नेपाली किशोरीका लागि ‘ब्रिटिश एम्बेसी गल्र्स फुटबल टुर्नामेन्ट’ आयोजना गर्दै बेलायत | ईमाउण्टेन समाचार

Our Network

जेठ ९ २०८३, आइतबार

नेपाली किशोरीका लागि ‘ब्रिटिश एम्बेसी गल्र्स फुटबल टुर्नामेन्ट’ आयोजना गर्दै बेलायत

काठमाडौँ ।

नेपालका लागि बेलायती राजदुत रब फेनले नेपालको शैक्षिक विकास, गुणस्तर सुधार र बेलायतमा अध्ययनरत नेपाली विद्यार्थीहरूको वृहत्तर हितका लागि आफ्नो सरकारले उच्च प्राथमिकता दिएको बताउनुभएको छ ।
काठमाडौंमा एक कार्यक्रममा बोल्दै राजदुत फेनले नेपालको शैक्षिक क्षेत्रमा बेलायती सहयोगलाई मुख्य तीन स्तम्भमा वर्गीकरण गर्नुभएको हो । राजदुत फेनले नेपालले शिक्षामा हासिल गरेको ‘सर्वसुलभ पहुँच’ को प्रशंसा गर्नुभयो । भौगोलिक जटिलताका बावजुद हरेक बालबालिकालाई विद्यालयसम्म पु¥याउन सक्नु नेपालको असाधारण उपलब्धि भएको उहाँको भनाइ छ । अबको चुनौती पहुँचबाट माथि उठेर गुणस्तरीय नतिजा निकाल्नु रहेको उल्लेख गर्दै उहाँले ‘विद्यालय शिक्षा क्षेत्र कार्यक्रम’ मार्फत आधारभुत शिक्षाको सुधारमा बेलायतले नेपाल सरकार र युनिसेफजस्ता साझेदारहरूसँग मिलेर काम गरिरहेको जानकारी दिनुभयो । नयाँ बेलायती सरकारको प्राथमिकतासँग मेल खाने गरी ‘ट्रान्सन्याशनल एजुकेशन’ (सीमापार शिक्षा) लाई उच्च सम्भावनाको क्षेत्रका रूपमा रहेको उल्लेख गर्नुभयो । उहाँकाअनुसार निजी क्षेत्रको सहकार्य र शैक्षिक साझेदारीले दुई देशबीचको व्यापारिक र कुटनीतिक सम्बन्धलाई थप बलियो बनाउनेछ ।
राजदुत फेनले बेलायत अध्ययन गर्न जाने नेपाली विद्यार्थीको ‘पास्टोरल केयर’ (हेरचाह र अभिभावकत्व) लाई विशेष महत्व दिनुभयो । कतिपय विद्यार्थी पर्याप्त अङ्ग्रेजी भाषाको ज्ञान बिना वा चर्को ऋणको बोझ लिएर बेलायत पुग्दा मानसिक र सामाजिक दबाबमा पर्ने गरेको प्रति उहाँले चिन्ता व्यक्त गर्नुभयो । नेपाली विद्यार्थीले एक्लोपन वा असुरक्षा महशुस नगरुन् भन्नका लागि आफूहरूले लण्डनस्थित नेपाली दुतावास, बेलायत–नेपाल सोसाइटी र नेपालको शिक्षा तथा परराष्ट्र मन्त्रालयसँग समन्वय गरिरहेको उहाँले बताउनु भयो । राजदुत फेनले नेपालमा महिला नेतृत्व र सशक्तीकरणको प्रसङ्ग कोट्याउँदै नेपाली किशोरीहरूका लागि ‘ब्रिटिश एम्बेसी गल्र्स फुटबल टूर्नामेन्ट’ आयोजना गर्ने सोच अघि बढाएको जानकारी दिनुभयो । खेलकुदका माध्यमबाट महिला सहभागिता र नेतृत्व विकासमा सहयोग पुग्ने उहाँको विश्वास छ ।
राजदुत फेनले भन्नुभयो, ‘यदि कुनै बेलायती विश्वविद्यालयले नेपाली विद्यार्थीको हितमा ध्यान नदिएको पाइएमा म स्वयंले त्यहाँका उपकुलपतिलाई फोन गरेर ध्यानाकर्षण गराउनेछु ।’
राजदुत फेनले नेपालको विकासका आवश्यकताहरूलाई सम्बोधन गर्न बेलायत सरकार सधैँ तत्पर रहेको र शिक्षाको पूर्ण क्षेत्रमा साझेदारीलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

Leave a Reply

ताजा समाचार