सुर्खेत,७ फागुन । करिब १५ वर्ष ९ महिनाको अवधि महेन्द्रबहादुर शाहीको जीवनमा निकै चाखलाग्दो छ । यही ‘समय’ ले हो, बाहिरी दुनियाँमा उनलाई लडाकु कमान्डरको परिचय दिलाएको । २०५३ भदौ ७ गते तत्कालीन माओवादीको सेनामा प्रवेश गरेका उनी २०६९ मंसिर १० गते त्यहाँबाट बाहिरिएका थिए ।
तर, उनी के माओवादी युद्धकालमा कमान्डरमात्र थिए त उक्त कालखण्डका झन्डै पाँच हजार आठ सय दिन केलाउने हो भने थाह हुन्छ– शाही सैन्य कमान्डरभन्दा बढी कमिसार थिए । लामो समय उनीसँग निकट रहेका एक पूर्वलडाकु भन्छन्, ‘उहाँ पछिल्लो समय डिभिजन कमान्डरको रुपमा चिनिए पनि ‘जनयुद्ध’ का बेला समग्रतमा कमिसारको भूमिकामा बढी रहनुभयो ।’ ती पूर्वलडाकुको भनाइमा कमिसारको यही अनुभवले उनलाई छोटो सयममै राजनीतिक मञ्चमा सफल बनाएको हो । हुन पनि उनी डिभिजन कमान्डरबाट बिदा भएको एक वर्षमा सभासद, पाँच वर्षमा ऊर्जामन्त्री र ऊर्जामन्त्री बनेको सात महिनामै ६ नम्बर प्रदेशको पहिलो मुख्यमन्त्री बने ।
सशस्त्र द्वन्द्वकालमा माओवादी सेनाभित्र दुई संरचना थिए– सैन्य कमान्डर र कमिसार । कमान्डर, जो उनको युनिट मातहत रहेका लडाकुको कमान्ड गर्थे र फिल्डमै लड्न खटिन्थे । कमिसारको भूमिका भने लडाकु युनिटलाई राजनीतिक नेतृत्व प्रदान गर्ने थियो । आक्रमण योजना बनाउनेदेखि कार्यान्वयनका लागि निर्देशन दिने, व्यवस्थापकीय जिम्मेवारी बहन गर्ने र मातहतका लडाकुलाई राजनीतिक प्रशिक्षण दिने काम कमिसारको हुन्थ्यो ।
शाहीको सैन्यजीवन २०५३ भदौ ७ गते हिमचुली छापामार दलको कमिसारबाट सुरु भयो । यो यात्राले २०६२ मंसिर १० सम्म निरन्तरता पायो । हाल नेपाली सेनामा कार्यरत ती पूर्वलडाकुको भनाइमा शाहीको योजनामा झन्डै डेढ सय आक्रमण-प्रत्याक्रमणका घटना भए । छिटफुटबाहेक उनका अधिकांश योजना सफल भए ।
यही सफलताले कालिकोटमा वरिष्ठ माओवादी नेता हुँदाहुँदै उनी एकाएक चर्चामा आए । शान्ति प्रक्रियाको संघारमा पुग्दा पुष्पकमल दाहाल र जनार्दन शर्मा जस्ता नेताको मन जित्न सफल भए । २०६२ मंसिर १० गते ब्रिगेड कमिसारबाट सातौं डिभिजन कमान्डरको जिम्मेवारी पाए, जुन डिभिजनको कमिसार थिए– जाजरकोटका भक्तबहादुर शाह । २०६४ मा संविधानसभा सदस्य भएका शाह अहिले नयाँशक्ति पार्टीमा छन् । उनको बुझाइमा शाही फौजी कमान्डरभन्दा बढी राजनीतिक कमिसार हुन् । ‘शान्ति प्रक्रिया सुरु हुनुभन्दा केही महिनाअघि ‘डिभजन फर्मेसन’ भएपछि मात्र उहाँ शाहीले कमिसारबाट कमान्डरको जिम्मेवारी सम्हाल्नुभएको हो,’ उनी भन्छन्, ‘तुलनात्मक रुपमा शाहीमा युद्ध कौशलभन्दा राजनीतिक क्षमता बढी छ।’
सशस्त्र द्वन्द्वकालमा २०५३ भदौ ७ देखि २०६२ मंसिर १० (नौ वर्ष तीन महिना) सम्म लडाकु कमिसारको भूमिकामा रहेका शाही डिभिजन कमान्डरको रुपमा पछिल्लो एक वर्षमात्र भूमिगत लडाइँ लडे । २०६३ मंसिर ६ गते शान्ति प्रक्रिया सुरु भएपछि २०६९ मंसिर १० सम्म उनी लडाकु शिविर ९क्याम्प० मा डिभिजन कमान्डरको हैसियतमा रहे । त्यसैले उनलाई माओवादी पार्टीभित्र ‘युद्धको कमिसार, क्याम्पको कमान्डर’ को संज्ञा दिइन्छ ।
