काठमाडौं, ९ फागुन । नेपाल प्रहरीले विद्युतीय कारोबार ऐन संशोधन गर्न सरकारसँग माग गरेको छ । प्रहरी नायव महानिरीक्षक पुस्कर कार्कीले सूचना प्रविधिको दुरुपयोगबाट हुने सुरक्षा चुनौति सामना गर्न पनि विद्युतीय कारोबार ऐन संशोधन गर्नुपर्ने आवश्यक्ता औंल्याए ।
बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले समय अनुकूल ऐनको अभावमा सूचना प्रविधिको दुरुपयोग गर्नेहरुमाथि कार्वाही गर्न प्रभावकारी कदम चाल्न सक्ने अवस्था नरहेको स्पष्ट पारे ।
सरकारले २०६४ सालमा बनाएको विद्युतीय कारोबार ऐन हालसम्म एक पटक मात्रै संशोधन भएको छ । केन्द्रिय अनुसन्धान व्यूरोका प्रमुख समेत रहेका कार्कीले सूचना प्रविधिको बढ्दो प्रयोगसँगै सुरक्षा चुनौति थपिदै गएको बताए । प्रहरी नायव महानिरीक्षक कार्कीले सूचना प्रविधिको दुरुपयोगलाई रोक्न नेपाल प्रहरी प्रविधियुक्त हुनुपर्नेमा जोड दिए ।