काठमाडौँ ।
प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसकी सांसद सीता थपलियाले मुलुकमा बढ्दो निराशा, अभिव्यक्ति स्वतन्त्रताको संकुचन र कमजोर पूर्वाधार व्यवस्थापनलाई लिएर सरकारको आलोचना गर्नुभएको छ । प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै उहाँले काठमाडौंको त्रिपुरेश्वरमा भएको आत्मदाहको घटनादेखि धादिङको सडक सम्पर्क विच्छेदसम्मका विषयमा सरकार किन मौन छ भन्दै प्रश्न उठाउनुभएको हो । उहाँले पछिल्लो समय त्रिपुरेश्वरमा ट्राफिक प्रहरीसँगको विवादपछि चालकले गरेको आत्मदाहको घटनाले राज्य संयन्त्रको असफलतालाई उजागर गरेको जिकिर गर्नुभयो । सय दिनको कार्यकालमा फरक काम गर्ने दाबी गर्ने सरकारको आधा वर्ष बितिसक्दा पनि नागरिकको जीवनस्तरमा सुधार नआउनु चिन्ताको विषय भएको उहाँको भनाइ छ । अभिव्यक्ति स्वतन्त्रताको विषयमा थपलियाले राजनीतिक विश्लेषक भरत दाहालको पक्राउप्रति आपत्ति जनाउनु भयो । हतकडीले हात बाँध्न सकिए पनि विचार बाँध्न नसकिने भन्दै उहाँले सरकारले आलोचना सुन्ने र सहन गर्ने तागत राख्नुपर्ने तर्क गर्नुभयो ।




