काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले राष्ट्रिय सभाले पारित गरेको ‘पर्यटन विधेयक, २०८१’ लाई पूरै पुनर्लेखन गर्नुपर्ने बताउनुभएको छ ।
अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा क्यासिनो क्षेत्रका व्यवसायीसँग भएको छलफलमा मन्त्री पौडेलले विधेयकमा सुधार गर्नुपर्ने धेरै विषय रहेकाले विधेयक पुनर्लेखनकै चरणबाट अघि बढाउनुपर्ने बताउनुभएको हो । उहाँले नियमावलीमा राख्नुपर्ने विषय समेत ऐनमा राखिएकोले सुधार गर्न आवश्यक रहेको बताउनु भयो । विधेयकलाई चुस्त र दीर्घकालीन बनाउने गरी ऐनमा समेट्नुपर्ने र नियमावलीमा राख्नुपर्ने विषय छुट्याउनुपर्ने उहाँको भनाई छ । ऐनमा अत्यधिक तथ्यांक तथा निश्चित मापदण्ड राख्दा समयअनुकूल संशोधन गर्न कठिन हुने भएकाले दूरी, क्षेत्रफललगायत तथ्यांकमा आधारित विषय विधेयकबाट हटाएर नियमावलीमा राख्नु उपयुक्त हुने उहाँले बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘कतिपय विषय नियमावलीमा समावेश गर्दा उपयुक्त हुने देखिन्छ । त्यसैले ऐनलाई चाहिँ अलि चुस्त–दुरुस्त र दीर्घकालीन बनाउनुपर्छ । नियम–कानून जति लचिलो र समयअनुकूल परिमार्जन गर्न सकिने भयो, त्यति नै सहज हुन्छ । ऐनमा कुनै व्यवस्था समावेश गरिसकेपछि त्यसलाई संशोधन गर्न कठिन हुन्छ । त्यसैले निश्चित तथ्यांकमा आधारित विषयहरू जस्तै यति वर्गफिट, यति किलोमिटर टाढा वा यति नजिक हुनुपर्ने जस्ता मापदण्ड—ऐनमा समावेश गर्नुभन्दा नियमावलीमा राख्नु उपयुक्त हुन्छ । पर्यटन विधेयकमाथि हामीले अझै धेरै काम गर्न बाँकी छ । यस विषयमा समितिका सभापतिज्यूसँग मैले निकै होमवर्क गरिसकेको छु र अन्य सम्बन्धित साथीहरूसँग पनि निरन्तर छलफल तथा गृहकार्य भइरहेको छ । यो विधेयक राष्ट्रिय सभाबाट पारित भएर आएको भएपनि यसमा समयानुकूल थप्नुपर्ने र सच्याउनुपर्ने धेरै विषय छन् । त्यसैले यो विधेयक लगभग पुनर्लेखनकै चरणबाट गुज्रिन सक्ने अवस्था छ ।’
उहाँले पर्यटन क्षेत्रको सुधार ठूला र हस्तक्षेपकारी नीतिबाट मात्र सम्भव नहुने बताउनु भयो । साना विषयमा गरिने सुक्ष्म र संवेदनशील सुधारले पनि दिगोपन सुनिश्चित गर्ने उहाँको भनाई छ । मन्त्री पौडेलले पर्यटन क्षेत्रसँग सम्बन्धित व्यवसायीले उठाएका व्यावसायिक विषयलाई समेत विधेयक निर्माणका क्रममा समावेश गरिने बताउनु भयो




