काठमाडौं ।
नागरिक लगानी कोषको पुँजी वृद्धि गरी १० अर्ब रुपैयाँ पु¥याउने प्रश्ताव गरिएको छ । नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३ माथि प्रतिनिधि सभा अर्थ समितिको बैठकमा भएको सैद्धान्तिक छलफलमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कोषको पुँजी, लगानीको क्षेत्र र कार्यक्षेत्र विस्तार गर्ने प्रस्ताव गरिएको जानकारी दिनुभयो । अर्थमन्त्री वाग्लेले बदलिँदो आर्थिक परिवेशअनुसार नागरिक लगानी कोषलाई आधुनिक वित्तीय उपकरण तथा नयाँ लगानीका क्षेत्रमा प्रवेश गराउन आवश्यक रहेको बताउनु भयो । उहाँले अब कोषले निजी इक्विटी (प्राइभेट इक्विटी), भेन्चर क्यापिटललगायतका क्षेत्रमा समेत लगानी गनसक्ने गरी कानूनी व्यवस्था अद्यावधिक गर्न खोजिएको बताउनु भयो ।उहाँकाअनुसार पूर्वाधार, उत्पादनमूलक क्षेत्र र आवास क्षेत्रमा पनि कोषको लगानी विस्तार गर्ने उद्देश्य राखिएको छ । मध्यम वर्गको विस्तारलाई मुख्य प्राथमिकतामा राखेर शिक्षा, स्वास्थ्य, रोजगारी, आधुनिक सेवा तथा आवास क्षेत्रमा ध्यान दिनुपर्ने उहाँले बताउनु भयो । विधेयकमार्फत कोषको सञ्चालक समिति र कार्यकारी व्यवस्थापनको जिम्मेवारी स्पष्ट पार्ने, संस्थागत सुशासन, पारदर्शिता तथा जोखिम व्यवस्थापनसम्बन्धी व्यवस्थालाई थप व्यवस्थित र अद्यावधिक गर्ने प्रस्ताव पनि गरिएको अर्थमन्त्री वाग्लेले जानकारी दिनुभयो ।
विधेयकका प्रमुख विशेषताबारे जानकारी दिँदै उहाँले दफा २ अन्तर्गत कोषको परिभाषा र कार्यक्षेत्र विस्तार गरिएको बताउनु भयो । यसक्रममा डिबेन्चर, ऋणपत्र तथा धितोपत्रलगायतका परिभाषा परिमार्जन गरिएको छ । त्यस्तै मुद्दती निक्षेप, सरकारी सुरक्षणपत्र तथा अन्य वित्तीय उपकरणलाई समेत लगानीको परिभाषाभित्र समेट्ने प्रश्ताव गरिएको छ ।त्यसैगरी कोषको पुँजी संरचनामा पनि परिवर्तन प्रस्ताव गरिएको छ । हाल ८ अर्ब रुपैयाँ रहेको कोषको पुँजी १० अर्ब रुपैयाँ पु¥याउने, शेयर कित्ता ८ करोडबाट बढाएर १० करोड पु¥याउने तथा चुक्ता पुँजी ३ अर्बबाट बढाएर ६ अर्ब ८० करोड रुपैयाँ पु¥याउने प्रस्ताव विधेयकमा समेटिएको अर्थमन्त्री वाग्लेले बताउनु भयो ।उहाँले बदलिँदो आर्थिक आवश्यकता र लगानीका नयाँ सम्भावनालाई सम्बोधन गर्न नागरिक लगानी कोषसम्बन्धी कानूनी व्यवस्था समयानुकूल बनाउन संशोधन विधेयक ल्याइएको स्पष्ट पार्नुभयो ।