युद्धको अन्तिम वर्ष शाहीले कमान्ड गरेको सातौं डिभिजन कमिसार रहेका शाह रणनीतिक योजना निर्माण तथा कार्यान्वयन, समन्वय र प्रशिक्षणमा उनको दख्खलको प्रशंशा गर्छन् । ‘उहाँ कमिसारबाटै आउनुभएकाले पछिल्लो समय सँगसँगै बसेर योजना बनाउने, कार्यान्वयन गर्न निकै सहज भयो,’ उनी भन्छन्, ‘यसले लडाइमा पनि सफलता दिलायो ।’
२०६२ फागुन र चैतमा पाल्पाको तीनवीरे, कपिलवस्तुको तौलिहवा, अर्घाखाँचीको धरमपानी र बुटवलको सैन्य व्यारेकमा माओवादी सेनाले आक्रमण गर्यो । यी सबैमा सरकारी पक्षले ठूलो क्षति बेहार्यो । हाल नेपाली सेनामा रहेका उनका तत्कालीन अंगरक्षक यी लडाइमा हासिल सफलताले नै शाहीलाई शान्ति प्रक्रियापछि पनि डिभिजन कमान्डरको जिम्मेवारी दिलाएको बताउँछन् ।
‘जनमुक्ति सेनामा उहाँभन्दा अनुभवी र सिनियर थुप्रै थिए तर रणनीतिक कमिसार र फौजी कमान्डर दुवै क्षेत्रमा पाएको उच्च सफलताले शान्ति प्रक्रियापछि पनि कमान्डरको जिम्मेवारी दिलायो,’ उनी भन्छन्, ‘लामो समय कमिसार भएर डिभिजन कमानडर पाउने थोरैमध्ये उहाँ एक हो ।’त्यसो त उनले कमिसारको रुपमा नेतृत्व गरेका लडाइ पनि उत्तिकै सफल मानिन्छन् । २०६१ सालमा शर्माको कमान्डमा भएको पिली आक्रमणमा शाही लिस्नेगाम थर्ड बटालियन कमिसार थिए । २०६० सालमा तत्कालीन ब्रिगेड कमान्डर हितमान पाण्डेको कमान्डमा भएको बेनी आक्रमणमा पनि उनी बटालियन कमिसारको भूमिकामा थिए ।
यसका अतिरिक्त २०५५ पुसमा बाजुराको पाण्डुसैन प्रहरीचौकी आक्रमण, २०५६ मा कालिकोटको मेहलमुडी पोतमारा प्रहरीचौकी आक्रमण, २०६० मा बर्दियाको रम्बापुर आक्रमणलगायत घटनामा उनी कमिसार थिए । पाण्डुसैन आक्रमण क्रममा हो, उनको दायाँ हातको काइँली औंला छिनिएको थियो ।हरेक युद्धमा कमान्डरलाई राजनीतिक रुपमा नियन्त्रण, निर्देशन र परिचालन गर्ने भूमिका कमिसारको हुन्छ । शाहको भनाइमा माओवादी सशस्त्र द्वन्द्वक्रममा भने कमिसारहरु त्योभन्दा अघि बढेर कमान्डरसँगै लडाइको मैदानमै पुग्थे ।
यसले गर्दा उनीहरुमा योजना बनाउनेमात्र नभई प्रभावकारी कार्यान्वयन कसरी गर्न सकिन्छ भन्नेबारे पर्याप्त ज्ञान हुन्थ्यो । योजना कार्यान्वयनक्रममा कहाँ के कस्तो कमजोरी भयो, त्यसलाई कसरी सच्याउने भन्ने पाठ लडाइको मैदानमै सिक्ने मौका मिल्थ्यो । सशस्त्र द्वन्द्वक्रममा कुशल कमिसार र कमान्डर कहलिएका शाही ६ नम्बर प्रदेशको मुख्मन्त्री बनेपछि त्यही शैलीमा काम गर्ने मुडमा छन् । ‘हामीले योजना बनाएर छोड्ने होइन, त्यसलाई कसरी प्रभावकारी रुपमा कार्यान्वयन गर्ने भन्नेबारे सोच्न पनि उत्तिकै आवश्यक छ,’ उनी भन्छन्, ‘त्यसैले हामी ‘एक्सन ओरियन्टेड’ योजना बनाउने र तुरुन्त कार्यान्वन गरिहाल्ने भएर अघि बढ्नेछौं ।’आजको नागरिक दैनिकमा खवर छ ।