एआईसँग नडराउन र प्रविधिमैत्री बन्न लेखापरीक्षकहरूलाई एक्यान अध्यक्ष नेपालको आग्रह | ईमाउण्टेन समाचार

Our Network

असोज ९ २०८३, शनिबार

एआईसँग नडराउन र प्रविधिमैत्री बन्न लेखापरीक्षकहरूलाई एक्यान अध्यक्ष नेपालको आग्रह

काठमाडौँ ।   नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघ (एक्यान) का अध्यक्ष अनुप नेपालले मुलुकको अर्थतन्त्रमा पारदर्शिता र वित्तीय सुशासन कायम गर्न लेखापरीक्षण क्षेत्रको भुमिका मेरुदण्ड सरह रहेको बताउनुभएको छ । नेपाल अडिटर्स एशोसिएशन (अडान) को वार्षिक साधारण सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले राज्यको राजश्व संकलनलाई पारदर्शी बनाउन र व्यावसायिक क्षेत्रमा विश्वास अभिवृद्धि गर्न अडानमा आबद्ध लेखापरीक्षकहरूको योगदान उच्च प्रशंसनीय रहेको उल्लेख गर्नुभयो । उहाँले एक्यान र अडान दुवै संस्थाको साझा लक्ष्य नेपाली लेखा व्यवसायलाई थप मर्यादित, पारदर्शी र उत्तरदायी बनाउनु रहेको बताउँदै आगामी दिनमा पेशागत हकहित र नीतिगत सुधारका लागि सहकार्य अझ मजबुत हुने विश्वास व्यक्त गर्नुभयो । आजको प्रविधिमैत्री युगमा अन्तर्राष्ट्रिय लेखापरीक्षण मापदण्ड र कर प्रणालीका नयाँ चुनौतीहरूको सामना गर्न दक्षता अभिवृद्धि अपरिहार्य रहेको उहाँको भनाइ छ ।

पछिल्लो समय लेखापरीक्षकहरूमा देखिएको ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई) सम्बन्धी संशय वा त्रासका बारेमा धारणा राख्दै उहाँले प्रविधिलाई केवल एउटा साधनका रूपमा लिन आग्रह गर्नुभयो उहाँले प्रविधिलाई सरल रूपमा ग्रहण गर्नसके यसले कार्यसम्पादनमा सहजता ल्याउने बताउनु भयो । पेशागत मर्यादाको रक्षाका लागि उच्च व्यावसायिक नैतिकता, निष्पक्षता र इमानदारिता नै मूल मर्म हुनुपर्नेमा उहाँले जोड दिनुभयो । यस्ता गुणहरूले नै समाज र राज्यको लेखापरीक्षण पेशाप्रतिको विश्वासलाई थप मजबुत बनाउने उहाँको तर्क छ ।

Leave a Reply