काठमाडौँ ।
राष्ट्रिय सभामा नेपाली कम्युनिष्ट पार्टीकी सांसद राजेन्द्रलक्ष्मी गैरेले मुलुकमा मानव बेचबिखनको स्वरूप बदलिएको र प्रविधिको दुरुपयोग गरी तस्करी बढ्दै गएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ । सोमवार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद गैरेले नेपाल मानव तस्करहरूको ‘ट्रान्जिट पोइन्ट’ बन्दै गएको भन्दै चिन्ता व्यक्त गर्नुभएको हो । सांसद गैरेले बेरोजगारी र वैदेशिक रोजगारीको लोभमा परेर नेपाली नागरिकहरू आन्तरिक तथा वाह्य तस्करीको जालमा परिरहेको उल्लेख गर्नुभयो । उहाँले यस्ता घटनाको गम्भीर अनुसन्धान गरी तस्करहरूको खोजी गर्न सरकारसँग माग गर्नुभयो । सांसद गैरेले मुलुकमा बढ्दो सामाजिक अस्थिरता र सरकारको फितलो कार्यशैलीको पनि आलोचना गर्नुभयो । पठाओ चालकको आत्मदाह र सुनसरीमा सामाजिक सद्भाव बिथोलिँदा भएका मानवीय क्षतिका घटनाहरूले सरकारको संवेदनशीलतामाथि प्रश्न उठाएको उहाँको तर्क छ ।
यस्तै काठमाडौँका सुकुम्बासी बस्तीमा डोजर चलाउँदा बालबालिकाहरूको बासस्थान र शिक्षामा गम्भीर असर परेको बताउँदै उहाँले सरकारले नागरिकका आधारभूत समस्याप्रति बेवास्ता गरेको आरोप लगाउनु भयो । आर्थिक नीतिका सम्बन्धमा बोल्दै सांसद गैरेले सरकारले ल्याएको विधेयक र करका दरहरू गरिब तथा मध्यम वर्गीय नागरिकको हितमा नरहेको टिप्पणी गर्नुभयो । सरकारले आफ्ना निर्णयहरू पटक–पटक फिर्ता लिने गरेको भन्दै सरकारको नैतिक हैसियतमाथि प्रश्न उठाउनु भयो । संविधान संशोधनको विषयमा धारणा राख्दै उहाँले कुनै निश्चित समूह वा ‘जम्बो टोली’ मार्फत नभई ७ सय ५३ वटै स्थानीय तहको अनुभव र सर्वदलीय सहमतिका आधारमा मात्र संविधान संशोधन गरिनुपर्नेमा जोड दिनुभयो । स्थानीय तहमा देखिएका नीतिगत र कानूनी जटिलताहरूलाई सम्बोधन गर्ने गरी अघि बढ्न उहाँले सरकारलाई सुझाव दिनुभयो ।सांसद गैरेले समाजमा बढ्दो अपराध र सचेतनाको अभावलाई कम गर्न महिला, विद्यार्थी र युवाहरू लक्षित विशेष जनचेतनाका कार्यक्रमहरू सञ्चालन गर्न सरकार र सरोकारवाला निकायसँग आग्रह गर्नुभयो ।




