र स्विडेनबीच पेरिस सम्झौताको धारा ६.२ अन्तर्गत द्विपक्षीय सम्झौता भएपछि निजी क्षेत्रको सहभागितामा ठूला बायोग्यास आयोजनाहरू अघि बढाउने तयारी गरिएको छ ।




